बाँसगढीमा प्राङ्गारिक मल कारखाना स्थापना
बर्दिया । देशभरी नै रासायनिक मलको अभावमा भइरहेको समयमा बर्दियाको बाँसगढी नगरपालिकाले प्राङ्गारिक मल उत्पादन गर्ने भएको छ।
आगामी बैशाख देखि प्रांगारिक मल उत्पादनको सुरुवात गर्ने गरी नगरपालिकाले मल कारखाना निर्माण गरिरहेको छ।
बाँसगढी नगरपालिका वडा नं ४ मदाहा नजिक रहेको गौशालाको छेउमा प्राङ्गारिक मल कारखाना निर्माणाधिन रहेको छ। नगरपालिकाको तीन करोड र प्रदेश सरकारको एक करोड गरि जम्मा चार करोडको लगानीमा प्राङ्गारिक मल कारखाना निर्माण थालिएको हो।
२०८१ फागुन देखि निर्माण सुरु गरिएकोमा आगामी चैत महिना सम्म निर्माण सम्पन्न हुने छ। आगामी बैशाख देखि उत्पादन सुरु गरि धान र मकैको सिजनमा कृषकहरूलाई मल उपलब्ध गराउने योजना रहेको बाँसगढी नगरपालिकाका नगरप्रमुख खडकबहादुर खड्काले बताए।
नगरपालिका भित्र कृषकहरूलाई सहुलियत मुल्यमा मल उपलब्ध गराउने र मल बचेमा अरु छिमेकी नगरपालिकामा पनि बिक्रि गर्ने उनले बताए।
कारखानाका लागि आवश्यक पर्ने गोबर गौशालाबाट उपलब्ध हुने, गौशालाले नपुगेको गोबर विभिन्न फर्मबाट खरिद गरिने योजना छ। थप कच्चा पदार्थका लागि विभिन्न सामुदायिक वनबाट झारपात ल्याएर मल बनाउने योजना रहेको नगरप्रमुख खड्काले बताए।
कारखाना सञ्चालन पछि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा युवाहरूले रोजगारी पाउने छन्। घरगाउँमा खेर गईरहेका, सामुदायिक वनमा रहेका घाँस र झारपात संकलन गरेर कारखानामा बिक्रि गरेर पनि नगरबासी स्वरोजगार बन्ने छन्। बाँसगढी नगरपालिकामा उत्पादन हुने कुहिने फोहोर पनि संकलन गरेर कारखानामा खपत गरिने उनले बताए।
कारखाना नगरपालिका, नगरपालिका भित्रका सहकारी र नगरबासीहरू मिलेर सञ्चालन गर्ने योजना बनाईएको छ। ‘सञ्चालनका लागि कार्यविधि समेत बनाउँदै छौँ,’ नगरप्रमुख खड्काले भने, ‘कार्यविधि बनाएर व्यवस्थीत रुपमा कारखाना चलाउने योजना रहेको छ।’ सुरुमा दैनिक पाँच हजार मेट्रिक टन प्राङ्गारिक मल उत्पादन गर्ने योजना रहेको छ।
नेपाल सरकारले पठाउने रासायनीक मलमा मात्र भर पर्दा कृषकहरूले दुःख पाइरहेका छन्। पर्याप्त मात्रामा रासायनिक मल नहुँदा खाद्यन्न उत्पादन घट्दो छ। पछिल्लो समयमा गाइबस्तु पाल्ने कृषक कम हुँदै गइरहेका र प्राङ्गारिक मलको अभावले खेतबारीको गुणस्तर घट्दै गइरहेको हुँदा कारखाना स्थापना गरि मल उत्पादन गर्न लागिएको बाँसगढी नगरपालिकाकी नगर उपप्रमुख इन्दिरा चौधरीले बताए।
उनले मल कारखाना स्थापना गर्नुको मुख्य उद्देश्य भनेको कृषकलाई आग्र्यानिक खेती तर्पm आर्कषित गर्नु पनि हो। मल उत्पादन पछि विस्तारै अर्गानिक विषादीहरू पनि उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए।
प्राङ्गारिक मल कारखाना सञ्चालन भएपछि नगरपालिकाभरी मलको अभाव नहुने र नगरबासीलाई रोजगारी पनि हुने बाँसगढी नगरपालिका वडा ४ मदाहाका भगवती थारूले बताए।
‘लामो समय पछि नगरपालिकाले राम्रो काम गरेको छ’ उनले भने, ‘अब नगरपालिका आग्र्यानिक कृषी खेतीतर्फ अगाडि बढ्छकी भन्ने आशा जागेको छ।’







डिसी नेपाल







Facebook Comment