नार खोला जलविद्युत् आयोजनामा कुमारी बैंकको अगुवाइमा ५ बैंकले लगानी गर्ने

डिसी नेपाल
१५ मंसिर २०८२ १२:२९
24
Shares

काठमाडौं। सिंगटी हाइड्रोको मुख्य लगानीमा मनाङमा ६१ मोगावाटको नार खोला जलविद्युत आयोजना निर्माणका लागि वित्तिय ऋण लगानी सम्झौता सम्पन्न भएको छ। सोमबार आयोजित एक कार्यक्रममा नार खोला हाइड्रो इनर्जी प्रालीका अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले संयुक्त रुपमा हस्ताक्षर गर्दै वित्तिय व्यवस्थापन टुंगाएका हुन्।

मनाङ्स्थित नार्पा भुमी र नासोङ गाउँपालिकामा रहेको नार खोला र सोती खोलाको पानीलाई एकिकृत गरि ६१.११ मेगावाटको जलविद्युत आयोजना निर्माण प्रकृया अघि बढाइएको हो। आयोजनाको प्रबद्र्धक कम्पनि नारखोला हाइड्रो इनर्जी प्रा.लि. ले आयोजना निर्माणका लागि सबै प्रकृया पूरा भएको जनाएको छ।

नेपाल विद्युत् प्राधिकरण सँग यस अघि नै विद्युत खरिद सम्झौता पिपिए भैसकेको उक्त आयोजनामा कुमारी बैंकको अगुवाईमा नेपाल एसबिआई बैंक, कृषि विकास बैंक, एनआईसी एसिया बैंक र मुक्तिनाथ विकास बैंकले लगानी गर्ने गरी आर्थिक व्यवस्थापन टुंगिएर आज सोमबार हस्ताक्षर भएको हो।

नारखोला जलविद्युत आयोजनाको ग्रेस हेड ५८८.८२ मिटर रहने र बार्षिक ३६६.४८ गिगावाट विद्युत उत्पादन हुनेछ। आयोजनाको हेडरेस टनेल लगभग ८ किलोमिटर रहेको छ। आयोजनाको बाँध तथा हेडवक्सका संरचनाहरु नार्पा भूमि गाउँपालिकामा हुने र उक्त बाँधस्थलबाट सुरुङमार्ग हुँदै नासोङ गाउँपालिकामा रहने विद्युत गृहमा नार्पा भुमि र नासोङ गाउँपालिका हुँदै आएको सुरुङमार्ग मार्फत पेनस्टक पाईपको प्रयोग गरि बिद्युत गृहमा पानी पठाई बिजुली उत्पादन गरिने छ।

आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको मनाङस्थित निर्माणाधीन धारापानी सवस्टेशनमा जोडिने छ। आयोजनाको कुल लागत १२ अर्ब ८४ करोड रहेको जसमा बैंकको कर्जा ९ अर्ब ६३ करोड र स्वपुजी ३ अर्ब २१ करोड रहेको छ जसमा सिंगटी हाईड्रो ईनर्जी लिमिटेडको मुख्य लगानी रहने कम्पनीले जनाएको छ। आयोजनाले ३ वर्षभित्र विद्युत् उत्पादन गरि नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारणमा जोड्ने तयारी गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *