एमाले महाधिवेशन : ओलीको खल्तीमा पदाधिकारी र केन्द्रीय सदस्यको सूची
काठमाडौं। जेनजी विद्रोहका कारण सत्ताबाट बर्हिगमनमा परेको नेकपा एमालेको ११ औं महाधिवेशन आउन अब नौ दिनमात्रै बाँकी छ।
महाविधेशनको तयारी तीव्र रुपले चलिरहँदा आगामी नेतृत्वका विषयमा पनि तीव्र चासो बढ्न थालेको छ। यो महाधिवेशनमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ।
पोखरेललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सहयोग गरेका कारण ओलीले पनि त्यही अनुसारको तयारी गरिरहेका छन्। अर्थात् यो महाधिवेशनमा ओली र पोखरेलबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ।
दशौं महाविधेशनमा भीम रावलले प्रतिस्पर्धा गरेपनि उनलाई ओलीले चुनौतीका रुपमा लिएका थिएनन्। आफूले चाहे अनुसारको टीम बनाएर ओलीले चार वर्ष पार्टीको नेतृत्व गरिसकेका छन्। अहिले पनि ओली अध्यक्षमा प्रतिस्पर्धा चाहँदैनन्।
तर ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी नै घोषणा गरिसकेको र उनलाई पूर्व राष्ट्रपतिको साथ र सहयोग गरेका कारण ओलीलाई चुनौती थपिएको छ। यतिबेला गुण्डुमा बसेर महाधिवेशनमा आफ्नो पक्षबाट टीम बनाउने काम गरिरहेका छन्। आफू, आफ्ना पदाधिकारी र केन्द्रीय सदस्यको नाम लिष्ट लिएर ओलीले उनीहरुलाई नै मत हाल्न प्रतिनिधिहरुलाई निर्देशन दिन थालिसकेका छन्।
आफूलाई भेट्न गुन्डु पुग्ने नेता कार्यकर्तालाई ओलीले ‘मलाई मात्रै होइन, टीमलाई नै मत हाल्नुपर्छ’ भन्ने गरेको स्रोतले जनाएको छ। ओलीले क कसलाई पदाधिकारी र केन्द्रीय सदस्य बनाउने भनेर नाम लिस्ट तयार पार्न थालेका छन्।
ओलीले ती नामलाई अन्तिम रुप दिएर केही दिनभित्रै सार्वजनिक गर्ने तयारीसमेत गरेका छन्। दशौं महाधिवेशनको जस्तो सहज अवस्था नदेखेपछि ओली आफू र आफ्नो टीम जिताउने रणनीतिमा व्यस्त छन्। ओलीको कार्यशैलीबाट रुष्ट बनेका नेता कार्यकर्तालाई रिझाउन ओलीलाई सकस गरिरहेको छ।
ओलीलाई पदाधिकारी छनोट गर्नसमेत सकस परेको बताइएको छ। पदाधिकारी हुन चाहने नेताहरूले आन्तरिक लबिइङ सुरु गरिसकेका छन्। अहिलेको स्थायी कमिटी र पोलिटब्युरोमा रहेका अधिकांश नेताहरू पदाधिकारी हुन खोजेका छन्।
अहिले पदाधिकारी रहेका नेताहरू पुनः पदाधिकारी हुन खोजेका छन्। तर, ओली र पोखरेल दुवैलाई पदाधिकारीको टुंगो लगाउन सकस परेको छ। १९ सदस्यीय पदाधिकारी घटाएर १५ सदस्यीय बनाउने गत भदौ तेस्रो साता सम्पन्न दोस्रो विधान महाधिवेशनबाट विधान संशोधन गरिएको छ। पदाधिकारी भइसकेका र हुन खोज्नेलाई व्यवस्थापन गर्न सकस भएपछि पदाधिकारी संख्या बढाउन आवाज उठिरहेको छ।
गत भदौ तेस्रो साता भएको एमालेको दोस्रो विधान महाधिवेशनले १९ सदस्यीय पदाधिकारी घटाएर १५ सदस्यीय बनाएको छ । राष्ट्रिय महाधिवेशनले अध्यक्ष, ३ उपाध्यक्ष, महासचिव, ३ उपमहासचिव, ७ सचिवसमेत २ सय ५१ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था गरेको छ। यस्तै, प्रदेश कमिटीका अध्यक्षहरू केन्द्रीय कमिटीको पदेन सदस्य हुने व्यवस्था छ। आगामी महाधिवेशनमा यही पदमा प्रतिस्पर्धा हुँदै छ।
यसैगरी, एमालेले केन्द्रीय सचिवालयको व्यवस्था हटाएर १५ सदस्यीय पदाधिकारीलाई नै स्थायी कमिटीमा परिणत गरेको छ। पोलिटब्युरो र केन्द्रीय कमिटीको संरचना रहनेछ। २ सय ५१ को एक तिहाइ ८४ सदस्यीय पोलिटब्युरो हुनेछ। स्थायी कमिटी नरहने भएकाले धेरै नेता पोलिटब्युरोमै रहनेछन्। केन्द्रीय सचिवालयको व्यवस्था हटेको छ।
एमालेले आगामी २७ देखि २९ मंसिरमा पार्टीको ११औं महाधिवेशन गर्दै छ।







डिसी नेपाल








Facebook Comment