हेटौंडा सडक विस्तार योजना कार्यान्वयनतर्फ, स्थानीय तह र केन्द्रबीच सहमति

डिसी नेपाल
६ मंसिर २०८२ १०:१२
40
Shares

हेटौंडा । लामो समयदेखि अधुरो र अलपत्र अवस्थामा रहेको हेटौंडा बजार क्षेत्रको सडक विस्तार प्रक्रिया फेरि एकपटक तीव्र गतिमा अघि बढ्ने संकेत देखिएको छ। हेटौंडाका स्थानीय तहका जनप्रतिनिधि, प्रशासन र सरोकारवालासँगको विस्तृत छलफल पछि शहरी विकास तथा पूर्वाधार मन्त्री कुलमान घिसिङले दिएको निर्देशनपछि सडक डिभिजन कार्यालय हेटौंडाले सडक सीमा खाली गराउने सूचना जारी गर्ने अन्तिम तयारी पूरा गरेको छ।

छलफलमा सहभागी प्रतिनिधिहरूले दशकौँदेखि थन्किएको सडक विस्तार, अव्यवस्थित संरचना र त्यसका कारण स्थानीयले भोग्दै आएका कठिनाइबारे विस्तृतरूपमा चिन्ता व्यक्त गरेका थिए। बैठकमा मन्त्री घिसिङले हेटौंडाको मुख्य व्यापारिक मार्गलाई दीर्घकालीन रूपमा स्तरीय, सुरक्षित र व्यवस्थित बनाउने योजनासह तत्कालीन चरणमा सडक सीमा खाली गराउने सूचना सार्वजनिक गर्नु अपरिहार्य भएको बताए।

‘हेटौंडाको सडक विस्तार अब कुनै बहानामा रोकिँदैन, बजेटको अभाव हुनुहुन्न,’ मन्त्री घिसिङले भनेपछि सडक डिभिजन कार्यालयले तयारी अवस्थामा राखिएको सूचना जारी गर्ने प्रक्रियालाई तीव्रता दिएको हो।

डिभिजन कार्यालयका अनुसार मन्त्रीस्तरीय निर्देशनपछि बजार क्षेत्रमा रहेका अवैध संरचना, अतिक्रमण र सडक किनारका अवरोध हटाउन अब कडाइका साथ अघि बढिनेछ। आवश्यकताअनुसार सर्वेक्षण, मापदण्ड निर्धारण र पुनःस्थापनासम्बन्धी काममा सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिने कार्यालयले जनाएको छ।

हेटौंडा बजार क्षेत्रमा २५२५ मिटर सडक चौडाइ कायम गर्ने योजनाले करिब ५० वर्ष पूरा गरिसक्दा पनि काम भने थलिएको अवस्थामा थियो। राजनीतिक परिवर्तन, नेतृत्वका प्राथमिकतामा फेरबदल र स्थानीय विरोधका कारण समयसमयमा पहल भए पनि विस्तारको काम अघि बढ्न सकेको थिएन। यसको प्रभाव यातायात जाम, दुर्घटनाको जोखिम वृद्धि र बजार क्षेत्रको भौतिक विकासमा प्रत्यक्ष परेको थियो।

तर यसपटक मन्त्री घिसिङको प्रत्यक्ष संलग्नता, बजेट सुनिश्चितताको घोषणा र स्थानीय तहसँग देखिएको एउटै धारको सहकार्यपछि हेटौंडावासीले सडक विस्तार अब वास्तवमै कार्यान्वयनमा जाने विश्वास लिएका छन्। सडक डिभिजन कार्यालयले पनि आवश्यक प्रक्रिया तत्काल अघि बढाइने जनाएसँगै हेटौंडा बजार क्षेत्रले नजिकैको भविष्यमा ठूलो भौतिक रूपान्तरण देख्न सक्ने संकेत प्रस्ट देखिन थालेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.