गणेशमान सिंहले नेपालीलाई रैतीबाट अधिकार सम्पन्न नागरिक बनाउनुभयो : प्रकाशमान सिंह

डिसी नेपाल
२४ कार्तिक २०८२ १०:२१
28
Shares

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

कार्यक्रममा बोल्दै नेता सिंहले गणेशमान सिंहलाई नेपालको लोकतान्त्रिक इतिहासका महान् योद्धा र जनअधिकारका अग्रदूतका रूपमा व्याख्या गरे।

उनले भने, ‘गणेशमान सिंहले नेपाल र नेपालीका लागि आफ्नो जीवनभर जनतालाई रैतीबाट अधिकार सम्पन्न सार्वभौम नागरिक बनाउन संघर्ष गर्नुभयो। उहाँ हरेक नेपालीले बोल्न, नियम अनुसार काम गर्न र स्वतन्त्र रहन पाउनुपर्ने अधिकारका पक्षमा जीवनभर लड्नुभयो।’

नेता सिंहले गणेशमान सिंहको योगदानले नेपालमा लोकतन्त्र र प्रजातान्त्रिक मूल्य-मान्यता स्थापनामा निर्णायक भूमिका खेलेको उल्लेख गरे। उनले भने, ‘१०४ वर्षको जहानियाँ राणाशासनको अन्त्य मात्र होइन, ३० वर्षको पञ्चायती तानाशाही व्यवस्थाको विरुद्ध पनि उहाँ अग्रपंक्तिमा रहनुभयो। उहाँले ६ दशकभन्दा लामो सक्रिय राजनीतिक जीवन बिताउनुभयो, जसमा १५ वर्षभन्दा बढी कारावास भोग्नुभयो र १५ वर्ष निर्वासनमा भारतमा रहनुपर्‍यो।’

नेता सिंहले गणेशमान सिंहको त्याग, संघर्ष र बलिदानलाई सबै नेपालीले आदर्शका रूपमा लिनुपर्ने बताए। उनले गणेशमान सिंहको जीवन र विचार आज पनि नेपालको लोकतान्त्रिक यात्राका लागि प्रेरणादायी रहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.