जेनजी आन्दोलनका क्रममा महानगरमा मात्रै १ अर्ब बराबरको क्षति
विराटनगर। जेनजी आन्दोलनका क्रममा विराटनगर महानगरपालिकाको भौतिक संरचना र अन्य सामानसहित झण्डै १ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ।
मेयर नागेश कोइरालाका अनुसार भौतिक संरचनातर्फ २३ करोड ३७ लाख ५८ हजार २३४ रुपैयाँ बराबरको क्षति भएको छ । जुन महानगरको प्रशासनिक भवनसहित वडा नम्बर १ देखि १२ र १९ नम्बर वडामा भएको क्षतिको विवरण हो।
त्यस्तै जिन्सी सामग्रीतर्फ स्काभेटर, शव बाहन, मोटरसाइकल, जेनेरेटर, कम्प्युटर, फर्निचर, मसलन्द सामग्रीलगायतमा ७५ करोड २५ लाख ६३ हजार ४८५ रुपैयाँ क्षति भएको महानगरले जनाएको छ।
वडागत रुपमा संकलन गर्नुपर्ने परेका कारण क्षतिको पूर्ण विवरण आउन समय लागेको मेयर कोइरालाले बताए । ‘यो त भौतिक र जिन्सी सामग्रीको क्षतिको विवरण हो । त्यो भन्दा ठूलो क्षति त जनताका महत्वपूर्ण कागजपत्र जलेर नष्ट भएको छ,’ उनले भने, ‘घरजग्गा शाखा पूर्ण रुपमा जल्दा त्यहाँका सबै कागजपत्र नष्ट भयो। अन्य महाशाखा र शाखाका कागजपत्र पनि सबै जल्यो । ती सबै कागजपत्र जनतासँग सम्बन्धित नै थिए।’
भौतिक संरचना र जिन्सीसहित ९८ करोड ६३ लाख २१ हजार ७१९ रुपैयाँ क्षति भएको छ। जसले गर्दा महानगरको विकासमा असर पुग्ने निश्चित। मेयर कोइरालाले महानगरलाई तङ्ग्रिन अझै केही समय लाग्ने बताए । सेवा प्रवाहमा भने कुनै कमी हुन नदिएको उनको भनाइ थियो।
गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा महानगरको प्रशासनिक भवनसहित वडा नम्बर १ देखि १२ र १९ नम्बर वडा जलेर नष्ट भएको थियो। प्रशासनिक भवनमा आगजनी गर्दा अधिकांश महाशाखा खरानी भएका थिए।
प्रशासनिक भवन र वडा कार्यालयहरूमा आगजनी गर्दा टेन्टमार्फत जनताका सेवा प्रवाह गरिरहेको उनले सुनाए। बस्ने ठाउँ नहुँदा न्यायिक समितिको इजलाससमेत टेन्टमै बसिरहेको उपमेयर शिल्पा निराला कार्कीले जानकारी दिइन्। उनका अनुसार हरेक सोमबार र बुधबार न्यायिक इजलास बस्ने गरेको छ।
महानगरबाट प्रवाह हुने सबैजसो सेवा पूर्ववत् रुपमा सुचारु भइसकेको छ। प्राविधिक जाँचपछि बस्न योग्य भवनमा रंगरोगन, विद्युत र नेट जडान धमाधम भइरहेको प्रमुख प्रशासकीय अधिकृत योगन्द्र दुलालले जानकारी दिए।







डिसी नेपाल








Facebook Comment