हिउँसँगको आत्मीय साक्षात्कार
आधार शिविरको फेदीमा गुञ्जिएको हर्षविभोरको मृदु आवाज आफैंमा यात्राको सन्तुष्टि र खुसीको गुञ्जन थियो। टाढाको हिउँसँगको आत्मीय साक्षात्कारको सौभाग्य मलाई मिलिरहेको क्षण थियो।
हिमशृङ्खलाको मौनतामा जीवनले न्यानोपन खोजिरहेको पल थियो। सेताम्य दुनियाँको सौन्दर्य र मेरो न्यानो अनुभव सङ्गाल्दै मैले मेरो अन्नपूर्ण आधार शिविरको यात्रालाई जीवनको अपूर्व संयोगका रूपमा लिँदै थिएँ।
हिउँको साम्राज्यमा चिसो स्पर्श र आत्मिक ताप वा हिमशृङ्खलाको मौनतासँगै जहाँ जीवनले न्यानोपन खोज्छ। वास्तवमा हिम-स्वर्गको पदचाप भन्नु आधार शिविरको सुखद अनुभूतिका पानाहरू हुन्।
हामी सबैले हिमाल देख्यौं सधैं टाढाबाट, नीलो आकाशको क्यानभासमा कोरिएका श्वेत-शिखरहरूको रूपमा। ती हाम्रा लागि चमत्कारी दृश्य मात्र थिए, जसलाई आखाँले हेरेर चित्त बुझाउनुपथ्र्यो। तर, यो यात्रा… यो त हाम्रो मानसपटलमा सधैँ टाढाको सपना बनेर बसेको हिमशिखरको स्वरूपलाई स्पर्श गर्ने एउटा अविस्मरणीय अनुभव बन्न पुग्यो।
मेरो पदयात्राको हरेक पाइलाले मलाई त्यो दृश्यबाट जीवन्त अनुभवको नजिक पुर्याउँदै थियो। जति-जति उकालो चढ्दै गयौं, उति-उति मेरो हृदयमा उत्साहको ज्वारभाटा उठिरहेको थियो। हरियाली बोट-बिरुवा पातलिँदै गए, अनि एकाएक मेरो सामुन्ने देखापर्यो- बाटै ढाकेर थुप्रिएका हिउँका राशैराश।
त्यो क्षण, जब मेरो खुट्टाले हिउँको चिसो तर मुलायम स्पर्श महसुस गर्यो, त्यो एउटा जादुमय पल थियो। त्यसबाट उत्पन्न आवाज र चिसोमा पनि प्रेमिल न्यानो स्पर्श मिलिरहेको जस्तै मलाई लाग्यो।

लामो यात्राको लखतरान ज्यान एकैछिनमा कता हरायो, पत्तै भएन। म, जो आजसम्म हिमालमा जमेको हिउँ मात्रै देख्न बाध्य भइरहेको थिएँ तर आज त्यही सेतो गलैँचामा आफैं हिँडिरहेको थिएँ।
हिउँ टेक्दै, हिमाल हेर्दै हिउँसँग आत्मीय साक्षात्कार गदै हिँड्नु वास्तवमा कुनै गाह्रो थिएन। डङ्गरङ्गै लडिन्थ्यो, चाक थचारिन्थ्यो, हात बरफमा बजारिन्थ्यो, दुख्थ्यो। तर यी सबै दुखाइ, सबै कठिनाइ क्षणभरमै बिर्सिन्थ्यो। किनभने आँखाले बल्ल चाहनाको चित्र देख्न पाएको हुन्थ्यो। मनले बल्ल यात्राको मज्जा लिरहेको हुन्थ्यो।
हिउँसँगको पहिलो भेट कुनै बच्चाको खेलौनासँगको पहिलो भेटभन्दा कम थिएन। भोकाएको बेला खान पाएको खानेकुराभन्दा कम स्वादिष्ट थिएन, भएन। हातमा हिउँ लिएर खेल्नु, खुट्टाले हिउँमा टेक्दै क्र्याक्क-क्र्याक्क आवाज सुन्नु, अनि साथीहरूसँग हिउँको डल्ला हानाहान गर्नु- यी सबै असीम आनन्दका क्षण थिए। यात्रामा संलग्न म र अरूहरू पनि चक्चके बालकझैं चञ्चल र खुसी थियौं।
त्यसपछि आयो त्यो भव्य क्षण-आधार शिविरको फेदी। बल्लतल्ल कति योजना, कति कठिनाइ, कति सास्ती र सजाय ब्यहोर्दै अन्नपूर्णको आँगनमा आइपुगेका पाहुनाहरू म जस्तै उनीहरू पनि हिउँको गलैँचामा आराम गर्न थाले। भोको पेटमा खानुपर्ने आवश्यकता बिर्साएको थियो। मात्र हेर्नुपर्ने औचित्यले आधार-स्तम्भ गाडेको थियो।
प्रत्येक यात्री खुसीले चिच्याइरहेको मैले देखेँ। जता आँखा डुलाए पनि हिमाली सौन्दर्यसँगै साक्षात्कार भइहाल्थ्यो। मात्र हिउँ र हिमालको तिर्मिराउँने चकमलाई आँखाले हेर्न सक्नुपर्थ्याे।
मैले कल्पना गरेभन्दा धेरै विशाल, धेरै शान्त र अत्याधिक सुन्दर हिम-साम्राज्यमा मेरो प्रवेश भएको थियो। ठाडो उकालोको हैरानीपछि आधार शिविरको त्यो समथर भूभाग, चारैतिर अग्ला, अजेय हिमशृङ्खलाहरूले घेरिएको !
हिमालहरू यति नजिक थिए कि मानौँ हात फैँलाउँदा नै तिनलाई अङ्गालो हाल्न सकिन्छ कि जस्तै लाग्ने। नीलो आकाश छुन लागेका ती सेता टाकुराहरूले मलाई विनम्रताको पाठ सिकाइरहेका थिए। म मेरो हिमाल देखेर सतत् नतमस्तक भएँ।
त्यहाँको चिसो, हावाको सिर्र-सिर्र आवाज र कहिलेकाहीं टाढाबाट आउने हिउँ पग्लेर बगेको वा हिउँ खसेको गम्भीर ध्वनि- यो सबैले एक अलौकिक वातावरण सिर्जना गरेको थियो। मेरो मनमा कुनै तनाव थिएन, कुनै चिन्ता थिएन। थियो- प्रकृतिप्रतिको अगाध प्रेम र यो क्षणलाई भरपेट जिउने अदम्य चाहना !
आधार शिविरको फेदीमा पुगेर, आफ्नै आँखा अगाडि हिउँकै विशालता र हिमालको उच्चतालाई महसुस गर्दा, मेरो मन खुसीले हर्षविभोर भयो। यो यात्रा भौतिकभन्दा धेरै आत्मिक थियो। यो एउटा गन्तव्यसम्म पुग्ने दौड थिएन, यो त आफ्नै अन्तर्मनको शान्ति पत्ता लगाउने र प्रकृतिको विशाल शक्तिसँग जोड्ने एउटा पवित्र तीर्थयात्रा जस्तै मलाई लागिरह्यो।
टाढाबाट देखिने हिउँलाई आफ्नै खुट्टाले कुल्चिएर, हिउँको साम्राज्यको अंश बन्न पाउँदाको त्यो असाधारण अनुभूति शब्दमा वर्णन गर्न सकिँदैन रहेछ। ती क्षणहरू, ती भावनाहरू र त्यो आधार शिविरको याद…! यी सबै सधैँभरि मेरो हृदयमा एउटा सुनौलो अध्याय बनेर रहिरहने छन्।
हिउँको साम्राज्यमा रमाउँदै, हिमाल हेर्दै पाइला चाल्दा मनको स्पन्दन अर्कै किसिमले धड्किरहेको हुन्थ्यो। ती प्रत्येक धड्कनमा मैले मेरै देशको गौरवमय हिमाली सौन्दर्य दृश्यमान भइरहेको देख्थें। तलका होटल र गाउँहरू, हरियो घाँसका डाँडा र घुम्ती तथा झरना र खोलाहरू अघिल्तिर सधैँ रहेझैँ लाग्थे, तर माथि जाँदै-जाँदै दृश्य फेरिन थालेको हुन्थ्यो।
दायाँ-बायाँको खण्डहर जस्ता पहाडहरू, कडा चट्टानलाई फोरेर निस्किएका झरनाका उत्ताल भेल मानौं आकाशबाटै लामो गगनचुम्बी शृङ्खलाहरू र उज्यालो हिउँले ढाकिएका टाकुराहरू मनमोहक देखिन्थे। हिमालमा मात्र पाइला टेक्दा अनुभव हुने यो रहस्यपूर्ण रमाइलो मेरो हृदयभित्र पसेर स्थिर हुन थालिरहेको थियो।
हिउँको पहिलो स्पर्श सधैँ नयाँ अनुभूति हुन्छ। खुट्टाले हिउँमा पाइला टेक्दा त्यसको चिसो, त्यसको कर्कश सतह र त्यसको चमकदार उज्यालोले आँखैभरि उज्यालो फ्याँक्थ्यो। पर्यटकहरू, जो जीवनमा सायद कहिल्यै यस्तो चिसो र सफा स्पर्श अनुभव गरेका थिएनन्, उनीहरूको अनुहारमा अचम्मको हर्ष झल्किन्थ्यो।
हिउँसँग खेल्ने, यसलाई उकालीतर्फ थिच्ने, आफ्नो हात र खुट्टाको सामथ्र्य महसुस गर्ने खुसी-यी सबै भावनाहरू आधा शिविरको फेदीमा पुग्दा चरम सीमामा पुग्दोरहेछ।
त्यो रमाइलो दृश्यले मात्र होइन, अनुभूतिको गहिराइले पनि गढेको थियो। हिउँको साम्राज्यमा उभिँदा हावा शीतल, सुनसान तर जीवन्त र निर्मल थियो।
जसरी संसारको सबै पीडा तलै छोडेर मैले ४१३० मिटरको उचाइमा पाइला टेकिसकेको थिएँ। त्यही क्षण मलाई शुद्ध आनन्दको अनुभूति भयो। हिउँसँग खेल्दै, हिउँको चमकमा आफूलाई विलीन पार्दै, पर्यटकहरूले जीवनको सानो खुसीलाई यथार्थमा पाएका थिए।
त्यो समय, त्यही ठाउँ, त्यही हिउँ-सबै मिलेर एउटा अद्भुत क्षण सिर्जना गरे। हिमालमा पाइला राख्दा पाइला मात्र अघि बढ्दैन रहेछ, मन पनि माथि उड्दै, हृदय खुल्दै र आत्मा झन् जीवन्त बन्दै जाँदोरहेछ। आधार शिविरको फेदीमा पुग्दा देखिएको हिउँको विस्तृत साम्राज्य-सफा, चिसो, चम्किलो-संसारको सबै सुन्दरतालाई बिर्साउने थियो।
त्यो दिन, हिमालले मलाई उचाइ मात्र सिकाएन; यसले जीवनको रमाइलो सँगसँगै अनुभव गर्ने कला पनि सिकायो– छोटो, सरल तर अतुलनीय। खुट्टा हिउँमा डुबाउँदै हिउँ पानी चिसिएर जमेको रूप मात्र होइन, यो खुसी र शान्तिको सजीव प्रतिविम्ब पनि हो।
मैले महसुस गरेँ- हिउँसँगको आत्मीय साक्षात्कार मेरो जीवनभरिका लागि यौटा यादगार यात्रा-विम्ब बनेर रहिरहने छ।
















Facebook Comment