कतारका राजदूत फिर्ता, कुमार राईलाई कार्यबाहकको जिम्मेवारी
कतार। कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल गत बिहीबार साँझ स्वदेश फिर्ता भएका छन्। राजदूत फर्किएपछि दूतावासका नियोग उपप्रमुख कुमार राईले कार्यबाहक राजदूतको जिम्मेवारी सम्हाल्ने भएका हुन्। ओली सरकारले राजदूत नियुक्ति नगर्दा रिक्त रहेको राजदूतको कार्यबाहकको भूमिकामा यस अघि पनि राइले निर्वाह गरेका थिए।
जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले राजनितिक नियुक्त भएका ११ देशका राजदूतहरूलाई तीन दिनभित्र मन्त्रालयमा उपस्थित हुन दिएको पछिल्लो निर्देशनसँगै पौडेल नेपाल फर्किएका हुन्।
रमेशचन्द्र पौडेल २०२४ नोभेम्बर २२ मा कतारस्थित नेपाली दूतावासमा आफ्नो पदभार ग्रहण गरेका थिए। तत्कालीन केपी ओली सरकारको भागबन्डामा नियुक्त भएका पौडेल आफ्नो कार्यकालको एक वर्षमै नेपाल फर्किएका छन्।
परराष्ट्र मन्त्रालयले गत सोमबार जारी गरेको पत्रमा कार्तिक १७ गतेको निर्णय अनुसार प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीस्तरीय निर्देशनका आधारमा राजदूतहरूलाई अर्को व्यवस्था नभएसम्म मन्त्रालयमा रही कामकाज गर्न नेपाल बोलाइएको उल्लेख गरेको थियो।
नेपाल फर्किने तयारी भइरहेका बेला सर्वोच्च अदालतले ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरे पनि चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, संयुक्त राज्य अमेरिका र जापानमा कार्यरत ११ देशका राजदूतहरुलाइ तीन दिनभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको थियो।
नेपाल सरकारले हालका लागि नयाँ राजदूत तुरुन्तै नियुक्त नगर्ने निर्णय गरेको हुँदा दूतावासका नियमित कार्यहरू नियोग उपप्रमुख राईकै नेतृत्वमा सञ्चालन हुने भएको छ। कतारमा रहेका नेपाली समाजहरुको आलोचनाको सिकार बन्दै वीचमै फर्किएका पौडेल नेपाली समाजमा विवादित राजदुत पनि हुन् ।














Facebook Comment