२१ फागुनको निर्वाचनमा भाग लिने राष्ट्रिय मुक्ति पार्टी नेपालको निर्णय

डिसी नेपाल
२ मंसिर २०८२ १७:०५
12
Shares

काठमाडौं,। राष्ट्रिय मुक्ति पार्टी नेपालले २१ फागुनको प्रतिनिधिसभाको निर्वाचनलाई उपयोग गर्ने निर्णय लिएको छ । अध्यक्ष राजेन्द्र महतोको अध्यक्षतामा कार्तिक ३० गते केन्द्रीय कार्यकारिणी समिति र हिजो मंसिर १ गते केन्द्रीय समितिको बैठक बसेर यस्तो निर्णय लिएको हो ।

जेन–जी क्रान्तिपछि सिर्जिएको ऐतिहासिक संक्रमणकालीन अवस्थामा देशलाई वास्तविक परिवर्तन, संरचनागत सुधार र स्वदेशी मूल्यमा आधारित नयाँ राजनीतिक विकल्प प्रस्तुत गर्ने तथा राष्ट्रिय मुक्ति क्रान्तिको कार्यदिशा अनुरुप मुक्तिको निम्ति वास्तविक दिशा जनतामा पुर्याउन आसन्न फागुन २१ गतेको निर्वाचन उपयोग गर्ने निर्णय गरेको नेता केशब झाले जानकारी दिए ।

बैठकको निर्णयमा भनिएको छ,‘हाम्रो लक्ष्य केवल सत्तामा पुग्ने होइन, बरु औपनिवेशिक मानसिकता, एकल राष्ट्रियता र भ्रष्ट संरचनालाई विस्थापन गरी स्वदेशीय सभ्यता, बहुल सांस्कृतिक पहिचानमा आधारित संघीय संरचना, सुशासन र आर्थिक समृद्धिको नयाँ मोडल स्थापना गर्ने हो।’

सो दलले निर्वाचनमार्फत हामी उत्पीडित सबै सांस्कृतिक राष्ट्रहरू, युवा, महिला र सीमान्तकृत समुदायलाई एउटै राजनीतिक प्लेटफर्ममा संगठित गर्दै, संवैधानिक पुनर्लेखन र राज्य पुनर्संरचनाको लागि जनादेश लिनेछौं, राष्ट्रिय मुक्तिको संदेश जनजनमा पुर्याउने लक्ष्य लिएको छ । जेन–जी क्रान्तिले खोलेको शक्ति शून्यतालाई स्वदेशवादी वैकल्पिक शक्तिको रूपमा परिणत गर्ने आफूहरुको ऐतिहासिक दायित्व भएको उनको भनाई छ । झाले प्रतिनिधि सभाको निर्वाचनमा भाग लिने प्रयोजनको निम्ति निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय भएको पनि जनाए ।

राष्ट्रिय मुक्ति क्रान्ति सम्पन्न गर्न विचार, सिद्धान्त र मुद्दा मिल्ने पार्टीहरुसंग एकता, मोर्चा, चुनावी गठबन्धन बनाई अगाडि बढ्ने सन्दर्भमा विभिन्न पार्टीहरुसंग छलफल जारी नै रहेकोले यथाशिघ्र टुँगो लगाउने र सहमत हुने दलसँग सहकार्य गरि चुनावी प्रयोजनको लागि दल दर्ता पनि गर्ने भनेको छ । साथै, अन्य पार्टी र मोर्चाहरुसंग चुनावी तालमेल पनि गर्ने सो दलको निर्णय छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.