चलचित्र विधेयक फर्ता लिने पक्षमा सरकार छैन : मन्त्री खरेल

डिसी नेपाल
१५ मंसिर २०८२ १३:५३
52
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले चलचित्र विधेयक, २०८१ फिर्ता लिने पक्षमा सरकार नरहेको स्पष्ट पारेका छन्।

सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा चलचित्र विधेयक, २०८१ माथिको छलफलका क्रममा मन्त्री खरेलले चलचित्र विधेयकलाई सरकारले फिर्ता नलिने स्पष्ट पारेका हुन्।

उनले चलचित्र क्षेत्रसँग सम्बन्धी केही संघसंस्थाले आफूलाई भेटेर चलचित्र विधेयक फिर्ता लिन आग्रह गरेको जानकारी दिए। उनले समिति बैठकमा सरोकारवालासँग बसेर उनीहरूको मागका बारेमा छलफल गर्न सरकार तयार रहेको बताए।

यस पटक चलचित्र विधेयकलाई उपलब्धिमूलक बनाएर पारित गर्न सहयोग गर्ने उनले बताए। त्यस्तै मन्त्री खरेलले चलचित्र विकास बोर्डलाई स्वायत्तता प्रदान गर्ने नाममा जथाभावी हुन नदिइने धारणा राखे। चलचित्रलाई नियन्त्रण नभइ सहजीकरण र नियमन सेन्सरलाई अघि बढाउनुपर्ने उनको भनाइ छ।

मन्त्री खरेलले चलचित्र क्षेत्र सञ्चार मन्त्रालयकै मातहत राख्नुपर्नेमा जोड दिए। समिति सभापति तुलसा कुमारी दहालले चलचित्र विधेयक फिर्ता लिनुपर्छ भन्ने सरोकारवालासँग छलफल गरेर विधेयकलाई अघि बढाइने जानकारी दिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.