डोल्पाका याक मुस्ताङमा

डिसी नेपाल
२६ कार्तिक २०८२ २२:४४
16
Shares

मुस्ताङ। हिउँद सुरु भएसँगै उपल्लो डोल्पाका याक धमाधम मुस्ताङ झारिएको छ। यहाँ ल्याइएका याक बिक्रीका लागि जोमसोमलगायत स्थानमा झारिएको हो।

बर्सेनि कात्तिक र मङ्सिर महिनामा उपल्लो डोल्पाका विभिन्न स्थानमा पालिएका अग्ला कद भएका याक मुस्ताङमा बिक्री गर्न ल्याउने चलन छ।

हिउँदयाममा तरकारीको अभाव हुने भएकाले मुस्ताङमा डोल्पाबाट ल्याएका याकको किनबेच चल्छ । तर, हिउँदयाममा तरकारी हुने पहिलो अवस्था भने अहिलेको सडकको अवस्थाले फेरिएको छ।

मुस्ताङमा हिउँदयामका लागि मानिसले याक र भेडाच्याङ्ग्राको सुकुटी बनाउने परम्परागत संस्कृति नै हो।

तर, भेडाच्याङ्ग्रा महँगो पर्ने भएको र याकको मासु स्वास्थ्यववर्द्धक र थप स्वादिलो हुने भएकाले मुस्ताङी अधिकांशले याककै सुकुटी पारेर झुण्ड्याउने प्रचलन रहेको छ।

यसरी सुकुटी पारेर राखेको याकको सुकुटी हिउँदयाममा तरकारीको अभाव हुँदा विभिन्न तरकारीमा मिसाएर खाने गरिन्छ। उपल्लो डोल्पा प्रसिद्ध याकचौँरीपालनको केन्द्र नै मानिन्छ । त्यसो मुस्ताङमा पनि याक पाल्नेको सङ्ख्या उल्लेख छ।

उच्च हिमाली क्षेत्र उपल्लो डोल्पामा प्रशस्त चरन क्षेत्र र याकचौँरीका लागि सन्तुलित हावापानी भएकाले डोल्पाली याक जक्खड र अग्ला कदको हुन्छन्।

उपल्लो डोल्पाको उच्चलेक, खर्क र बुगिनमा हिमाली भेगमा पाइने यार्सागुम्बा, निरमसी, जटामसी, पाचऔँलेलगायत जडीबुटी प्रशस्तै हुने र त्यहाँका याकले त्यस्ता जडीबुटी सेवन गर्ने भएकाले मुस्ताङकोभन्दा डोल्पाली याक अब्बल मानिन्छन्।

मुस्ताङका याक होचो कद हुने भएकाले यहाँका याक पारखीहरुले डोल्पालीलाई याकलाई मन पराउने गरेको पाइएको हो।

विगतका वर्ष झैँ यस वर्ष पनि डोल्पाबाट बिक्रीका लागि मुस्ताङमा याक ल्याइएको हो । मुस्ताङमा मङ्गलबारसम्म पाँच हुल याक झरिसकेका छन्। थप दुई हुल थपिने क्रममा रहेको जनाइएको छ।

बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङका याक व्यापारी सितार गुरुङले १८ वटा याक उपल्लो डोल्पाबाट पैदल खेदाउँदै १२ दिन लगाएर जोमसोम ल्याई पुर्‍याएको जानकारी दिए।

गुरुङले उपल्लो डोल्पाको पिसेर, छार्का, तिञ्जु र धोतरपलगायत गाउँबाट याक खरिद गरी मुस्ताङ ल्याउन गरेको बताए। यस वर्ष कात्तिकको १० गते भारी हिमपात परेका कारण डोल्पाबाट मुस्ताङमा याक ल्याई पुर्‍याउन निकै समस्या भएको गुरुङको भनाइ छ।

‘मुस्ताङ–डोल्पा सडकमा निकै बाँक्लो हिउँ जमेको छ’, याक खेदाउँदै ल्याउन मुश्किल पर्‍यो, गुरुङले भने, ‘बाटोमै पकाउने र खाने गर्नुपर्छ, ल्याइएका याक हराउँछन् कि भन्ने डर हुन्छ।’ गुरुङले डोल्पाबाट होलसेल मूल्यमा एकमुष्ट खरिद गरी जोमसोम ल्याएको बताए।

उपल्लो डोल्पाबाट ल्याएर जोमसोममा प्रतियाकलाई रु एक लाख ६५ हजार मूल्यमा बिक्री गर्ने गरेको बताए।

विगत ६ वर्षदेखि निरन्तर याकको व्यापार गर्दै आइरहेका गुरुङले कोहीले अर्डर गर्ने र कोहीले अर्डर नगरे पनि याक हेरेर किनेर लैजाने गरेको बताए। डोल्पाबाट ल्याइएको एउटै जिउँदो याकको वजन २५० केजीभन्दा बढी हुने गुरुङको भनाइ छ।

मुस्ताङीहरुले हिउँदयाममा याकको सुकुटी बनाएर खाने प्रचलन रहे पनि पछिल्लो समय पर्यटकले समेत याकको मासु खान रुचाउने गरेको पाइएको छ।

डोल्पाबाट मुस्ताङ ल्याइएका धेरैजसो याक जोमसोम, मार्फा, स्याङ, टुकुचे, कोवाङ र लेतेलगायत स्थानमा सजिलै बिक्री हुने गरेको छ।

याकको सुकुटी मुस्ताङीका लागि हिउँदयामको महत्वपूर्ण तरकारीका रूपमा लिने गरिन्छ। हिउँदयाममा याक सुकुटी पारेर झुन्ड्याउँदा नगन्हाउने भएकाले याक सुकुटी हिउँदयाममा मात्रै तयार पारिने प्रचलन रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.