मुख्यसचिव अर्याल आजदेखि अवकाशमा

डिसी नेपाल
९ मंसिर २०८२ ६:४६
56
Shares

काठमाडौं। मुख्यसचिव एकनारायण अर्याल आजदेखि अनिवार्य अवकाशमा जाँदै छन्। उनले आजदेखि अनिवार्य अवकाश पाएसँगै सरकारले सोमबार मात्रै सुमन अर्याललाई नयाँ मुख्यसचिवमा नियुक्त गरेको हो।

विसं २०८१ भदौ १३ गते नेपालको निजामती सेवाको सर्वोच्च ओहोदाको रूपमा रहेको मुख्यसचिव पदमा उनी नियुक्त भएका थिए। मुख्यसचिवका रूपमा उनले देशको शासकीय मामिला, विकास व्यवस्थापन र सेवा प्रवाहको क्षेत्रमा महत्वपूर्ण काम भएको दाबी गरे।

उनको कार्यकालमा नीतिगत एवं कानुनी सुधारको नेतृत्व र सहजीकरणका कारण सार्वजनिक सेवा प्रवाह र विकास निर्माणमा देखिएको ढिलासुस्ती हट्न गई सहजीकरण भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

जेनजी आन्दोलनको व्यवस्थापन, विभिन्न पक्षसँग भएको वार्ता, संवाद र छलफलमार्फत मुलुकमा शान्ति र स्थायित्व कायम गर्न नेतृत्व प्रदान गरेको मुख्यसचिव अर्यालले स्पष्ट पारे। यस्तै, अनुपयुक्त कार्यविधि र मापदण्डहरूको खारेजी, सहकारी क्षेत्रमा देखा परेको समस्या समाधानका लागि प्राधिकरण गठन गरिएको छ।

एकीकृत सामाजिक सुरक्षा कार्यक्रमका लागि जैविक तथ्यांकको प्रयोगलाई उनको कार्यकालमा विशेष प्राथमिकतामा राखिएको थियो। त्यस्तै, ‘ग्रेलिष्ट’बाट बाहिरिन सुधारात्मक क्रियाकलापको कार्ययोजना निर्माण र कार्यान्वयनका लागि आवश्यक पहल गरिएको छ। योसँगै सरकारले पहिलो पटक सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाउने निर्णय गरेको छ।

सार्वजनिक सेवा प्रवाहका लागि विद्युतीय प्रणालीको उपयोग, अन्तरआवद्धता र रुपान्तरणमा जोड दिइएको छ। उनको कार्यकालमा सबै सेवाको सुरु बिन्दु राष्ट्रिय परिचयपत्रलाई बनाउनेगरी राष्ट्रिय परिचयपत्र नम्बरको आधारमा सेवाको प्राप्ति र उपयोग गर्न सक्नेगरी प्रणालीमा सुधारको काम भएको छ।

उनको कार्यकालमा अन्तर्राष्ट्रिय सहभागिता सहितको सगरमाथा संवादको सहजीकरण, नीति प्रयोगशाला अवधारणाको विकास र कार्यान्वयनमा विशेष जोड दिइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.