नेपाल र चिनियाँ ताइपेइबीच प्रतिस्पर्धा हुँदै

डिसी नेपाल
१६ मंसिर २०८२ १०:२७
76
Shares

इन्डोनेसिया। यहाँ जारी त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रिपूर्ण महिला फुटबल प्रतियोगिताअन्तर्गत आज नेपाल चिनियाँ ताइपेइबीच प्रतिस्पर्धा हुँदैछ।

स्थानीय समयअनुसार खेल साँझ ७ः३० बजे हुनेछ। नेपालभन्दा बलियो मानिएको टोली चाइनिज ताइपेइ फिफा वरियतामा नेपालभन्दा माथि रहेको छ। चाइनिज ताइपेइ फिफा वरियतामा ४२औं स्थानमा रहँदा नेपाल ८९औं स्थानमा छ। सन् १९७७ मा अन्तर्राष्टिय महिला प्रतियोगितामा सहभागिता जनाएको चिनियाँ ताइपेइले १९७७, १९७९ र १९८१ मा लगातार एएफसी महिला एसियन कपको उपाधिसमेत जितेको थियो।

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिँदै आएको नेपालले पनि एसियन कप खेलेको थियो तर नेपालको सहभागिता समूह चरणको खेलमा मात्र सीमित बनेको देखिन्छ।

नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले चिनियाँ ताइपेइ नेपालभन्दा बलियो टोली भएता पनि उत्कृष्ट खेल प्रदर्शन गर्दै जित निकाल्ने विश्वास व्यक्त गरे। उनले अघिल्लो इन्डोनेसियाविरुद्धको खेलमा फिनिसिङ कमजोर देखिए पनि चिनियाँ ताइपेइविरुद्धको खेलमा सुधारिएको प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। उनले भने, “हामी सुधारिएको खेल प्रदर्शन गर्दै जीतको लक्ष्यसहित मैदानमा उत्रनेछौं। राम्रो संगठनमा खेल्न सक्यौँ भने चाइनजि ताइपेलाई हराएर प्रतियोगिताको समापन सकारात्मक गर्नेछौं। हामीले जित निकाल्छाँै भन्ने विश्वास छ।”

मुख्य प्रशिक्षक न्यौपानेले नेपाली टोली साफ च्याम्पियनसिपको तयारीमा रहेको हुँदा ‘इन्जुड’ खेलाडीलाई आराम दिँदै नयाँ खेलाडीलाई मौका दिइने र आवश्यक परे सबैलाई मैदानमा उतार्न सकिने बताए।

त्यसैगरी, नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले सबै खेलाडी मानसिक र शारीरिक रूपमा तयार रहेको बताए। उनले भने, “हामी राम्रो खेल्छौं। सबै खेलाडी ‘फिजिकली’ र ‘मेन्टली’ तयार भएकाले मैदानमा शतप्रतिशत खेल्नेछौं।

यस सिरिजअन्तर्गत यही मङ्सिर १० गते भएको पहिलो इन्डोनेसियाविरुद्धको खेलमा नेपाल पराजित भएको थियो। सो खेलमा इन्डोनेसियासँग नेपाल २-१ गोलअन्तरले पराजित भएको थियो। त्यसैगरी यता चिनियाँ ताइपेइले भने इन्डोनेसियामाथि ५-० गोलको जित निकालेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.