केन्द्रीय समिति बैठकमा महरको लिखित प्रस्ताव पेस, विधानले तोकेकै अवधिभित्र महाधिवेशन गर्न माग
काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको महाधिवेशन विधानले तोकेको निर्धारित अवधिभित्रै नियमित रूपमा सम्पन्न हुनुपर्नेमा जोड दिएका छन्।
जारी केन्द्रीय समिति बैठकमा लिखित प्रस्ताव पेस गर्दै उनले कुनै पनि बहानामा महाधिवेशन सार्दा पार्टीको लोकतान्त्रिक चरित्र र वैधानिकतामाथि नै गम्भीर प्रश्न उठ्ने चेतावनी दिएका हुन्।
उनले पार्टीमा हाल चलिरहेको नियमित र विशेष महाधिवेशनको विवादलाई नेतृत्वको असफलता र कमजोरीको उपज भएको टिप्पणी गरेका छन्। ‘चार वर्षको लामो अवधिमा पनि नियमित महाधिवेशनको वातावरण किन बनाइएन? पार्टीका शीर्ष नेताहरूले आफूलाई विधानले सुम्पिएको जिम्मेवारी पूरा गर्न असफल हुँदा नै आजको यो अवस्था सिर्जना भएको हो,’ महरको प्रस्तावमा भनिएको छ।
उनका अनुसार, नियमित महाधिवेशन पार्टीको आन्तरिक लोकतन्त्रलाई जीवन्त राख्ने, वैधानिकता जोगाउने र नेतृत्वलाई ताजा जनादेश दिने एकमात्र माध्यम हो। महाधिवेशनले मात्र पार्टीभित्रका गुट-उपगुटको अस्वस्थ प्रतिस्पर्धालाई लोकतान्त्रिक प्रक्रियामार्फत समाधान गर्ने र पार्टीमा नयाँ रगत, नयाँ विचार र नयाँ ऊर्जा भर्ने भएकाले यसलाई समयमै सम्पन्न गर्नुको विकल्प नरहेको उनको भनाइ छ।
यस्तै महरले पार्टी नेतृत्व राष्ट्रिय संकटका बेला आफ्नो जिम्मेवारीबाट चुकेको भन्दै गम्भीर आत्मालोचना गरेका छन्।
बैठकमा लिखित प्रस्ताव पेस गर्दै महरले पार्टी व्यक्तिगत स्वार्थ, आन्तरिक गुटबन्दी र खिचातानीमा अल्झिएकाले देशलाई नेतृत्व दिने ऐतिहासिक अवसर गुमाएको निष्कर्ष निकालेका हुन्।
महरले आफ्नो प्रस्तावमा पार्टीले संकटका बेला गरेका तीन प्रमुख कमजोरी किटान गरेका छन्। उनले भने, ‘पार्टीले आन्दोलनरत जेनजी युवाहरूसँग आधिकारिक वार्ताको पहल गरेन, संकट समाधानका लागि सर्वदलीय राजनीतिक संवादको नेतृत्व गर्न चुक्यो र आन्दोलन एवं त्यसका मागहरूप्रति आफ्नो स्पष्ट आधिकारिक धारणा सार्वजनिक गर्न सकेन।’ यिनै कमजोरीका कारण पार्टी जनताको नजरमा कमजोर देखिएको उनको ठहर छ।
यी कमजोरीहरूले गर्दा पार्टी र जनताबीच दूरी बढेको भन्दै महरले अबको दायित्व जनताको भरोसा पुनःस्थापित गर्नु रहेकोमा जोड दिएका छन्। ‘देश रहे मात्र पार्टी रहन्छ, देश समृद्ध भए मात्र पार्टी बलियो हुन्छ’ भन्ने सूत्रलाई आत्मसात् गर्दै अब गुटगत राजनीतिबाट माथि उठ्नुपर्ने उनको भनाइ छ। उनले यही केन्द्रीय समिति बैठकबाट राष्ट्रिय संकटबारे स्पष्ट मार्गचित्रसहितको कार्ययोजना सार्वजनिक गर्न माग गरेका छन्।
‘कुलिङ पिरियड’को प्रस्ताव
उनले पार्टीभित्रको संरचनागत सुधार र पुस्तान्तरणको मुद्दा जोडतोडले उठेको धारणासमेत राखेका छन्। महरले पार्टीमा लामो समयदेखि एउटै व्यक्तिले विभिन्न अवसर पाइरहने प्रवृत्तिको अन्त्य गर्न ‘कुलिङ पिरियड’को अवधारणालाई कडाइका साथ लागू गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। यो अवधारणालाई पार्टीभित्रको ‘अवसरको सिन्डिकेटमाथिको प्रहार’को संज्ञा दिइएको छ।
प्रस्ताव अनुसार, निश्चित अवधि र पटकसम्म लाभको पदमा बसेका नेताहरूले केही समयका लागि सक्रिय कार्यकारी भूमिकाबाट अलग रहेर पार्टीको सल्लाहकार वा ‘गाईड’ को भूमिका निर्वाह गर्नुपर्दछ। प्रस्तावमा भनिएको छ, ‘कुलिङ अफ पिरियडको अवधारणालाई कार्यान्वयन गर्नुपर्छ। तीन पटक सांसद र केन्द्रीय समितिमा रहेका, दुई पटक मन्त्री भएका, ७० वर्ष उमेर पुगेका र अवसर पाएर सार्वजनिक जीवनमा प्रश्न उठेका, गठबन्धनबारे निर्णय गर्ने, संसदीय बोर्डमा रहेर टिकट वितरण गर्ने, संयन्त्र र सरकारमा संलग्न नेताहरूले एक पटक कुलिङमा बस्नुपर्छ र गाईडको भुमिका खेल्नुपर्छ।’
यो प्रस्तावले पार्टीभित्रको अवसरको एकाधिकार तोड्ने, नयाँ विचार र ऊर्जालाई स्थान दिने, र निश्चित नेताहरूको वरिपरि मात्र शक्ति केन्द्रित हुने प्रवृत्तिलाई निरुत्साहित गर्ने लक्ष्य राखेको छ। देश युवा उभारबाट गुज्रिरहेको र परम्परागत राजनीतिप्रति वितृष्णा बढिरहेको सन्दर्भमा कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले आफूलाई समयानुकूल परिवर्तन गर्न यस्ता कठोर कदम चाल्नुपर्ने तर्क प्रस्तावमा गरिएको छ।
प्रस्तावमा पार्टीमा देखिएको अहिलेको संकट कुनै एक व्यक्तिको कारणले मात्र नभई सामूहिक असफलताको परिणाम भएको उल्लेख छ। गठबन्धन गर्ने निर्णय लिने, टिकट वितरण गर्ने र विभिन्न राजनीतिक संयन्त्रमा बस्ने सबै नेताहरूले हालको परिस्थितिको जिम्मेवारी लिनुपर्नेमा जोड दिइएको छ।
महासमितिका निर्णय केन्द्रीय समितिमा पेस माग
महरले २०८० सालमा सम्पन्न गोदावरी महासमिति बैठकबाट पारित भिजन पेपर र प्रस्तावहरूलाई केन्द्रीय समितिमा तत्काल पेस गरी पारित गर्न माग गरेका छन्। उनले पार्टीको सर्वोच्च निकायले पारित गरेका दस्तावेजहरूलाई केन्द्रीय समितिले बेवास्ता गरेको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका हुन्।
महरले महासमिति बैठकमा आफूले र पार्टी पदाधिकारीले पार्टीको राजनीतिक, आर्थिक, सामाजिक र साङ्गठनिक पुनर्संरचनाबारे विस्तृत प्रस्ताव प्रस्तुत गरेको स्मरण गराएका थिए। उनले आफ्नो प्रस्तावमा समसामयिक मुद्दादेखि जेन-जी र अल्फाजस्ता नयाँ पुस्तासँग जोडिनुपर्ने आवश्यकतासम्म समेटिएको बताए।
‘गोदावरी महासमिति बैठकका निर्णयहरू केन्द्रीय समितिमा पेस गरेर पास गर्न बाँकी रहेकाले त्यसको पुन स्मरण गराउन चाहन्छु,’ महरको प्रस्तावमा उल्लेख छ। उनले पार्टीको सर्वोच्च निकायले दिएको म्यान्डेटलाई कार्यकारी समितिले बेवास्ता गर्दा पार्टी सुधारका महत्त्वपूर्ण एजेन्डाहरू ओझेलमा परेको र त्यसको असर अहिले संगठनमा देखिएको बताए।
पार्टीलाई समयानुकूल सुधार गर्ने मार्गचित्र महासमिति बैठकले दिइसकेको अवस्थामा पनि केन्द्रीय समितिले त्यसलाई अनुमोदन गर्न ढिलाइ गर्नु नेतृत्वको कमजोरी भएको उनको संकेत छ।
लगानीको असुरक्षाले सम्पन्न वर्ग देश छाड्ने मनस्थितिमा पुगेको भन्दै चिन्ता
उनले हालैको संकटपछि मुलुकमा लगानीको सुरक्षा र भविष्यप्रति गहिरो चिन्ता छाएका कारण सम्पन्न र मध्यमवर्गीय परिवारसमेत देश छाड्ने मनस्थितिमा पुगेको चेतावनी दिएका छन्।
महरले प्रस्तावमा उल्लेख गरेअनुसार, पछिल्ला घटनाक्रमले भौतिक संरचना मात्र नभत्काई लगानीकर्ता र आम नागरिकको मनोबल समेत गिराएको छ। ‘व्यापार गर्दा सम्पत्ति जलाइन्छ भने यो देशमा कसरी लगानी गर्ने? आफ्ना सन्तानलाई कसरी राम्रो भविष्य दिने?’ भन्ने गम्भीर प्रश्नले निजी क्षेत्रलाई त्रसित र निराश बनाएको उनको भनाइ छ।
विगतमा आर्थिक अवसर खोज्दै युवाहरू विदेशिने गरेकोमा अहिले लगानीको सुरक्षा र भविष्यको चिन्ताले स्थापित व्यवसायी र सम्पन्न परिवारले समेत नेपाल छाड्ने बाटो खोज्नुले मुलुक गम्भीर संकटतर्फ धकेलिएको महरको विश्लेषण छ। उनले भने, ‘हिजो आर्थिक अवस्था कमजोर भएकाहरू अवसर खोज्दै विदेशिन्थे, तर आज लगानीको सुरक्षा र भविष्यको चिन्ताले सम्पन्न र मध्यमवर्गीय परिवार पनि नेपाल छाड्ने बाटो खोजिरहेका छन्।’
उनले देशभित्रै लगानी सुरक्षित नहुँदा बाह्य लगानीकर्ता आकर्षित हुने प्रश्नै नउठ्ने बताउँदै यो अवस्थाले मुलुकलाई आर्थिक रूपमा दशकौं पछाडि धकेल्ने जोखिम बढाएको औंल्याएका छन्। महरले सरकार र राजनीतिक दलहरूले तत्काल लगानीमैत्री वातावरण र सुरक्षाको प्रत्याभूति दिलाएर विश्वासको संकट समाधान गर्न नसके देशले बौद्धिक र पुँजी पलायनको दोहोरो मार खेप्नुपर्ने चेतावनी दिएका छन्।
कांग्रेसमा नेता छान्न आम नागरिकलाई १० प्रतिशत मताधिकार दिनुपर्ने प्रस्ताव
महरले पार्टीको नेतृत्व चयन प्रक्रियामा आमूल परिवर्तनको प्रस्ताव गरेका छन्। उनले नेता छनोटमा ९० प्रतिशत मतभार पार्टी सदस्यलाई र बाँकी १० प्रतिशत मतभार आम नागरिकलाई दिनुपर्ने नयाँ व्यवस्थाको वकालत गरेका हुन्।
उनको यो प्रस्तावले पार्टीको आन्तरिक निर्वाचनमा गैर-दलीय आम नागरिकलाई समेत सहभागी गराउने नौलो अवधारणा अघि सारेको छ। महरले आफ्नो प्रस्तावमा भनेका छन्, ‘आन्तरिक चुनावमा ९० प्रतिशत मतभार पार्टी सदस्यहरूमा रहँदा, बाँकी १० प्रतिशत मतभार आमजनतालाई दिइनुपर्छ।’
यस्तो प्रणालीले पार्टीका नेताहरूलाई पार्टीप्रति मात्र नभई आफूले सेवा गर्न चाहेको बृहत् जनसमुदायप्रति पनि उत्तरदायी र जवाफदेही बनाउने उनको तर्क छ। ‘यो प्रक्रियाबाट चुनिएर आउने नेता, चाहे प्रधानमन्त्री बन्ने होस् वा स्थानीय वडा प्रतिनिधि, उसँग बृहत् जनादेश हुनेछ र उसले जनताको विश्वास जितेर काम गर्न सक्नेछ,’ उनले भने।
उनले यो सुधार सार्वजनिक विश्वास पुनर्स्थापित गर्न र पार्टीले सुशासन एवं राष्ट्रिय प्रगतिप्रति प्रतिबद्ध सक्षम र नैतिक नेताहरू छनोट गर्न सकोस् भनी सुनिश्चित गर्न महत्त्वपूर्ण हुने बताएका छन्।
कांग्रेसको क्रियाशील सदस्य बन्न सम्पत्ति विवरण अनिवार्य गर्न प्रस्ताव
कांग्रेसभित्र आर्थिक पारदर्शिता र अनुशासन कायम गर्न हरेक क्रियाशील सदस्यले आफ्नो सम्पत्ति विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने उनको प्रस्ताव छ। पार्टीको नयाँ क्रियाशील सदस्यता लिँदा र नवीकरण गर्दा सम्पत्ति विवरण बुझाउने व्यवस्था लागू गर्न उनले माग गरेका हुन्।
महरको प्रस्तावअनुसार यो व्यवस्थाले पार्टीका नेता तथा कार्यकर्तामा आर्थिक अनुशासन कायम गर्न सघाउनेछ। उनले भनेका छन्, ‘यसो गर्न सकेमा पार्टीका नेता कार्यकर्तामा आर्थिक अनुशासन कायम हुनेछ।’ यो नियमले पार्टी सदस्यहरूको आर्थिक अवस्थालाई पारदर्शी बनाउने मात्र नभई सार्वजनिक जीवनमा प्रवेश गर्न चाहने व्यक्तिहरूको पृष्ठभूमि जाँच्न समेत मद्दत पुग्ने उनको तर्क छ।
कांग्रेसका हरेक तहमा ३३ प्रतिशत बढी युवा अनिवार्य गर्न माग
कांग्रेसभित्र युवा पुस्ताको निर्णायक सहभागिता सुनिश्चित गर्न पार्टीका हरेक तहमा ३३ प्रतिशतभन्दा बढी नयाँ युवा पुस्ताको प्रतिनिधित्व अनिवार्य गर्नुपर्ने प्रस्ताव गरिएको छ। उनले पार्टीको विधानलाई नै ‘युवामैत्री’ बनाउन यस्तो व्यवस्था गर्न माग गरेका हुन्।
पछिल्लो समय युवाहरूमाझ पार्टीप्रतिको आकर्षण घट्दै गएको र नेतृत्व पंक्तिमा पुस्तान्तरणको बहस चलिरहेका बेला महरको यो प्रस्ताव आएको हो। उनले पार्टीलाई समयसापेक्ष, गतिशील र ऊर्जावान बनाउन वडा तहदेखि केन्द्रीय समितिसम्मका सबै संरचनामा युवाहरूको अनिवार्य र अर्थपूर्ण सहभागिता आवश्यक रहेकोमा जोड दिएका छन्।
‘पार्टीका सबै तहमा कम्तीमा पनि एक तिहाइभन्दा बढी नयाँ युवा पुस्ताको प्रतिनिधित्व रहने गरी विधानलाई युवामैत्री बनाउनुपर्छ,’ महरको प्रस्तावमा भनिएको छ। उनले यस्तो व्यवस्थाले पार्टीको निर्णय प्रक्रियामा युवा दृष्टिकोण समावेश हुने र देशका बहुसंख्यक युवा मतदातालाई कांग्रेससँग जोड्न सकिने विश्वास व्यक्त गरेका छन्।
निर्वाचन सुनिश्चित गर्न कांग्रेसले राष्ट्रिय संवादको नेतृत्व लिनुपर्छ
महरले आगामी निर्वाचन अनिश्चित बन्दै गएको भन्दै यसलाई सुनिश्चित गर्न पार्टीले तत्काल नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका छन्। उनले निर्वाचनको वातावरण बनाउन राष्ट्रिय संवादको नेतृत्व लिने, जनताको मनबाट डर हटाउन देशव्यापी अभियान चलाउने र तत्काल आन्तरिक तयारी थाल्न प्रस्ताव गरेका हुन्।
देशको जटिल परिस्थितितर्फ संकेत गर्दै महरले कांग्रेस सबैभन्दा जिम्मेवार लोकतान्त्रिक दलको हैसियतले चुप लागेर बस्न नमिल्ने बताए। उनले सरकार, निर्वाचन आयोग, अन्य राजनीतिक दलहरू र आन्दोलनकारी युवाहरूबीच सार्थक संवादको थालनी गरी निर्वाचनको वातावरण बनाउन अग्रसरता लिनुपर्नेमा जोड दिए।
हालैका घटनाक्रमले जनतामा त्रास र अन्योल छाएको भन्दै उनले निर्वाचनमा सहभागी हुन प्रेरित गर्न देशव्यापी रूपमा राजनीतिक कार्यक्रम र अभियान सञ्चालन गर्नुपर्ने बताए।
निर्वाचनको आन्तरिक तयारीमा ढिलाइ गर्न नहुने भन्दै महरले फागुन ३ देखि १८ गतेसम्मको प्रचारप्रसार अवधिका लागि आवश्यक पर्ने घोषणापत्र, प्रचार सामग्री निर्माणजस्ता कार्य गर्न केन्द्रीय समितिबाटै तत्काल उपसमितिहरू गठन गर्न आवश्यक रहेको औंल्याए।







डिसी नेपाल






Facebook Comment