सौराहामा पर्यटन प्रवर्द्धन गर्न हात्ती महोत्सव
चितवन। पर्यटकीय नगरी सौराहामा पर्यटन प्रवर्द्धनका लागि हरेक वर्ष हुँदै आएको हात्ती तथा पर्यटन महोत्सव यस वर्ष आगामी पुस ११ गतेदेखि १३ गतेसम्म हुने भएको छ । क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजना तथा यूनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको सहआयोजनामा महोत्सव गर्न लागिएको हो ।
विसं २०५५ देखि सुरु भएको चितवन हात्ती तथा पर्यटन महोत्सवमा यस वर्ष हात्तीको श्रृङ्गार प्रतियोगिता, हात्तीको वनभोज, हात्तीको स्वास्थ्य शिविर, हात्तीको दिनचर्याबारे जानकारी दिनेलगायत कार्यक्रम गरिने आयोजकले जनाएको छ ।
महोत्सव संयोजक गुणराज थपलियाका अनुसार पालिकास्तरीय डुङ्गा दौड प्रतियोगिता, हात्ती मैत्री प्रतियोगिताहरू, सफारी टुरिजम प्रवद्र्धनका लागि पाहुनालाई हात्ती, जिप तथा डुङ्गा सफारी गराइने छ । महोत्सवमा ८० वटा हात्तीलाई सहभागी गराइने उनले जानकारी दिए।
चितवनको पर्यटन, सम्भावना र चुनौतीसम्बन्धी अन्तक्रिया, विभिन्न प्रतियोगितालगायत कार्यक्रमहरु गरिने संयोजक थपलियाले बताउनुभयो । उहाँका अनुसार चित्रकला प्रतियोगिता, मानव वन्यजन्तु सहअस्तित्व, पर्यापर्यटन र संरक्षणमा हात्तीको महत्वसम्बन्धी विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, हात्तीको महत्वबारे संरक्षकर्मी, वातावरणविद्, पूर्वसंरक्षण अधिकृतहरूको सन्देशमूलक सामग्री प्रदर्शन गरिने छ ।
महोत्सवले २५ देखि ३०प्रतिशत पर्यटकको आगमनमा बृद्धि हुने अनुमान आयोजकले गरेको छ । संयोजक थपलियाका अनुसार यस अवधिमा आएका पाहुनाका लागि क्षेत्रीय होटल सङ्घ र रेवान सौराहामा आबद्ध सदस्यहरूले होटल तथा रेष्टुरेन्टमा आवास र खानामा १० प्रतिशत छुट गर्ने सहमति भएको छ ।
महोत्सवमा २५ वटा विभिन्न सामग्रीसहितका स्टल (कक्ष) रहने क्षेत्रीय होटल सङ्घका अध्यक्ष ओमप्रकाश पाण्डेले जानकारी दिए । सो अवधिमा २0 हजार दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको उल्लेख गर्दै उनले जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानीका रूपमा रहेको चितवनमा सफारी पर्यटनको विकासका लागि हात्तीबिना कल्पना गर्न नसकिने धारणा राखे।
चितवन राष्ट्रिय निकुञ्जको प्रमुख प्रवेशद्वार सौराहा हो । निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा घुम्न आउने पर्यटक यहाँका होटलमा बस्ने गर्दछन् । यो निकुञ्ज सफारीका लागि विश्वमा प्रख्यात मानिन्छ । कम पर्यटक आउने समयमा पर्यटकीय गतिविधि बढाउनका लागि हरेक वर्ष यो समयमा महोत्सव गर्ने गरिएको आयोजकले जनाएको छ । यसले पर्यटन प्रवद्र्धनका साथै रोजगारीका अवसर सृजना हुने अपेक्षा आयोजकको छ ।







डिसी नेपाल








Facebook Comment