जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स फरक रङका विशेष जर्सीमा देखिने

डिसी नेपाल
१० मंसिर २०८२ २०:१८
100
Shares

काठमाडाैं। काठमाडौँको कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को आगामी खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स आफ्ना नियमित जर्सीभन्दा फरक रङका विशेष जर्सीमा देखिने भएका छन्। वातावरण संरक्षणदेखि मानवीय संवेदनासम्मलाई समेट्दै यी जर्सीहरू विशेषरूपमा डिजाइन गरिएको हो।

अब हुने खेलमा पोखरा एभेन्जर्सका खेलाडीहरूले हरियो जर्सी लगाउनेछन्, जसमा ‘ग्लासियर्स म्याटर’ अर्थात् हिमनदीहरु महत्त्वपूर्ण छन् भन्ने सन्देश प्रवाहित हुनेछ।

नेपाल जलवायु जोखिममा रहेको एउटा उच्च संवेदनशील मुलुक हो। गण्डकी र पोखराको पहिचान हिमाल, हिउँ र प्राकृतिक सौन्दर्य हो। त्यसैले यसलाई जोगाउनु हाम्रो नैतिक जिम्मेवारी हो भन्ने उद्देश्यका साथ हिमनदी संरक्षण अभियानलाई जोड दिन ‘ग्लासियर्स म्याटर’ सन्देशसहित जर्सीको डिजाइन गरिएको पोखरा एभेन्जर्सका अध्यक्ष सुवोध त्रिपाठीले बताएका छन्।

जलवायु परिवर्तनले हिउँ पग्लिने, नयाँ हिमताल बन्ने, हिमालको आकार ठूलो हुने र हिमताल फुटेर बाढी आउने जोखिमसमेत बढेको यस अवस्थामा जलवायु परिवर्तनको चेतनालाई प्राथमिकता दिन उक्त जर्सी तयार गरिएको हो।

यसैगरी जनकपुर बोल्ट्सका खेलाडीहरू गुलाबी जर्सीमा देखा पर्नेछन्, जुन सम्पूर्ण आमाहरूप्रति समर्पित हुनेछ।

खेलपछि दुवै टोलीका जर्सीहरू च्यारिटी अक्सनमार्फत बिक्री गरिनेछन्। उक्त अक्सनबाट संकलित रकममध्ये पोखरा एभेन्जर्सका जर्सी बिक्रीबाट उठेको रकम ग्लासियर्स म्याटर जागरण अभियानमा खर्च गरिनेछ।

यस्तै जनकपुर बोल्ट्सका जर्सीबाट उठेको रकम गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सन्तान गुमाएका आमाहरूको सहयोगका प्रदान गरिनेछ। यस अभियानले खेलकुदमार्फत सामाजिक उत्तरदायित्वलाई थप सुदृढ पार्ने विश्वास लिइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.