एसिया कप जितेको भारतले ट्रफी पाएन

डिसी नेपाल
१८ कार्तिक २०८२ १३:२१
164
Shares

काठमाडौं । गएको सेप्टेम्बरको अन्त्यमा एसिया कपको फाइनलमा पाकिस्तानलाई हराउँदै उपाधि जितेको भारतले विजेताको ट्रफी भने पाएको छैन । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) का सचिव देवजित सैकियाले यसको खुलासा गरेका हुन् ।

सैकियाले यदि एसियाली क्रिकेट परिषद् (एसीसी) ले भारतलाई एसिया कप ट्रफी हस्तान्तरण नगरेमा उनीहरूले यो मुद्दा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) समक्ष उठाउने बताएका छन्।

देवजीत सैकियाले आईसीसी महिला विश्वकप ट्रफीको सन्दर्भमा भने – फाइनलमा भारतको जित पछि टोलीलाई तुरुन्तै ट्रफी प्रदान गरिएको थियो। यद्यपि, जब भारतीय पुरुष टोलीले दुबईमा एसिया कप जित्यो उनीहरूलाई अझै पनि ट्रफी प्रदान गरिएको छैन।

उनले भने , “करिब दस दिन अघि हामीले एसीसीलाई लिखित रूपमा अनुरोध गरेका थियौं कि एसिया कप ट्रफी सकेसम्म चाँडो बीसीसीआईलाई हस्तान्तरण गरिनुपर्छ। तर अहिलेसम्म हामीले ट्रफी पाएका छैनौं।”

बीसीसीआई सचिवले भने, “यदि हामीले नोभेम्बर ३ सम्ममा ट्रफी पाएनौं भने, हामी दुबईमा हुने आईसीसी बैठकमा यो मुद्दा उठाउनेछौं। मलाई पूर्ण विश्वास छ कि आईसीसीले हामीसँग न्याय गर्नेछ र ट्रफी प्राप्त गर्न मद्दत गर्नेछ।”

यस वर्षको सेप्टेम्बरमा भारतले फाइनलमा पाकिस्तानलाई हराएर एसिया कप जितेको थियो। यद्यपि, भारतीय टोलीले एसीसी अध्यक्ष मोहसिन नकवीबाट ट्रफी लिन अस्वीकार गरेको थियो।

मोहसिन नकवी पाकिस्तानका गृहमन्त्री र पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष पनि हुन्। अप्रिलमा पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.