कांग्रेसकाे नियमित महाधिवेशनका लागि युवा विद्यार्थी भेला
काठमाडौं। नेपाली कांग्रेस सम्बद्ध युवा र विद्यार्थी संगठनले शुक्रबार यहाँ नियमित महाधिवेशनका लागि युवा विद्यार्थी भेला आयोजना गरेको छ।
उनीहरुले नियमित महाधिवेशन गर्नुपर्ने मागसहित भेला आयोजना गरेका हुन्। भेलामा पार्टीका विभिन्न तहका नेताहरूले नियमित महाधिवेशन गर्नुपर्ने विषयमा सम्बोधन गरेको विद्यार्थी नेता मनिषजंग थापाले जानकारी दिए।
कार्यक्रमका वक्ता एवं नेविसंघका केन्द्रीय सदस्य आदर्श मल्लले पार्टीभित्र भागबण्डाको खेलले गर्दा नेपाल विद्यार्थी संघलगायत भातृसंस्थाहरुको अवस्था कमजोर हुँदै गएको बताए। उनले पार्टीलाई एकताबद्ध गरेर निर्वाचनमा सहभागी हुने वातावरण बनाउन सबै गम्भीर हुनुपर्ने धारणा राखे।
कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टीलाई बलियो बनाउनुपर्ने तथा जेनजी युवाको भावना सम्बोधन गर्नका लागि भए पनि कांग्रेस नियमित महाधिवेशनमा जानुपर्ने धारणा राखे।
उनले भने, ‘पार्टीमा विशेष महाधिवेशन वा नियमित महाधिवेशनको विवाद आवश्यक छैन। वडादेखि केन्द्रसम्म जेनजी युवाको प्रतिनिधित्व सुनिश्चितता गराउन नियमित महाधिवेशन आवश्यक छ।’
अधिकांश वक्ताहरुले देशको अवस्थालाई मध्यनजर गर्दै कांग्रेस आगामी फागनु २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा चुनावमा केन्द्रित हुनुपर्ने तथा नियमित महाधिवेशनमा जानुपर्ने धारणा राखेका थिए।
उक्त भेलामा नेपाली कांग्रेसका महिला केन्द्रीय सदस्य, तरुण दल केन्द्रीय सदस्य, युवा तथा विद्यार्थी संघका केन्द्रीय सदस्यहरूको सहभागिता रहेको थियो।







डिसी नेपाल







Facebook Comment