देशमा मनाइने हरेक पर्वले विविधतामा एकता र सहअस्तित्वमा शक्ति भएको राष्ट्रका रूपमा चिनाउने अवसर प्रदान गरेको छ : उपराष्ट्रपति

डिसी नेपाल
१८ मंसिर २०८२ ८:१८
24
Shares

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले देशमा मनाइने हरेक पर्वले देशलाई विविधतामा एकता, परम्परामा गौरव र सहअस्तित्वमा शक्ति भएको राष्ट्रका रूपमा चिनाउने अवसर प्रदान गर्दै आएको बताएका छन् ।

उधौंली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् ।

उपराष्ट्रपति यादवले भनेका छन्, ‘नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र जनताको अधिकारलाई आत्मसात् गर्दै समावेशी, न्यायपूर्ण र समृद्ध समाज निर्माणतर्फ प्रतिबद्ध भई अग्रसर हुन यस पर्वहरूले पनि उत्प्रेरित गर्न सकोस् । यस अवसरमा आयोजना हुने ‘साकेला’ नृत्यले प्रकृति र जीवनबीचको गहिरो सम्बन्धलाई उजागर गर्दै नेपाललाई मौलिक परम्पराले सम्पन्न राष्ट्रका रूपमा चिनाउने कार्य गर्दछ ।’

यसैगरी उपराष्ट्रपति यादवले ज्यापू दिवसले नेवाः संस्कृतिको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्ने अभियानलाई बल प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

उपराष्ट्रपति यादवले भनेका छन्, ‘मौलिक बाजा धिमेको तालमा प्रस्तुत गरिने झाँकीहरूले हाम्रो रैथाने परम्परालाई जीवन्त राख्दै सांस्कृतिक पहिचानलाई उजागर गर्न सहयोग पुग्दछ । नेवार समुदायको प्रमुख पर्व यःमरि पुन्हीं (धान्यपूर्णिमा) नयाँ अन्नप्रति कृतज्ञता व्यक्त गर्ने अवसर प्रदान गर्दछ, यस अवसरमा ‘यःमरि’ तयार गरी देवीदेवता, पूर्वज तथा आफन्तलाई अर्पण गरिने मौलिक परम्परा रहिआएको छ, जसले समर्पण, समृद्धि र सामाजिक एकताको सन्देश बोकेको छ । यसै दिनदेखि पूर्वी नेपालमा ‘भक्का’ पकाउने परम्परा सुरु हुने मान्यता पनि हाम्रो सांस्कृतिक विविधताको विशेषता हो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.