अमेरिकाबाट धुर्मुस-सुन्तलीलाई विशेष सन्देश
आदरणीय कुञ्जना भाउजु,
सद्भाव र मातृवत् नमस्कार।
म नोभेम्बर १९ को दिन-हाम्री प्रिय आमा मनमाया मैनाली सिटौलाको ९६औँ जन्मोत्सव-नेपालका आदरणीय परिवारजन, आफन्त, मित्र तथा वरिष्ठ साहित्यकारहरूसँग भर्चुअल रूपमा अत्यन्तै हर्षोलासका साथ मनाउँदै थिएँ।
९६ वर्ष पुग्दा पनि आमा अझै हाँसिरहनुभएको छ, जीवनको आशीर्वाद जस्तै-त्यसैले त्यो दिन मेरो मनमा अपार खुशी थियो। हजुर स्वयं एक असल आमा हुनुहुन्छ भनेरै, आदरणीय साहित्यकारज्यूहरूले आमाबारे व्यक्त गर्नुभएको पवित्र साहित्यिक भावना यहाँसम्म पुर्याउन र हाम्री आमा सहित सबै माताहरू र विशेष ९० वर्ष नाघ्नुभएका सबै जननीहरूलाई दीर्घजीवन, अपार कृतज्ञता, हार्दिक प्रेम–स्नेह अर्पण गर्ने सौभाग्य सबैलाई मिलोस् भनी, उक्त पवित्र कार्यक्रमको अभिलेख यहाँ समावेश गर्न विनम्रतापूर्वक अनुरोध गर्दछु।
उक्त दिन साँझ म कामबाट फर्कँदा, तपाईंले “धुर्मुसको अब बाँकी जीवन बचाउने जिम्मा हजुरहरूको” भनेर फेसबुकमा लेख्नुभएको स्टाटसले बिहानको उत्सव र हर्षलाई एकाएक निस्तब्ध बनाइदियो। एक आमाको जन्मदिन मनाउँदै गर्दा अर्को आमाको पीडा देखेपछि मेरो मन स्तब्ध भयो, अत्यन्तै गहिरो चोट लाग्यो।
हृदय एकैपटक गदगद र विदीर्ण दुवै बन्यो। त्यही क्षण मैले महसुस गरें-धुर्मुसको पीडा, एउटा कलाकारको अन्तर्नाद मात्रै होइन, एउटा आमाको आर्तनाद,एउटा छोरीको भविष्य,एउटा परिवारको सपनाको चिरा, एउटा राष्ट्रका युवाको भरोसा र एउटा देशको आत्मा हो-जो ठेस खाएर लडिरहेको छ।
त्यो स्टाटस पढ्दा, मैले केवल एउटा सीतारामको काँपिरहेको हात देखिनँ, उसको लरबरियाको बोली सुनिन, केवल एउटा पुरुषको असहायता, एउटा कलाकारको निराशा देखिनँ, मैले हजारौँ धुर्मुसहरूको पीडा देखेँ-भरोसा हराएका हजारौँ कुञ्जनाहरूको आँसु देखेँ, एउटा आमा रोइरहेकी देखेँ, एउटी बालिका अनायसै पीडित भएकी र उनीमाथि अन्याय भएको देखे, एक राष्ट्र अत्यन्तै अफ्ठ्यारो मोडमा उभिएको देखेँ।
त्यही क्षण, तपाईंको पुकार केवल तपाईंको घरको कथा नभएर- नेपालको सामूहिक पीडा, सामूहिक आर्तनाद हो भन्ने अनुभूति भयो। कोही अगाडि आएर “कसैको जीवन बचाइदिनुस्” भनेर पुकार गर्दा, त्यसलाई मर्म, धर्म, कर्म र सत्कर्म ठानेर मेरो हात र साथ दिनु मेरो मानवता हो भन्ने ठाने ।
हजुरको यो पुकारलाई अनुभूति गर्नुको अर्थ-एक नारीको जोडभरी उठेको वेदना सुन्नु हो,
उनको मौन चीत्कारभित्र लुकेको सत्यलाई छुनु हो। यो अनुभूति गर्नु भनेको एक आमालाई बचाउनु हो,एक छोरीलाई अँगालो हाल्नु हो-जो भोलिको आमा बन्नेछिन्,भोलिको परिवार, भोलिको समाजको उज्यालो बन्नेछिन्, विश्वकी नायिका बन्ने छिन् ।
यसलाई बुझ्नु भनेको एक परिवारको संरक्षण गर्नु हो, त्यो परिवारको हाँसो-खुसी सुरक्षित गर्नु हो,
एक सपनालाई बाँच्न दिइरहनु हो। यो पुकारलाई उत्तर दिनु भनेको देशको एउटा युवालाई बचाउनु हो र त्यसैसँग एक देशलाई पुनर्जन्म दिनु हो। तर त्योभन्दा पनि ठूलो अर्थ- एक जीवनलाई बचाउनु हो,र त्यसभन्दा पनि उच्च-मानवताको मूल आत्मालाई पुनः जागृत पार्नु हो।
हजुरको यो विनम्र पुकार करोडौँ धुर्मुसझैँ मौन बनेर हराउँदै गएका आशाहरू, उत्साहहरू, सपनाहरू लाई फेरि एकपटक गौरवशाली नेपाल अधिराज्यलाई उठाउने बिउँझाउने शक्ति बन्न सक्छन् भनेर साथ दिनु हो।
आदरणीय सीताराम कट्टेल ‘धुर्मुस’ज्यू, नमस्कार !
यो पत्र म तपाईंलाई ‘कसैको शुभचिन्तक’ भएर होइन, एक मित्र भएर लेख्दैछु-
किनकि पीडामा रोइरहेको जीवन कुनै एक व्यक्तिको मात्र हुँदैन, त्यसको कम्पन हजारौँ मनसम्म पुग्छ।
आज मङ्सिर ३ गते, म आफ्नै ९६ वर्षे आमाको जन्मोत्सव मनाउँदै गर्दा अर्को आमाको वेदना, अर्को घरको अन्धकार, अर्को जीवनको डिलमा उभिएको पीडा मेरो छातीमा ठूलो भार भएर आएर बसेको छ।
जब मैले तपाईंको त्यस्तो अवस्था- हात काँपिरहेको, आँसु झरिरहेको, भित्रैदेखि थाकिएको, जीवनसँगको युद्ध लडिरहेको दृश्य देखेँ- मेरो आत्मा काँप्यो। भाउजु कुञ्जनाको एक वाक्य, “अब बाँकी जीवन बचाउने जिम्मा हजुरहरूको।” यो केवल एउटा पत्नीको कथन थिएन, यो नेपाल राष्ट्रले, नेपाल आमाले आफ्नो युवा छोरा प्रति व्यक्त गरेको करुण पुकार थियो। तपाईंको पीडा केवल व्यक्तिगत होइन-आध्यात्मिक उद्देश्य बोकेको पीडा हो।
तपाईँलाई सार्वजनिक रुपमा तपाईँको बाँकी जीवन बचाउने जिम्मा लगाएपछि तपाईँ एउटा मित्र र असल नेपाली नागरिकको हैसियतले नाताले त्यसलाई ग्रहण गर्नु मेरो पनि जिम्मेवारी मैले ठानेको छु। यस परिस्थितिमा तपाईँलाई मैले जानेको कुरा बताउनु मेरो कर्म- धर्म ठानेको छु।
हे मित्र,
मान्छे जब गहिरो पीडामा पर्छ, भित्र कुण्ठित भएका चेतनाका ढोका खुल्छन्, अहंकार भत्किन्छ, आत्मा चिरिन्छ, अनि त्यही चिराइभित्र ईश्वर मुस्कुराइरहनुभएको हुन्छ। अनि आफ्नो स्वरूपलाई पहिचान गरिन्छ, आफ्नो ब्रह्मा स्वरूपको स्मरण र आफ्नो अस्तित्वको बोध हुनेछ ।
हो जीवनमा कहिलेकाहीँ मनुष्यलाई नरकजस्तो अन्धकारमा लगेर उभ्याइन्छ जहाँ श्वाससँगै चेतना कुर्लन्छ, जहाँ मौनता नै उपदेश बन्छ र जहाँ पीडाको गर्भभित्र प्रवेश गरेपछि मात्र
मानव ईश्वरसँग भेटिन्छ। तपाईँ अहिले त्यही गर्भमै हुनुहुन्छ-जहाँबाट मानिस बिग्रिँदैन,
पुनर्जन्मिन्छ- हो त्यहाँ पीडा-दण्ड हुँदैन, पीडा-जागरण हुन्छ, आशीर्वाद हुन्छ। आपत्ति-विपत्तिले तपाईँलाई आफ्नो विस्मृत दिव्यता सम्झाइरहेको सम्झाइरहेको हुन्छ, तपाईँको अग्नि परीक्षा लिइरहेको हुन्छ। पीडा कहिल्यै शत्रु हुँदैन पीडा तपाईँका अन्तर्महापुरुष जागाउने शिक्षक-गुरु बनेर आएको हुन्छ ।
रामायणका हनुमानजस्तै तपाईं पनि आफ्नो शक्ति बिर्सिनुभएको छकि?
हनुमानले पनि बाल्यकालको श्रापले आफ्नै शक्ति बिर्सेका थिए। जाम्बवनले “तिमी सूर्य समाउन उडेको छोरो हौ” स्मरण गराएपछि हनुमान विराट बने-आकाश छोए, समुद्र टेके, पवनको गति बने, लङ्कामा चमत्कार गरी लंक विजयको नेतृत्व गरे।
आकाश छोएर फर्कन सक्ने सामर्थ्य भएका हनुमान, पवनको वेगभन्दा पनि तीव्र गतिले अगाडि बढ्न सक्ने हनुमान, हजारौँ सूर्यजस्तै तेज र ऊर्जा बोकेका हनुमान वनजंगल र समुद्र किनारमा बसेर आफूलाई सिर्फ एक सामान्य बाँदर ठान्नुभएका हनुमानजस्तै हामीले पनि आफ्नै असिम शक्ति, क्षमताहरू विस्मृतिको बालुवामा गाडिदिएका छौँ। जीवनमा महासागर-समुद्र पार गर्नु कठिन हुँदैन, कठिन त केवल स्मरण गर्नु हो, तपाईँ को हुनुहुन्छ?
हो सत्य त यही हो-हामी त्यति साधारण छैनौँ, हाम्रो भित्र अनन्त उज्यालो, अनन्त गति,
अनन्त साहस रअनन्त सम्भावना निदाइरहेको छ। हामीले केवल त्यसलाई सम्झनुपर्छ,
जागृत पार्नुपर्छ र विश्वासका पंख दिएर उड्नुपर्छ। ती सबै शक्ति, साहस र क्षमता आज पनि हाम्रो भित्रै कहाँ हराएको छैन। किनकि हनुमानको कथा केवल साधारण कथा होइन-उनी हामीभित्र सुतेको महाशक्ति फिर्ता सम्झाउने जीवित प्रेरणा हुन्-हाम्रा प्रत्येक स्वासमा बसिरहेका छन्।
हे परम मित्र ! तपाईंको क्षमताको स्मरण गराउने प्रयत्न गर्दैछु।
तपाईँको जीवनमा पहिलो घटना अवश्य होला कुनै क्षण, कुनै व्यक्ति, कुनै परिस्थिति जहाँ तपाईंले कलाकार बन्ने बिउ रोपिएको थियो, सपना जागेको थियो, जहाँ तपाईंलाई कलाकारिताको “क” पनि थाहा थिएन सायद तपाईं थाहै नपाई अरुलाई हँसाउनुहुन्थ्यो, प्रेरित गराउनुहुन्थ्यो, खुसी बनाउनुहुन्थ्यो।
तपाईंको रगतमा, तपाईंको भावनामा, तपाईंको जिनमा सायद त्यही बगिरहेको थियो। हाँसोले सितारामलाई धुर्मुस भनेर सम्बोधन गरिरहेको थियो, बोलाइरहेको थियो- कुनै क्षणमा तपाईंको हृदयले सुन्यो, तपाईं सम्झनुस् तपाईंले पहिलो पल्ट सफलता पाएको क्षण, कलाकारिता गर्दाखेरि सेवा र मेवा दुईटै प्राप्त हुँदो रहेछ भन्ने विश्वासभन्ने विश्वास अनि तपाईंले जुन दिन आफ्नो सम्पूर्ण जीवन कलाकारिताका पवित्र धुन, रंग र प्रकाशमा समर्पित गर्ने निर्णय गर्नुभयो, त्यसै दिन तपाईंको जीवनले सायद नयाँ मोड लियो।
त्यही बाटोमा तपाईंले भेट्नुभयो तपाईंको जीवनसाथी कुञ्जनालाई, जसको सहारा, माया र आस्थाले तपाईंको हरेक संघर्षलाई सहज र सफल बनाउँदै लग्यो, धुर्मुस-सुन्तलीको जोडीले देशलाई सफा गर्ने, समाजलाई चेताउने, राष्ट्रलाई जोड्ने, देश-विदेशका लाखौँ को लागि आशा, आवाज, प्रेरणा र हृदय बनेको छ।
त्यही यात्रामा तपाईंले भेट्नुभयो आफ्नै जस्तै सपना बोकेका साथीहरू, जसले तपाईँलाई साथ मात्र दिएनन्, जीवनभरि सम्झनलायक आत्मीयता उपहार दिए। त्यही यात्रामा तपाईँले पाउनुभयो एक नयाँ परिवार, जसले तपाईंलाई आफ्नो अङ्गालोमा राखेर आदर, माया र पहिचानको वास्तविक अर्थ सम्झाइदियो। त्यही यात्रामा नै तपाईंले भेट्नुभयो जीवनका कठिनतम क्षणमा पनि तपाईंलाई उठाइदिने हातहरू, आश्वासन दिन सक्ने मनहरू, आत्मा छुने सहाराहरू।
त्यही बाटोमा तपाईंले भेट्नुभयो तपाईंले खोजिरहनुभएको जीवनको सपना, जीवनको अर्थ, लक्ष्य र प्रकाश। त्यही यात्रामा तपाईंले भेट्नुभयो लाखौँ–करोडौँ दर्शकहरू, जसका हाँसो, खुसी, आँसु, अपेक्षा र आशीर्वाद तपाईंको जीवनभरि साथ बनिरहे। त्यसो त तपाईंले भेट्नुभएको सबैभन्दा ठूलो खजाना एउटा दुखेको समाजलाई हाँसो र खुसीको मलम लगाउने अपार तपाईँको प्रतिभाशाली क्षमता नै हो।
अन्ततः, तपाईंले रोप्नुभएको त्यही वृक्ष एक दिन फलिदैँ आइरहेको छ – तपाईंकी छोरी सुबिहानी बनेर, उनको मुस्कान, संस्कार, आवाज, प्रतिभा र उज्यालो तपाईंको जीवनको कृतित्वको प्रत्यक्ष प्रमाण बनेर चम्किरहेको छ।
अब… जब जीवनले विस्तारै कुनै समयमा विदाइको संकेत दिनेछ, त्यसैले एक अत्यन्तै गहिरो प्रश्न तपाईंले आफैँलाई सोध्नैपर्छ- “मैले कलाकारिताको जगतलाई के उपहार दिएर जाने? मैले रोपेको वृक्षलाई अझ कसरी फलदायी बनाएर छोड्ने? र मेरो जीवनको अन्तिम सुरले मानवताको हृदयमा के सन्देश गुञ्जिन चाहन्छ?” यही प्रश्नले नै तपाईंको अन्तिम उत्तर, अन्तिम कृति,अन्तिम विरासत निर्णय गर्नेछ, तर बाँकी जीवनको लागि तपाईंको नयाँ सुरुवात हुनेछ, जसले अन्तत अन्तिम विरासतमा नै लानेछ।
यही प्रसङ्ग आज मेरो मनमा कति बलियो गरी उठ्यो! हे मित्र, तपाईं पनि आफ्नो स्वरूप सायद बिर्सिनुभएको छ। नेपाली जनताको हाँसो अभावमा आशा-बीउ रोप्ने हात, देश बनाउने साहस-यी सबै तपाईं भित्रै छन्। पीडाले तपाईंलाई नष्ट गर्न हैन-आपैँलाई पहिचान गराउन आएको हो। तपाईंको जीवनयात्रा-पतनको कथा होइन, पुनर्जागरणको प्रस्तावना हो ।
फेरि एकपल्ट स्मरण गर्नुहोस्- पहिलोपटक कसरी कलाकार बन्ने सपना उम्रिएको थियो? कसरी एउटा सामान्य केटा जनताको प्रिय “धुर्मुस” बन्यो? कसरी तपाईंको हाँसोले देशका अनगिन्ती दुखी मुटुहरूमा मलम लगायो? कसरी तपाईं दुईजना कुञ्जना र तपाईं राष्ट्रिय कलाकार हुँदै एउटै आत्मा बनेर राष्ट्रिय अभियन्ता बन्नुभयो?
कसरी तपाईंले “फोहोर सफाइ” मात्र होइन, देशको चेतनाको सफाइ, मानिसको चेतनाको सफाई, विकृतिको सफाई भन्नुभएको थियो अनि सपना देख्नुभयो? यी सबै कुरा संयोग थिएनन्। यिनीहरू दैवी योजना-आपैँलाई ठूलो काममा परिचालन गर्ने ब्रह्माण्डीय प्रक्रिया थिए।
त्यही बीचमा दुखेको देशलाई उठाउने प्रयास गर्नुभयो, खेलकुद जगतबाट नेपालको नयाँ पहिचान बनाउने सपना देख्नुभयो, काम गराइमा कमी कमजोरी अवश्य भयो होला, तर पक्कै पनि तपाईंको खराब नियत थिएन तपाईँलाई सहयोग गर्ने नानीहरू, आमाहरू, संसारभरिका दुःख गरिरहेका नेपालीहरूलाई मन दुखाउने, अपमानित बनाउने र दुःखी बनाउने चाहना तपाईंको पक्कै थिएन । यदि कमी कमजोरी भएका छन् भने ती सबै कमी कमजोरीहरुलाई सार्वजनिक गराइदिनुहोस्।
यसले तपाईंको उचाइलाई अझ माथि लानेछ र तपाईंको आत्मा सन्तुष्टि मिल्नेछ तपाईँ झन् उत्कृष्ट र विश्वासी नागरिक मा सम्मानित हुनुहुनेछ । शुद्ध मन र सच्चा उद्देश्यले मानिस कहिल्यै गिज्झिँदैन, उठ्छ !
अरुलाई गाली गरेर होइन सकारात्मक सोच, कर्म र समाजसेवाबाट पनि परिवर्तन सम्भव छ भन्ने कुरा तपाईँले देखाउन खोज्नुभयो, सरकारलाई सहयोग, राष्ट्रलाई सहयोग गर्नको लागि राजनीति नै गर्नु पर्दैन सामाजिक अभियन्ता बनेर पनि समाज राष्ट्र र नेपाली पहिचानलाई माथि उठाउन सकिन्छ भनेर विश्वास गर्नुभयो।
एउटा बृहत राष्ट्रिय परियोजना नागरिकले पनि सुरु गर्न सक्छ सरकार, देश र भविष्यलाई सहयोग गर्न सक्छ भनेर हिम्मत गर्नुभयो । आउने नयाँ पुस्ताहरूलाई प्रेरणा सन्देश र उदाहरण दिन खोज्नुभयो ।
अब तपाईँले यहाँसम्म गरेको प्रगतिलाई भरतपुर नगर पालिकाले निरन्तरता दिएर योजना सम्पन्न गर्न पु:न विनम्र अनुरोध गर्दै जुन कारणको लागि तपाईँको अभियानलाई निरन्तरता दिन(ऋण तिर्न) बजेट निकासा भएको छ कानुनी प्रक्रिया पुर्याएर एउटा असल नागरिकको राष्ट्रको गौरवता उठाउने प्रयासलाई अवश्य सहयोग गर्ने छ भन्ने कुरामा विश्वस्त हुनुहोस्।
भरतपुर मेयर माननीय रेनु दाहाल र उहाँको प्रशासनले गरेको सहयोगप्रति तपाईं कृतज्ञ बन्नैपर्छ र अवश्य पनि उहाँहरुले तपाईंलाई अन्याय गर्नुहुन्न भन्ने कुरामा विश्वस्त हुनुपर्छ, भरतपुर नगर जनताबासीहरू प्रति कृताज्ञ भनेर, नेपाल सरकारले तपाईँलाई तिर्न दिएको ऋणप्रति फेरि पनि आभार व्यक्त गरेर, तपाईँलाई सहयोग गर्ने सबै सबै देशविदेशका मनकारीहरूलाई पुन हृदयबाट धन्यवाद ज्ञापन गर्दै चाँडै आफ्नो क्षेत्रमा फर्किनुहोस् जहाँबाट तपाईँ फेरि सफलताको शिखरमा चढ्दै अधुरो गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई पनि पूरा गर्न तपाईँले सक्ने लाई केही थप सहयोग सहयोग गर्न सक्नुहुन्छ।
तपाईंको अनुभवबाट यस्ता रंगशालाहरु भविष्यमा सामूहिक प्रयासबाट नेपालका अन्य क्षेत्रहरूमा पनि स्थापना गर्न सकिनेछ र नेपाली क्रिकेट जगतलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सहयोग गरेर खेल र खेलाडी खेलाडीहरूको लागि नयाँ ढोका खुल्न सक्नेछ । कुनै दिन अवश्य आउनेछ नेपाल टिमले विश्वकप लिएर देशलाई गौरवान्वित बनाएर विश्वलाई नेपाल र नेपाली जातिको थप परिचय दिनेछ।
तपाईँलाई एउटा कुरा स्मरण गराएर यो पत्रबाट बिदा माग्ने तयारी गरिरहेको छु।तपाईँसँग पहिलो पल्ट चिन्ने र भेट्ने अप्रिल २०१५ जब तपाईं अमेरिकाको सरसफाईको अभियान भ्रमणमा आउनुभएको थियो, तपाईँहरु लाई एक उदाउँदै गरेको हास्य कलाकार रूपमा सुनेता पनि मेरो मनपर्ने कलाकारको रुपमा तपाईहरु हुनुहुन्नथ्यो , जब तपाईँलाई डिसीबाट नजिकै मेरील्यान्डको एउटा होटेलमा तपाईं र कुञ्जना भाउजुलाई पहिलोपटक सामाजिक अभियन्ता परशु तिमिल्सिना चिनजानबाट देख्दा लाग्यो तपाईँहरू नेपाललाई सफा र सुन्दर नेपाल बनाउने सपना बोकेर हिँड्नुभएको जोशिलो युवा युवतीको रुपमा देखिनुहुन्थ्यो।
जब तपाईंको कुरा सुन्दै गए तपाईंले भन्नुभएको थियो यो सरसफाई काठमाडौँमा मात्र सिमित नरहेर, नेपालका अन्य सहर र गाउँहरूलाई , बाटाघाटामा बाथरुमहरु स्थापना गर्नेदेखि लिएर।
विविध योजनाहरू बताउनुभयो अनि भन्नुभयो “हामी सरसफाई गर्दै जाँदा देशमा भएको राजनीतिमा भएको फोहोरलाई पनि सफा गर्न सहयोग गर्छौं, समाजमा भएको भ्रष्टाचारलाई जस्ता फोहोरलाई पनि सफा गर्न सहयोग गर्छौं, त्यो हामीले विरोध गरेर होइन जब हामी एउटा कर्म गरेर परिवर्तन ल्याउँछौं राजनीति र भ्रष्टाचार आफै सफा हुनेछ”- तपाईँको यो विचार मलाई अचम्म लागेको थियो।
तपाईं भनिरहनुभएको थियो “फोहोर त हामीभित्र छ अरुलाई गाली गर्ने, नकारात्मक हुने, अरुको गल्ती कमजोरी मात्र देख्ने, रिस र डाहा गर्ने जब कर्मले यी कुराहरु सफा गरिन्छ सबैतिर परिवर्तन आउँछ”। तपाईँ भनिरहनु भएको थियो “मन सफा भयो भने देश आपै सफा हुन्छ, समाज सफा हुन्छ, संस्कार सफा हुन्छ, राजनीति सफा हुन्छ।
जब हामी हरेक कुराहरू आफू सकारात्मक बनेर गरिन्छ त्यसैले परिवर्तन ल्याउँदै जान्छ” मलाई यस्तो लागिरहेको थियो तपाईँ प्रेरणादायक व्यक्तित्व वा गुरु हुनुहुन्छ जहाँ मैले अध्यात्मको पनिअनुभूति गरिरहेको थिए, तपाईंका जीवन र देशप्रतिका अत्यन्तै सकारात्मक र देशभक्ति भावहरुले मलाई छोइरहेको थियो।
जब तपाईँले भन्नुभयो “अनि केवल सक्दैनौ सक्दैनौं मात्र भनेर बसिरहन्छौँ, हामी गरिब छौं, सम्भावना छैन, भूपरिवेष्ठित छौं त्यही मात्रै भनेर बस्यौ भने हामी काहीँ पनि जान सक्दैन, खटेर काम चाहिँ गर्दैनौ पसिना चाहिँ बगाउन डराउँछौँ।“ त्यही “ हामी भूपरिवेष्ठित छैनौँ “ वाक्य नै मेरो जीवनमा एक प्रेरणादायी सन्देश बन्यो, तपाईँलाई भेटेर फर्किदा अत्यन्तै ऊर्जाशील आशावादी र सकारात्मक बनेर फर्किएको थिएँ ।
राति घर पुगेपछि तपाईंकै शब्द सापट लिएर “भविष्य भूपरिवेष्ठित छैन” मा कविता लेखे अनि तपाईँको विशाल कार्यक्रममा तपाईँ र कुञ्जना भाउजुलाई सामुन्ने राखेर त्यो कविता वाचन गर्ने सौभाग्य मिलेको थियो, मेरो जीवनमा पहिलो पटक म कवि हुँ कि को हुँ भनेर म भित्र घन्टी बजेको थियो !
तपाईँहरूलाई अवश्य स्मरण हुनुपर्छ वासिङ्टन डिसी-भर्जिनिया भएको कार्यक्रममा जब त्यो कविता सुनाए तपाईँ र कुञ्जना भाउजु दुवै जना अत्यन्तै प्रेरित र भावुक भएर धर्तीलाई ढोग्नुभएको थियो। मलाई अङ्कमाल गर्नुभएको थियो। मलाई नमस्ते गर्दै आँखाबाट आँसु बगाइरहनु भएको थियो, अनि मुस्काइरहनु भएको थियो।
आज कुञ्जना भाउजुको स्टाटस पढिसकेपछि त्यो कविता मेरो प्रथम कविताकृति हृदयका स्पन्दनहरु मा छापिएको थियो। आज पुस्तक खोलेर पढे तपाईहरूलाई हृदयबाट नै सम्झे, तपाईँ एउटा देशको जुझारु युवा बनेर लाखौं नेपालभित्र नेपाल बाहिरका युवाहरूलाई प्रेरणा दिने युवा कसरी सडकमा आज अलपत्र पर्न दिनुहुन्छ जसले नेपाल र नेपालीको भविष्यलाई नयाँ पहिचान दिने सपना र संकल्प बोकेको थियो, कविता दोहोर्याएर तेराएर पढे तपाईँलाई प्रष्ट रुपमा कवितामा देखे।
आज नोभेम्बरको १९, २०२५ मेरो आमाको शुभ-जन्मदिनको दिन यो पत्र लेख्न शुभारम्भ गरिरहँदा त्यो कविता पनि मेरो पुस्तकमा १९ नम्बरमा नै रहेछ।
तपाईँले हामीलाई डिसीमा भनेको झलझली याद छ- तपाईँले यहाँ कार्यक्रम गरिरहँदा जब नेपाल भुइचालाको प्राकृतिक प्रकोपमा रोइरहेको थियो- तपाईंले भन्नुभयो देश रोइरहेको बेला हामी हँसाउन सक्दैनौँ बरु नेपालै जान्छौं- रोइरहेको देशको आँसु पुछौँ।
पीडामा डुबेका हाम्रा दर्शकहरुलाई साथ दिन्छौं, भुइचालोले बनाएको फोहरलाई सफा गर्छौं; । सायद यिनै यिनै देशलाई उठाउने कुराहरूले तपाईँलाई झन् झन् हौसला मिल्यो-समाजसेवाको यज्ञमा पूर्णरूपमा होमिनुभयो ।
तपाईँलाई सफलताको बेला पनि सहयोग दिने र जीवनमा सबैभन्दा अप्ठ्यारो पर्दा सहयोग दिने सच्चा मित्रको रूपमा तपाईँलाई सहयोग गर्ने मन, हृदय र आत्माबाट संकल्प गरेको हो -तर तपाईँले पनि बुझेर उठ्ने संकल्प गर्नुभयो भने म जस्ता तपाईंका सहयोगी शुभचिन्तक मित्रहरु तपाईंको सहयोगको लागि धेरै लामबद्ध हुनेछन् किनकि तपाईं जनताको धड्कन हुनुहुन्छ।
आदरणीय सीताराम कट्टेल ‘धुर्मुस’ज्यू, एवं कुञ्जना घिमिरे “सुन्तली” ज्यू,
तपाईँहरू सफल बनिसकेको सम्मानित राष्ट्रिय कलाकार हुनुहुन्छ, फेरि प्रमाणित हुन जरुरी पर्दैन; त्यसैले धुर्मुस’ज्यूलाई बचाउनुको मतलब हो। तपाईँलाई कलाकार क्षेत्रमा पुन प्रवेश गराउन चाहिने
हर सहयोग म जस्ता तपाईंका शुभचिन्तकहरुले मिलेर गर्ने हो र म यही प्रतिबद्धता गर्न चाहन्छु।
कलाकार मात्र कलाकार हुँदैन, ऊ एउटा ‘राष्ट्रको हृदय’ हुन्छ, ऊ सधैँ राष्ट्रका गहना, प्रेरणाका स्रोत र समाजलाई उज्यालो बनाउने उज्ज्वल ज्योति हुन्छ ।
उनीहरू मानिसलाई सुख-शान्ति र आनन्द दिने तत्व-तत्त्व मात्र होइन, बोल्न नसक्नेहरूका मनका आवाज, पीडितका व्यथा बोकेर हिँड्ने संवेदना-दूत पनि हुन्।
कलाकार परिवर्तनका सन्देशवाहक, नयाँ चेतना र नवीन सिर्जनाका अग्रदूत, सांस्कृतिक सम्पदाका संरक्षणकर्ता र राष्ट्रिय पहिचानका धनी प्रतिनिधि हुन्।उनीहरू जीवन, हृदय र भावनालाई आनन्दित बनाउने सृष्टिका अमूल्य स्रष्टा, प्रेरणा, उत्साह र आशाका अनन्त स्रोत हुन्।
फेरि पनि तपाईँलाई ब्युझाउने उठाउने र तपाईँ तयार भएमा हनुमान बनाएर लङ्का पठाउन सहयोग गर्ने अथवा तपाईँलाई बचाउन के के गर्नुपर्छ अवश्य जानकारी गराउनुहोला, म जस्ता तपाईंका शुभचिन्तकहरू सर्वत्र छौँ । कुनै व्यक्तिलाई बचाउनु भनेको एउटा व्यक्तिलाई मात्र होइन-मानवतालाई बचाउनु हो। तपाईं अवश्य शक्ति पुनस्मरण गरेर मनलाई पहिला फर्काउनुहुनेछ ।
भावनामा बग्दा पत्र केही लामो अवश्य भयो, तर यसलाई मनन गरी पढिदिनुहुनेछ भन्ने पूर्ण विश्वास छ। हजुरको अमूल्य समयका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछु।
र,
नेपाल मातृभूमिप्रति, गौरवशाली नेपाली जातिप्रति हजुरले देखाउनुभएको अदम्य समर्पण, अनुकरणीय सेवा र अमूल्य बलिदानको लागि गहिरो सम्मान, हार्दिक अभिनन्दन र शत–शत कृतज्ञता व्यक्त गर्दछु।
हजुरजस्ता सपूतहरूको त्याग र दूरदृष्टिले नै जन्मभूमि नेपाल राष्ट्र उज्यालोतर्फ सदा अघि बढीरहोस्।
तपाईंकै प्रेरणाले १५ वर्ष अगाडि रचिएको यो कविता तपाईँ र कुञ्जना भाउजु र धेरै धेरै धुर्मुस सुन्तलीहरूलाई समर्पण गर्दै बिदा माग्दछु। आशा छ तपाईँहरूलाई सामुन्ने राखेर हिमालको चुचुरोमा सँगै उभिएर यो कविता वाचन गर्ने अवसर समयले मलाई प्रदान गर्नेछ।
भविष्य भूपरिवेष्ठित छैन
साथी,
एक रात म हिमालयको चुलीमा उभिएको थिएँ !
त्यहाँ हिमाल, सूर्य र चन्द्रमा आपसमा संवाद गरिरहेका थिए-
‘नेपालीहरू भन्छन्- हाम्रो नेपाल र हामी भूपरिवेष्ठित छ।’
तर हामी यहाँबाट स्पष्ट देख्छौँ-
एक पनि नेपाली भूपरिवेष्ठित छैन
नेपालीको सोच, चेतना र आकांक्षा असीम छन्
भूपरिवेष्ठित छैनन्
नेपालीको सपना, कल्पना र सम्भावनाहरूलाई कुनै भूगोलले बन्द गर्न सक्दैन।
तल कतै मानिसहरू अझै पनि भन्छन्-
‘हामी भूपरिवेष्ठित छौँ।’
तर माथिबाट हेर्दा हामी प्रष्ट देख्छौँ-
यदि उनीहरूले
आत्म-स्वाभिमान उठाए, चेतना जागाए,
नेपालीको जोस-जाँगर र आँट कुनै सिमानाले रोक्न सक्दैन,
नेपालीको प्रेम, सद्भाव र मित्रता-
भूपरिवेष्ठित छैन
उनका कदम, संगति र प्रगति-
भूपरिवेष्ठित छैन
नेपालीको सुख, शान्ति र समृद्धि-
भूपरिवेष्ठित छैन
अनि उनीहरूको एकता, राष्ट्रियता र आत्मगौरव-
कहिल्यै भूपरिवेष्ठित छैन ।
नेपाली वीरताको यश विश्वभर छरिएको छ,
गोर्खालीको साहस विश्वले नमन गरेको छ
त्यसैले म दृढ विश्वासका साथ भन्छु-
नेपालीको सम्भावना विशाल आकाशजस्तै असीमित छ-
जबसम्म एक नेपाली अर्को नेपालीप्रति
विश्वास, माया र सद्भावले जोडिन्छ
मन, वचन र कर्मले परहित चिताउँछ
तबसम्म नेपाल र नेपालीको वर्तमान
र भविष्य कहिल्यै भूपरिवेष्ठित हुन सक्दैन।
सुन साथी!
नेपाल र नेपालीको मन भूपरिवेष्ठित छैन
उनीहरूको हृदय, साहस र सपना भूपरिवेष्ठित छैन
उनका सन्तानहरूको भविष्य भूपरिवेष्ठित छैन
जब कलाकारहरू राष्ट्रनिर्माणका सहयात्री बन्छन्,
जब धुर्मुस–सुन्तलीजस्ता नागरिक
देशका घाउ चुम्न समाजसेवामा उत्रिन्छन्,
जब देशको मैला धोइदेने अभिलाषा बोकेर,
उनीहरू हातमा पानीका घैला थाम्दै सडकमा उत्रिन्छन्
जब सीताराम, कुञ्जना र असंख्य देशभक्तको आवाज
नेपाली हृदयमा प्रतिध्वनित हुन्छ-
तब नेपाल र नेपालीको भविष्य
कहिल्यै भूपरिवेष्ठित हुनेछैन।
मैले यो सत्य हिमालयमाथि सुनेको थिएँ-
आज यही सत्य म यहाँ, तपाईंको हृदयसमक्ष दोहोर्याइरहेको छु।
(धुर्मुस र सुन्तलीको प्रथम अमेरिका भ्रमणमा डिसी-भर्जिनिया मा आयोजित बृहत सरसफाइ अभियान कार्यक्रममा धुर्मुस-सुन्तली र सम्पूर्ण आदरणीय कलाकारहरूप्रति समर्पित कविता, अप्रिल २०१५)
















Facebook Comment