यस वर्षका लागि पूरा भयो संसारकै सबैभन्दा लामो परीक्षा, जुन परीक्षा चल्दा पूरै देश ठप्प हुन्छ
काठमाडौं । विश्वकै कठिन परीक्षा मध्ये एक दक्षिण कोरियाको कलेज स्कलस्टिक एबिलिटी टेस्ट (सीएसएटी) बिहीबार सम्पन्न भयो। दक्षिण कोरियाले १३ घण्टा लामो परीक्षाको लागि कडा राष्ट्रव्यापी सुरक्षा उपायहरू लागू गर्यो । यसका लागि अस्थायी रूपमा सबै विमानहरूको टेकअफ र ल्यान्डिङ रोकियो। यो अत्यन्त प्रतिष्ठित विश्वविद्यालय प्रवेश परीक्षामा पाँच लाखभन्दा बढी विद्यार्थीहरूले भाग लिएका थिए।
शिक्षा मन्त्रालयलाई उद्धृत गर्दै योनहाप न्यूजले लेखेअनुसार, यस वर्ष कलेज स्कलस्टिक एबिलिटी टेस्टका लागि कुल ५ लाख ५४ हजार विद्यार्थीहरूले आवेदन दिएका छन्, जुन गत वर्षको तुलनामा ६ प्रतिशतले वृद्धि हो र २०१८ पछिको सबैभन्दा उच्च संख्या हो। यस परीक्षाको नतिजाले देशका शीर्ष विश्वविद्यालयहरूमा दक्षिण कोरियाली विद्यार्थीहरूको प्रवेश निर्धारण गर्दछ।
यो परीक्षा दक्षिण कोरियामा विद्यार्थीहरूको लागि सबैभन्दा कठिन मानिन्छ। यस वर्ष पनि परीक्षाको समयमा उडानहरू रोकिएका थिए र ढिलो आइपुगेका विद्यार्थीहरूलाई परीक्षा केन्द्रमा पुर्याउन प्रहरी खटाइएको थियो।
परीक्षाको सुन्ने खण्डको समयमा विद्यार्थीहरूलाई बाहिरको आवाजले बाधा नपुगोस् भन्नका लागि दिउँसो १:०५ बजेदेखि १:४० बजेसम्म देशभरका सबै उडानहरू र अवतरणहरू ३५ मिनेटका लागि रोकिएको थियो। यी उडानहरूमा सैन्य र नागरिक दुवै उडानहरू समावेश थिए, जसमा आपतकालीन उडानहरूलाई मात्र अनुमति दिइएको थियो।
ड्रोन र हल्का विमानहरू पनि उडान गर्न प्रतिबन्ध लगाइएको थियो। कुल १४० उडानहरू रोकिए जसमा ६५ घरेलु र ७५ अन्तर्राष्ट्रिय उडान थिए । सीएसएटीको दिनमा सैन्य विमानहरू पनि ग्राउन्डेड गरियो । सेनाको बन्दुक अभ्यास र ट्याङ्क सञ्चालन जस्ता रक्षा अभ्यासहरू पनि रोकियो।
देशभरि, १०,४७५ प्रहरी अधिकारी र २,२३८ गस्ती कारहरू ट्राफिक नियन्त्रण गर्न खटाइएको थियो। बिहानको ट्राफिक सहज बनाउन शेयर बजार खुल्ने र बन्द हुने समय पनि एक घण्टा ढिलो गरिएको थियो।
ढिलो हुने सम्भावना भएका विद्यार्थीहरूलाई सहयोग गर्न नि:शुल्क प्रहरी कार र मोटरसाइकलहरू तैनाथ गरिएको थियो र ११२ मा फोन गरेर उनीहरूलाई बोलाउन सकिन्थ्यो। यद्यपि, बिहान ८:१० बजे पछि केन्द्रमा आइपुगेका विद्यार्थीहरूलाई परीक्षा दिन अनुमति थिएन । उनीहरूले अर्को वर्ष परीक्षा दिनुपर्नेछ।
विद्यार्थीहरूको आगमनलाई ध्यानमा राख्दै, सियोलमा २९ वटा थप सबवे रेलहरू सञ्चालन गरियो। विद्यार्थीहरूको ट्राफिक जामबाट बच्न सरकारी संस्थाहरूलाई बिहान १० बजेदेखि सञ्चालन सुरु गर्न पनि भनियो। परीक्षा बिहान ८:४० बजे सुरु भएर १,३१० परीक्षा केन्द्रहरूमा साँझ ५:४५ बजेसम्म जारी रह्यो।
कोरियाली भाषामा “सुनेउङ” भनेर चिनिने सीएसएटी विद्यार्थीहरूले उत्कृष्ट विश्वविद्यालयहरूमा प्रवेश पाउनको लागि लिने वार्षिक परीक्षा हो। यो प्रत्येक वर्ष नोभेम्बरको तेस्रो बिहीबार आयोजित गरिन्छ।
कोरिया जोङआङ डेलीका अनुसार, हाई स्कूलको अन्तिम वर्षमा अध्ययनरत वा हाई स्कूल उत्तीर्ण गरेका विद्यार्थीहरूले सीएसएटी दिन सक्छन्। आठ घण्टा लामो यो परीक्षामा पाँच विषयहरू हुन्छन्।
परीक्षाको समयमा खाना खाने कुनै पनि विश्राम हुँदैन। परीक्षा बिना कुनै अवरोध जारी रहन्छ र विद्यार्थीहरूलाई शौचालय प्रयोग गर्नको लागि मात्र आफ्नो सिट छोड्न अनुमति दिइन्छ।







डिसी नेपाल








Facebook Comment