बाङ्गा अक्षरको मझेरीमा “प्रह्लाद पोख्रेल: कविता र कुराकानी” विषयक अन्तरक्रिया कार्यक्रम
अमेरिका। हास्यव्यङ्ग्यको मझेरी बाङ्गा अक्षरले वरिष्ठ कवि प्रह्लाद पोख्रेल: “कविता र कुराकानी” विषयक काव्यात्मक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
जुम प्लेटफर्ममार्फत प्रस्तुत गरिएको उक्त कार्यक्रम डी.सी. नेपालबाट लाइभ प्रसारण गरिएको थियो।
कवि प्रह्लाद पोख्रेलको जन्म २०१४ सालमा रावा कुभिन्डे-६, खोटाङमा भएको हो। नेपाली विषयमा एम.ए. (स्नातकोत्तर) गर्नु भएका पोख्रेलले लामो प्रशासनिक र प्राज्ञिक अनुभव हासिल गरेका छन्। साहित्यको क्षेत्रमा भने नेपाली छन्द कवितामा उनको विशेष योगदान रहेको पाइन्छ तर उनले आफूलाई छन्द कवितामा मात्र सीमित राखेका छैनन्।
उनले गद्यकविता, गीत तथा साहित्यका अन्य विधामा समेत कलम चलाएका छन्। उनका खण्डकाव्य, कविता सङ्ग्रह र गीति सङ्ग्रह गरेर झन्डै डेढ दर्जन कृतिहरू प्रकाशित छन् भने झन्डै दुई दर्जन साहित्यिक प्रकाशनहरू सम्पादन गरेका छन्। २०८० सालमा उनको अङ्ग्रेजी सूक्तिहरुको पद्यानुवाद “वाणीका बान्की” प्रकाशित भएको छ। उक्त कृतिमा अङ्ग्रेजी उत्कथनहरूको छन्दोबद्ध नेपाली प्रस्तुति पाइन्छ।
उनको एउटा खण्डकाव्य अङ्ग्रेजीमा समेत अनुवाद भएको छ। “डेस्टिनेसन दोलखा” शीर्षक उक्त खण्डकाव्य प्राध्यापक सिताराम अधिकारीले अनुवाद गरेका हुन्।
उहाँले दुई दर्जनभन्दा बढी पुरस्कारहरू प्राप्त गरेका छन् भने उनको काव्यकारितामा चार जनाले स्नातकोत्तरस्तरीय शोधकार्य गरेका छन्।
कार्यक्रममा कवि पोख्रेलको काव्यकारिताका विविध पाटाहरू खोतल्ने कोशिश गरिएको थियो। सालिन र सरल व्यक्तित्वका धनी कवि पोख्रेलको व्यक्तित्व र कृतित्वमाथि कवि तथा समालोचक डा. रमेश सुबेच्छु र सिताराम अधिकारीले प्रकाश पारेका थिए। उनीहरूले कवि पोख्रेलको खारिएको कलमले उब्जाएका कालजयी रचनाहरू सिर्जनाका उत्कृष्ट नमुना रहेको बताए।
सिताराम अधिकारीले कवि पोख्रेललाई माधव घिमिरेसँग तुलना गर्दै उनलाई छन्दकविताको पारसमणिको संज्ञा दिए।त्यस्तै रमेश सुबेच्छुले कवि प्रह्लाद पोख्रेलको सालिन व्यक्तित्वको प्रशंसा गर्दै उनले पढाउँदा कविहरू उत्पादन गरेको बताए। त्यस्तै कवि प्रह्लाद पोख्रेलका भाई पेशल पोख्रेलले दाजुको प्रेरणाले आफ्नो जीवनमा पारेका प्रभावहरूको चर्चा गरे।
कवि पोख्रेलसँग कविताका विविध पक्षमा समेत छलफल भएको थियो। कार्यक्रमको सुरूमा उमा शर्माले कवि पोख्रेलको कविता वाचन गरेका थिए। कवि पोख्रेलले छन्दकविता के हो र यसको मर्म र सिद्धान्तका बारेमा बताएका थिए।
कार्यक्रममा कवि पोख्रेलले मिठा कविता सुनाउँदै छन्दकविता लेख्ने विधि र तरिका पनि सिकाए। कार्यक्रममा कवि पोख्रेलले सिर्जनशीलता निरन्तर साधना र समर्पणको उपज हो भन्दै छापिहाल्ने हतारोले राम्रो लेखक बन्न नसकिने बताए।
कार्यक्रमको अन्त्यमा सहभागी स्रष्टाहरूले कवि पोख्रेललाई समसामयिक साहित्यका विभिन्न सवालमा प्रश्नहरू गरेका थिए। सहभागीहरूले विभिन्न प्रश्न राख्दै प्रतिभाशाली वरिष्ठ कवि प्रह्लाद पोख्रेलको महाकाव्य कहिले पढ्न पाइएला भनी जिज्ञासा राखेका थिए।
उनले प्रतिउत्तरमा “म अहिले लेखनकार्य गरिरहेको छु, समयले नै यसको उत्तर देला,” भने। कार्यक्रममा कमला रुपाखेती, नम्रता गुरागाईं, भरतमण श्रेष्ठलगायत आमन्त्रित साहित्यकारहरूले कवि प्रह्लाद पोख्रेलसँग काव्यात्मक अन्तरक्रिया गरेका थिए।
बाङ्गा अक्षरका कार्यकारी सदस्य तथा कवि ऋषि बस्ताकोटीले सहजीकरण गरेको सो कार्यक्रमको आरम्भमा बाङ्गा अक्षरका संयोजक नारायण भट्टराईले कार्यक्रमको छोटो परिचय प्रस्तुत गर्दै सम्पूर्ण सहभागी साहित्यकारहरूलाई स्वागत गरेका थिए भने बाङ्गा अक्षरका अर्का सदस्य अर्जुन दाहालले प्राविधिक सहयोग प्रदान गरेका थिए।
कार्यक्रमको अन्त्यमा बहुचर्चित निबन्ध सङ्ग्रह **”खाइराइड”**का सर्जक हास्यव्यङ्ग्यकार राजेन्द्र कार्कीले धन्यवाद ज्ञापन गरेका थिए।







डिसी नेपाल








Facebook Comment