मधेश टुक्र्याउँछु भनेर स्टन्ट गर्नु संघीयता विरोधी कदम हो : शरदसिंह यादव

रस्मिता गिरी
२६ कार्तिक २०८२ १०:४१
20
Shares

पछिल्लो समय मधेश प्रदेश सरकारमा उथलपुथल आएको छ। जसका कारण मधेश प्रदेशका नेता कार्यकर्ताहरुमाझ हलचल मच्चिएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदीले सोमबार विहान मुख्यमन्त्री पदमा एमालेका सरोज कुमार यादवलाई महोत्तरीको एक होटलमा सपथ ग्रहण गराएको विषयले राजनीतिक अस्थिरता निम्ताएको छ। प्रदेश प्रमुखको कदमबारे आलोचना भइरहेका बेला मधेशी नेताहरुको फरक फरक अभिव्यक्तिहरु आइरहेको छ। प्रस्तुत छ, यसै सिलसिलामा नेता एवं राष्ट्रका लागि युवा जागरण अभियानका अभियन्ता डा. शरदसिंह यादवसँग कुराकानी:

मधेस प्रदेश सरकारमा भएको पछिल्लो घट्ना के हो? उक्त घट्नालाई कसरी हेर्नुभएको छ?

मधेस प्रदेशमा मुख्यमन्त्रीको शपथ ग्रहणबारे एउटा अप्रत्यासित घटना घट्यो। यसलाई म एउटा दुर्घटना भन्छु। प्रदेशका प्रमुख सुमित्रा सुवेदीले बर्दिबासको एउटा रिसोर्टमा बसेर एमालेका संसदीय दलका नेता सरोज यादवलाई शपथ खुवाउनुभयो। र केही मन्त्रीलाई जसरी सपथ खुवाउनुभयो त्यो गैह्रन्यायिक, गैह्रसंवैधानिक, गैह्रकानुनी कदम हो। बिहानै जसरी रिसोर्टमा शपथ गराइएको छ त्यो एकदमै गलत र निन्दनीय छ। प्रदेशको प्रमुखलाई सरकारले फिर्ता बोलाएको छ, जुन स्वागतयोग्य छ ।

मुख्यमन्त्रीलाई शपथ गराएको विषय पेचिलो बनेको छ। शपथ गलत थियो र?

संविधानको एउटा धाराको सरकारले राजीनामा गरिसकेपछि हामी सबैले प्रदेश भित्रको क्रियाकलापहरु राम्रैसँग हेर्‍यौँ। जुन चिजहरु अहिले भइरहेको छ, के त्यो आवश्यक थियो र ? सरकार निर्माणको क्रममा जसरी त्यहाँ दलहरुले जुन किसिमका क्रियाकलापहरु देखाए त्यो निन्दनीय छ। किनभने संघीयताको पक्षधर हामी मधेसी हौँ। जेनजी आन्दोलनपछि जसरी सात प्रदेशमध्ये छ वटा प्रदेशमा कुनै किसिमको हलचल भएको अवस्था छैन्। मधेश प्रदेशमा मात्रै सरकार परिवर्तनको हलचल र खेल किन सुरु गरियो भन्ने विषयबारे हामीले जरासम्म खोतल्नुपर्ने हुन्छ। यसको सुत्रधार भनेकै जनमत पार्टी र यसका नेताहरु हुन्। हिजो अस्तिसम्म आफ्नै नेतृत्वको सरकारलाई उहाँहरुले ढालेर फेरी अर्काको नेतृत्वमा सरकारमा जाने जुन प्रपन्च रच्नुभयो त्यसले मधेस प्रदेशमा अस्थिरता उत्पन्न भयो।

प्रदेश प्रमुखले चालेको कदम संविधान अनुसार नै छैन र ? संविधानको धारा १६८(३) बमोजिम मुख्यमन्त्रीमा नियुक्त कसरी गलत हो?

मुख्यमन्त्री नियुक्त गर्ने संविधानको धारालाई टेकेर भएको कदम जायज हुनसक्ला तर जुन प्रक्रिया अवलम्बन गरियो त्यो गलत छ। हामीले त्यसको विरोध गरिरहेका छौं। एउटा रिसोर्टमा बिहान पाँच बजे, एक दिन अगाडिको डेट राखेर जसरी मुख्यमन्त्रीलाई शपथ ग्रहण गराउनुभयो त्यो प्रक्रिया नै गलत थियो। र गैह्रसंवैधानिक थियो। नेपालको इतिहासमा एउटा होटलमा गएर कुनै मुख्यमन्त्री अथवा मन्त्रीको शपथ ग्रहण भएको थिएन। हामी त्यसको विरोधी हौँ। उहाँले जुन प्रक्रिया अवलम्बन गर्नुभयो त्यो विल्कुल गलत छ।

जुन रफ्तारमा यो सरकारले काम गर्नुपर्ने, त्यो रफ्तारमा काम भइरहेको अवस्था छैन। जसरी ७८ जना युवाहरूको निर्मम हत्या भयो र सयौं घाइते, अपांग भएका छन् र दमन गर्ने व्यक्तिहरूलाई अहिलेसम्म उहाँहरूले कानुनी कठघरामा उभ्याउन सक्नुभएको छैन।

शपथको विरोधमा आन्दोलन भयो। तर, आन्दोलनका नाममा तोडफोड र कर्मचारीमाथि कुटपिट गर्नु अराजकता भएन र?

आन्दोलनका क्रममा भएको क्रियाकलाप गलत हो। त्यसको विरोध गर्न चाहन्छु। जुन किसिमले मुख्यमन्त्रीको कार्यालय, प्रदेश प्रमुखको कार्यालयभित्र छिरेर माननीयहरु जसरी त्यहाँ तोडफोड गरे, नेपालको राष्ट्रिय झण्डालाई जसरी अपमानित गरे त्यो एकदमै दण्डनीय छ। जसले कर्मचारीहरुलाई कुटपिट र सामानहरु तोडफोड गरेको छ र राष्ट्रिय सम्पत्तिमाथि क्षति पुर्‍याएको छ यस्ता व्यक्तिहरुलाई तुरुन्तै नेपालको कानुन अनुसार कारबाही गर्नुपर्छ। त्यस्ता व्यक्तिहरु माननीय हुनै सक्दैनन्।

त्यसोभए अबको निकास के हो?

निकास भनेको संविधान हो। संवैधानिक रुपमै, संविधानभित्र रहेर, देशको कानुनभित्र रहेर निकास खोज्नुपर्छ। जसलाई जे मन लाग्यो त्यहि गर्ने, कसैको आदेशका भरमा आदेश पालना गर्नलाई कुनै रिसोर्टमा गएर कसैलाई मन्त्री, मुख्यमन्त्री बनाउन मिल्दैन। फगत यो संघीयता कसैलाई मन्त्री र मुख्यमन्त्री बनाउन ल्याएको होइन। देश वा प्रदेशभित्रका जनताको समृद्धि र विकासका लागि हामी संघीयताको मोडलमा गएका हौं। जुन क्रियाकलाप अहिले मधेस प्रदेशमा भइरहेको छ, यो निन्दनीय छ र यसले संघीयतालाई नै कमजोर गर्छ।

तपाइँहरु नेता डा. सीके राउत र जनमत पार्टीसँग किन असन्तुष्ट?

कुनै व्यक्ति अथवा कोहीसँग असन्तुष्टि भन्दा पनि एउटा मिसनमा काम गरिरहेको व्यक्ति हुँ। हामी जुन एजेन्डा लिएर पार्टी भित्र जान्छौँ अथवा अरू कुराहरू मन परेर जान्छौँ। त्यो चिजहरू त्यहाँ नभएपछि असन्तुष्टि हुने हो। पार्टीभित्र लोकतन्त्र छ कि छैन त्यो बुझ्नुपर्छ । जुन पार्टी भित्र लोकतन्त्र हुँदैन, उसले लोकतन्त्रको वकालत गरेको देख्दा हास्यास्पद लाग्छ। म एउटा लोकतान्त्रिक परिपाटीलाई मान्यता राख्ने व्यक्ति हुँ र त्यस्तो ठाउँमा बसेर काम गर्न सकिँदैन। तदनुरुप नै हामीले पार्टी परित्याग गर्यौँ र आफ्नो अभियानमा लागेका छौँ।

मुलुकको हालको अवस्थामा संघीयता र मधेश कसरी जोगाउने?

संघीयता कुनै नेताले ल्याएको होइन्। संघीयता ल्याएको भनेको मधेशका जनताको बलिदानले हो। संघीयताका लागि थुप्रै जनताले बलिदान र रगत बगेको छ। यसमा कुनै नेताजीहरू उत्साहित हुनु भनेको त्यति सुहाउँदैन। जुन जनताले संघीयता ल्याए, त्यही जनताले संघीयता बचाउने हो। त्यही जनताले अब आगामी दिनमा त्यस्ता व्यक्तिहरू चुनेर पठाउँदैन। सही व्यक्ति र युवाहरूलाई, पढेलेखेका युवाहरूले पठाउँछन् र उसले संघीयतालाई अझै सशक्त रूपमा अगाडि बढाउँछ, सबल बनाउँछ र प्रदेशलाई समृद्ध बनाउँछ।

मधेस सरकार कमजोर हुनु वा राजनीतिक अस्थिरता आउनुको मुल कारण के हुनुसक्छ?

प्रदेशलाई बदनाम गर्नलाई केही व्यक्तिहरू सुरुदेखि नै लागेका छन्। ति व्यक्तिहरु संघीयताका विरोधी हुन्। एकात्मक सोच भएका व्यक्तिहरू जसले काठमाडौँको सिंहदरबारबाट सत्ता सञ्चालन गर्न चाहन्छन्, त्यस्ता व्यक्तिहरू संघीयताको विरोधी हुन्। यो देशमा सिमान्तकृत आदिवासी जनजाति, थारू, मधेशीलगायतका जतिपनि अपहेलित र उत्पीडित समुदाय छन् उनीहरूको समृद्धि भनेकै संघीयतामा हुन्छ। र उनीहरूले आफ्नो अधिकारको सुरक्षा पनि त्यही संघीयताभित्र गर्छन्। तदनुरुप नै हामी अगाडि बढेका हौं। तर केही व्यक्ति जसको काठमाडौँमा सत्ता छ, तिनीहरूले संघीयताको विरोध गरेका हुन्। संघीयता खर्चिलो छैन, काठमाडौँ खर्चिलो हो। सिंहदरबारका थुप्रै मन्त्रालयहरू हटाउन सक्यौँ भने खर्चिलो हुँदै हुँदैन। काठमाडौँभित्र हामीले चारवटा मन्त्रालय राखे पुग्छ। जबसम्म प्रदेशहरूलाई पूर्ण रूपमा कानुनी रुपले वा हरेक चिजले समृद्धि गर्दैनौँ, तबसम्म यो काठमाडौँको शासन प्रदेशमा चल्छ र प्रदेशलाई अस्थिर बनाउन काम भइरहन्छ।

संघीयता कुनै नेताले ल्याएको होइन्। संघीयता ल्याएको भनेको मधेशका जनताको बलिदानले हो। संघीयताका लागि थुप्रै जनताले बलिदान र रगत बगेको छ। यसमा कुनै नेताजीहरू उत्साहित हुनु भनेको त्यति सुहाउँदैन।

फागुन २१ गते निर्वाचनको मिति तय भएको छ। निर्वाचनबारे तपाई के भन्नुहुन्छ?

भदौ २३ र २४ गते युवाहरूले गरेको आन्दोलन व्यवस्थाको विरुद्ध थिएन भनेर बुझन् पर्छ। संघीय लोकतान्त्रिक गणतन्त्रमा नै जनताको समृद्धि हुन्छ। यही भएर युवाहरूले त्यो आन्दोलन भनेकै मूल रूपमा दुईटा मुद्दाको लागि गरेको अवस्था थियो। व्यवस्थाभित्र रहेर अवस्थालाई परिवर्तन गरौँ भन्ने युवाहरूको माग थियो। त्यही मागअनुसार सरकार ढल्यो। प्रतिनिधि सभा विघटन भयो। अब नयाँ प्रतिनिधि सभा चुन्नलाई जसरी अन्तरिम सरकारले फागुन २१ गतेलाई तोकेको अवस्था छ त्यो समयमा चुनाव हुन्छ र हामी सबै लोकतन्त्रको पक्षधरहरु चुनाव लड्नुपर्छ। धेरैभन्दा धेरै युवाहरू प्रतिनिधि सभामा कसरी ल्याउने हो र शहादत प्राप्त युवाहरूको म्यान्डेटलाई अगाडि कसरी बढाउने, त्यो मार्ग चित्रलाई कसरी अगाडि कोर्ने हो भन्ने कुरामा सजक बन्न जरुरी छ। र अब आउने फागुन २१ गते चुनाव हुनैपर्छ । हामी सबै जना मिलेर चुनावलाई एउटा उत्सवको रूपमा मनाउनुपर्छ।

अन्तरिम सरकारको कार्यशैलीलाई कसरी हेरिरहनुभएको छ?

जुन रफ्तारमा यो सरकारले काम गर्नुपर्ने, त्यो रफ्तारमा काम भइरहेको अवस्था छैन। जसरी ७८ जना युवाहरूको निर्मम हत्या भयो र सयौं घाइते, अपांग भएका छन् र दमन गर्ने व्यक्तिहरूलाई अहिलेसम्म उहाँहरूले कानुनी कठघरामा उभ्याउन सक्नुभएको छैन। मन्त्रिमण्डलले पूर्णता पाएको अवस्था छैन। यसले देखाउँछ भने, जुन गतिमा, द्रुत गतिमा चल्नुपर्ने त्यो गतिमा उहाँहरू चलिराख्नु भएको छैन। त्यो चाहिँ अलिकति दुःखद् छ।

नयाँ सरकार बनेपछि मधेशप्रति हेर्ने दृष्टिकोण कस्तो पाउनुभयो?

जुन हिसाबको प्रतिनिधित्व हुनुपर्ने त्यो भएको छैन। जहाँ ५३ प्रतिशत जनता मधेशमा बसोबास गर्छन्। कम्तिमा ५० प्रतिशत समावेशिता हुनुपर्छ भन्ने हाम्रो मान्यता छ। समग्र तराईमधेशबाट प्रतिनिधित्व हुनुपर्ने एक जना व्यक्ति मन्त्री हुनुपर्छ। डाक्टर रामजी रामको कुरा आउँदा उहाँमाथि १० किसिमका लाञ्छना लगाउने काम भयो। त्यसपछि डाक्टर संगीता मिश्रको कुरा आउँदाखेरि उहाँमाथि थुप्रै किसिमका झुठा आरोपहरू लाउने काम भयो। यसले के देखाउँछ भने काठमाडौं जहिले पनि मधेशलाई विभेद गर्छ र मधेशी आदिवासी, जनजाति, थारूहरूको समावेशिताको कुरामा काठमाडौं उदासीन छ। सोही किसिमको विभेद यो सरकारले पनि गरिरहेको देखियो।

तपाईंले सुरु गर्नुभएको अभियान कस्तो हो?

यतिबेला युवाहरूले जुन म्यान्डेट छ त्यसका पक्षमा हो। सकेसम्म धेरैभन्दा धेरै युवाहरू नेतृत्वमा आउनुपर्छ भन्ने हो। हरेक दलबाट युवाहरूको नेतृत्व हुनुपर्छ भन्ने हो। ‘राष्ट्रका लागि युवा अभियान’ जुन चलाएका छौँ, यसमा हरेक दलले कम्तिमा ५० प्रतिशत युवालाई अवसर दिनुपर्छ भन्ने हाम्रो मुल ध्येय हो। युवाहरूलाई जिताएर ल्याउनुपर्छ र प्रतिनिधिसभा युवामय हुनुपर्छ भन्ने हाम्रो मान्यता हो।

सीके राउतका पछिल्ला अभिव्यक्तिप्रति चासो बढेको छ, तपाईले कसरी लिनुभएको छ?

मान्छेले राजनीति गर्दा कहाँ बसेर राजनीति गर्ने हो, के का लागि गर्ने हो, कसको लागि गर्ने हो भनेर बुझ्नपर्छ। देश टुक्राउँछौं भन्ने जुन नारा उहाँहरूले दिनुभयो यो आजभन्दा १२ वर्षअगाडि पनि त्यही नारा अघि सार्नुभएको थियो। अब फेरि सत्तामा आउनलाई त्यही नारा दिइरहनु भएको छ। पछि सोही नारालाई तिलाञ्जली दिएर मूलधारको राजनीतिमा आउनुभयो। सत्तामा आइसकेपछि, अहिले सत्तालाई बचाउन फेरि मधेश टुक्राउँछु भन्ने नारा दिँदै हुनुहुन्छ। यो हास्याँस्पद छ।

मधेशी जनता राष्ट्रवादी जनता हुन। मधेशतराईका जनताहरू सीमा रक्षक हुन्। पाउन नसकेको अधिकार यही देशभित्र बसेर लडेर लिने हो। आगामी दिनमा पनि हामी यहि देशलाई समृद्ध बनाएर आफ्नो हक अधिकार सुरक्षित गर्छौं। यही कुरामा प्रायः सबै तराईमधेशका जनताहरू ढुक्क छन्। जहाँसम्म देश टुक्राउनुपर्छ भन्ने व्यक्तिहरु यतिबेला भारतमा निर्वासित जीवनमा हुनुहुन्छ। जयकृष्ण गोइतजी, जसले मधेशलाई अलग गर्नुपर्छ भन्नुहुन्थ्यो उहाँ अहिले पनि भारतको एकान्तबास हुनुहुन्छ। त्यही भएर देश टुक्राउन त्यति सजिलो छैन र मधेशी जनता कहिले पनि यो देश टुक्राउने भन्ने पक्षमा छैनन्।

कसैले स्टन्ट गर्छ भने स्टन्टको भागिदारी उहाँ आफैँले लिनुपर्ने हुन्छ। सत्तामा आउनका लागि केही वर्षअगाडि पनि उहाँहरूले देश वा मधेश टुक्र्याउँछौ भन्ने अभियान नै सञ्चालन गर्नुभएको थियो। तर मधेशी राष्ट्रवादी जनता हुन्। मधेशी जनता सीमा रक्षक हुन्। यही देशभित्र बसेर आफ्नो अधिकार सुरक्षित गर्छौं।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.