प्रतिनिधिसभाको निर्वाचनमा सक्रिय रुपमा सहभागी हुन एमालेलाई प्रधानमन्त्रीको आग्रह

डिसी नेपाल
११ मंसिर २०८२ १९:४५
48
Shares

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सक्रिय रुपमा सहभागी हुन एमाले नेताहरुलाई आग्रह गरेकी छन्।

बिहीबार प्रधानमन्त्री निबास बालुवाटारमा एमालेका नेताहरुसंग छलफल गर्दै प्रधानमन्त्री कार्कीले तोकिएको समयमा नै निर्वाचन गर्न सरकार गम्भिर भएर लागेको भन्दै निर्वाचनमा सक्रिय रुपमा सहभागी हुन आग्रह गरेकी हुन्।

प्रधानमन्त्रीको आग्रहमा एमाले नेताहरुले निर्वाचनको उचित बातावरण बने आफूहरु भाग लिन तयार रहेको बताएको एमाले नेता महेश बर्तौलाले जानकारी दिए। उनले लोकतान्त्रिक मूल्यमान्यतालाई जीवन्त बनाउन लामो समय संघर्ष गरेको पार्टी जनताका बीचमा परीक्षण हुने कुरामा कहिल्यै विरोध नगर्ने जवाफ दिएको बताए।

उनले चुनावका लागि आफूहरूले वातावरण खोजिरहेको भन्दै सरकारले सुरक्षा लगायतका विषयमा गम्भिर भएर काम गर्नुपर्ने बताए। उनले संसद पुनःस्थापनाका विषयमा अदालतले संवैधानिक परीक्षणको बाटो टुंग्याएपछि सबै विषय निर्धारण हुने जिकिर गरे।

छलफलपछि सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्रीले औपचारिक रुपमा निर्वाचनमा सहभागी हुन आग्रह गरेको जानकारी दिए।

एमाले नेताहरुले आफूहरु निर्वाचनबाट नभाग्ने र सरकारले निष्पक्ष रुपमा निर्वाचन गर्ने वातावरण बनाए भाग लिने बताएको खरेलले बताए। उनले चूनावका सन्दर्भमा देखिएका आशंकाहरु एमाले नेताहरुसंग भेटेपछि धेरै कम भएको महशुस भएको उल्लेख गरे।

छलफलमा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र युवा नेता महेश बर्तौला सहभागी भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.