सबै तहका समितिहरुको म्याद ६ महिना थप गर्ने राप्रपाको निर्णय

डिसी नेपाल
११ मंसिर २०८२ १७:५३

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै तहका समितिहरुको म्याद ६ महिना थप गर्ने निर्णय गरेको छ।

बिहीबार काठमाडौंमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्वाचनका कारण पार्टीको महाधिवेशन तत्काल गर्न सम्भव नभएकाले सबै तहका समितिका सदस्यहरु र परिषद् सदस्यहरुको म्याद ६ महिना थप गर्ने निर्णय गरेको हो।

बैठकले निर्वाचनपछि महाधिवेशन गर्ने गरि कार्यतालिका तयार गरि आगामी बैठकमा पेश गर्न पार्टीका उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री डा धवल शम्शेर राणा र सहमहामन्त्री प्रकाश रिमाल रहने गरि समिति गठन गरेको छ भने निर्वाचन र पार्टीको महाधिवेशनलाई मध्यनजर गर्दै हाल प्रक्रियामा रहेको पार्टीभित्रको कारवाहीको प्रक्रियालाई स्थगन गर्ने निर्णय गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।

त्यसैगरि समान विचारधारा भएका पार्टी, अभियान, समूह तथा परिवर्तनकारी युवाहरुलाई एकीकृत गर्न वरिष्ठ उपाध्यक्ष बिक्रम पाण्डे, बुद्धिमान तामाङ र ध्रुव बहादुर प्रधान रहेका वार्ता समिति गठन गर्ने निर्णय भएको उनले बताए। बैठकले पार्टीका मधेश प्रदेशसभा सदस्य कन्चन बिच्छालाई ६ महिनाका लागि साधारण सदस्यबाट निलम्बन गर्ने र प्रदेश सभा सदस्य तथा मन्त्री पदबाट फिर्ता हुन निर्देशन दिइएको अध्यक्ष लिङ्देनले जानकारी दिए।

बैठकले संवैधानिक राजसंस्था, हिन्दु राष्ट्र पुनस्थापना, संघीयता खारेजी लगाएतका विषयमा तत्काल समाधान खोज्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने निर्णय समेत गरेको छ भने आफ्ना मुद्धा स्थापीत गराउन मंसिर २२ गते उपत्यका व्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.