हर्क साम्पाङका समर्थकहरू भन्छन्- श्रम संस्कृति पार्टीले इतिहास रच्नेछ
काठमाडौं । हर्क साम्पाङका समर्थकहरुले नयाँ विचारको साथमा जन्मिएको ‘श्रम संस्कृति पार्टी’ले सबै नेपाली जनताको माग पूरा गर्ने दावी गरेका छन्।
आइतबार निर्वाचन आयोगबाट पार्टीले मान्यता प्राप्त गरेपछि नेपाल न्यूज बैंक सँगको कुराकानीमा समर्थकहरुले श्रम संस्कृति पार्टीले इतिहास रच्ने दाबी गरेका हुन्।
समर्थक लिजा राईले पार्टीको मुख्य एजेण्डा भनेको देशलाई संस्कृति, प्रविधि र प्रकृतिसँग जोडनु रहेको औंल्याइन्। उनले पार्टीले इतिहास रच्ने छ भन्ने कुरामा विश्वास व्यक्त गरिन्। पूराना पार्टीहरूले आफ्नो कर्तब्य पूरा गर्न नसक्दा मुलुकमा अस्थिरता आएको उनको भनाइ थियो।
‘हाम्रो पार्टी ऐतिहासिक पक्षसँग जोडिएको छ। आगामी दिनमा पार्र्टीले इतिहास रच्ने छ भन्ने कुरामा विश्वस्त छौं। पार्टीको मुख्य एजेन्डा भनेको देशलाई संस्कृति, प्रविधि र प्रकृतिसँग घुलमिल गराउनु हो,’ उनले भनिन्।
अर्की समर्थक रेनु साम्पाङले आगामी निर्वाचनमा पार्टीले भाग लिने उल्लेख गर्दै मुख्य एजेन्डा भनेको पृथ्वी बचाउनु रहेको उल्लेख गरिन्। ‘माटो र ढुंङगा विना पृथ्बी नै रहन्न त्यसैले पार्टीको नाम श्रम संस्कृती राखेका हौं। अनि चुनाव चिन्ह माटो रोजेका हौं,’ उनले अगाडि भनिन्,‘ आगामी चुनावमा हाम्रो पार्टी सहभागी हुन्छ। हर्क साम्पाङले गरेको कामलाई निरन्तरता दिंदै देश बनाउने छौं।’
अर्का समर्थक इन्द्र कुमार चाम्लिङले नेपालमा हर्क साम्पाङ जस्तै श्रम गर्ने नेता आवश्यक रहेको दावी गरे। उनले बोलेर वा भाषण गरेर मात्र देशको बिकास नहुनेसमेत बताए।
उनले भने,‘श्रम गरेर मात्र देशको बिकास हुन्छ, बोलेर वा भाषण गरेर बिकास हुँदैन भन्ने कुरा प्रमाणित गरेका छौं। देशमा श्रम गर्ने नेता चाहिएको छ। हर्क साम्पाङको भिजनमा कुनै जाति, वर्ग, समूदाय नभनि पार्टी निर्माण गरेका हौं।’







डिसी नेपाल






Facebook Comment