जेनजी प्रदर्शन छिचोल्दै महेश बस्नेत देश दौडाहमा
काठमाडौं। नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य महेश बस्नेत केही दिन यता देशका विभिन्न भूभागमा पुगिरहेका छन्। एमालेले युवा जागरण कार्यक्रम चलाइरहेको छ। उक्त कार्यक्रम अन्तर्गत सम्बोधन गर्न बस्नेत देशका विभिन्न भूभाग पुगिरहेका हुन्।
त्यसरी कार्यकर्तामाझ पुग्दा उनलाई सहज भने छैन। विभिन्न चुनौतिको सामना गर्नु परिरहेको छ। जेनजी आन्दोलनपछि ४ मंसिरमा बस्नेत पहिलो पटक काठमाडौं बाहिरको कार्यक्रममा सहभागी हुन बाराको सिमरा पुग्ने कार्यतालिका थियो।
तर, उनी त्यहाँ जान सकेनन्। बस्नेत बारा जाने भएसँगै एमाले र युवा संघका कार्यकर्ता उनको स्वागतका लागि सिमरा एयर पोर्ट जाने तयारीमा थिए। तर, जेनजी युवाहरूले बस्नेतको विरुद्धमा प्रदर्शन गरे। यसले दुई समूहबीच मुडभेडको अवस्था सिर्जना भयो।
जेनजी समूह, एमाले कार्यकर्ता र प्रहरी मुडभेडको अवस्थामा पुगे। अवस्था गम्भीर बनेपछि बारा प्रशासनले कर्फ्यू आदेश जारी गर्यो। यससँगै बारा उड्ने तयारीमा रहेका एमाले महासचिव शंकर पोखरेल र बस्नेत काठमाडौंमै रोकिए।
त्यसपछि उनी ७ मंसिरमा विराटनगर पुगे। सुनसरीको इटहरीमा भएको युवा संघ नेपालको प्रदेशस्तरीय जनजागरण सभालाई सम्बोधन गर्न उनी त्यहाँ पुगेका थिए।
त्यसक्रममा पनि उनले अवरोधको सामना गर्नुपर्यो। विराटनगर पुगेका बस्नेतमाथि दुई युवाले बेलुनको लोला हान्दै दुव्र्यवहार गर्ने प्रयास गरेका थिए। त्यसपछि विराटनगर र दुहबी हुँदै इटहरी जाँदै गर्दा पनि केही युवाले बस्नेतलगायत एमाले नेताविरुद्ध नाराबाजी गरेका थिए।
त्यस्ता घटनाका बाबजुद सभास्थल इटहरी आइपुगेका बस्नेतले सम्बोधन गर्दै एमाले नै समृद्ध नेपालको सपना पूरा गर्न सक्ने पार्टी भएको दाबी गरे। उनले विमानस्थलदेखि मार्गभर देखिएको आक्रमण प्रयास तथा विरोधप्रति आपत्ति जनाउँदै केही व्यक्तिहरू जेनजीको नाममा राज्यको कानून हातमा लिन खोजिरहेको आरोप लगाए।
‘कानून हातमा लिने र समान्तर राज्यको अभ्यास गर्ने कुरा कदापि स्वीकार्य हुँदैन। विराटनगरमा कांग्रेस शेखर गगन समूहको केटोले गाडीमा हान्न खोजेछ,’ उनले भनेका थिए।
त्यसपछि उनी ९ मंसिरमा सुर्खेतस्थित जिल्ला समन्वय समितिको सभा हलमा युवा जागरण कार्यक्रमलाई सम्बोधन गर्न पुगे। त्यसक्रममा पनि उनले अवरोधको सामना गर्नुपर्यो।
त्यहाँ पनि जेनजी समूहका आबद्ध केही युवाहरूले बस्नेतको विरोध गरे। हलमा कार्यक्रम चलिरहँदा बाहिर बस्नेतविरुद्ध नाराबाजी भइरहेको थियो। त्यस्तै आज बस्नेत धनगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न त्यसतर्फ प्रस्थान गर्दैछन्। उनी आउने खबर पाएपछि त्यहाँ पनि जेनजी युवाले प्रदर्शन गरिरहेका छन्।
जेनजी युवाहरूले बुधबार बिहान धनगढी बजारमा प्लाकार्डसहित उनी विरुद्ध प्रदर्शन गरेका हुन्।








डिसी नेपाल






Facebook Comment