पाकिस्तानमा मुस्किलले भित्रिएको अन्तर्राष्ट्रिय क्रिकेट फेरि बाहिरिने खतरा
काठमाडौं । पाकिस्तानमा पछिल्लो समय भइरहेका शृंखलाबद्ध विष्फोटका घटनाले देशमा मुस्किलले फर्किएको अन्तर्राष्ट्रिय क्रिकेट फेरि बाहिरिने खतरा बढेको छ । पाकिस्तानले धेरै वर्षको अन्तरालपछि अहिले अन्य देशका टोलीहरूलाई बोलाएर सिरिज खेल्न थालेको छ । तर अब फेरि अन्य टोलीहरू पाकिस्तान भ्रमण गर्न नमान्ने स्थिति आउने जोखिम बढेको छ ।
अहिले पाकिस्तान भ्रमणमा रहेका श्रीलंकाली क्रिकेट टोलीका केही खेलाडीहरूले सुरक्षाको कारण देखाउँदै आफूहरूलाई घर फर्काउन अनुरोध गरेका छन्।
यद्यपि, श्रीलंका क्रिकेट बोर्डले उनीहरूलाई पाकिस्तान भ्रमण जारी राख्न आग्रह गरेको छ। श्रीलंका क्रिकेट बोर्डले केही श्रीलंकाली क्रिकेटरहरू फर्कन चाहेको पुष्टि गरेको छ।
इस्लामाबादमा भएको घातक बम विस्फोटमा १२ जनाको मृत्यु भएपछि केही श्रीलंकाली क्रिकेट खेलाडीहरूले सुरक्षा चिन्ता व्यक्त गरेका थिए।
२००९ मा पाकिस्तान भ्रमणमा रहेको श्रीलंकाली क्रिकेट टोलीमाथि आतंककारीहरूले आक्रमण गरेका थिए। यस आक्रमणमा केही खेलाडीहरू गम्भीर घाइते भएका थिए।
यो आक्रमणपछि २०१५ सम्म कुनै पनि विदेशी टोली पाकिस्तानमा खेल्न गएनन् । २०१५ मा पहिलोपटक जिम्बाब्वे पाकिस्तानमा खेल्न गएको थियो । २०१८-१९ मा वेष्ट इण्डिज र श्रीलंका पाकिस्तान गए । २०२० पछि बंगलादेश, दक्षिण अफ्रिका, इङ्ल्याण्ड, अस्ट्रेलिया, न्युजील्याण्ड पाकिस्तानमा खेल्न गएपछि त्यहाँ अन्तर्राष्ट्रिय क्रिकेट विस्तारै लयमा फर्कँदै थियो ।
अहिलेको घटनापछि श्रीलंका क्रिकेट (बोर्ड) ले घटनापछि तुरुन्तै खेलाडीहरूसँग कुरा गरेको र पाकिस्तान क्रिकेट बोर्ड र सम्बन्धित अधिकारीहरूसँगको सहकार्यमा उनीहरूको सबै चिन्तालाई गम्भीरतापूर्वक सम्बोधन गर्ने आश्वासन दिएको बताएको छ।
श्रीलंका क्रिकेटले सबै खेलाडी, सहयोगी कर्मचारी र टोली व्यवस्थापनलाई उनीहरूको निर्धारित कार्यक्रम अनुसार भ्रमण जारी राख्न निर्देशन दिएको बताएको छ।
“यद्यपि, यदि कुनै खेलाडी वा भ्रमण टोलीका अन्य सदस्यले यो निर्देशनको बाबजुद श्रीलंका फर्कने निर्णय गरेमा, श्रीलंका क्रिकेटले तुरुन्तै प्रतिस्थापन खेलाडीहरू पठाउनेछ ताकि भ्रमण बिना कुनै अवरोध जारी रहोस्,” यसको विज्ञप्तिमा भनिएको छ।







डिसी नेपाल








Facebook Comment