भीम र चार्ल्सवर्थको अर्धशतकमा काठमान्डुले पोखरालाई दियो १६६ रनको लक्ष्य
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिता दोस्रो संस्करणको बिहीबार पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाजबीच भएको खेलमा बल क्याच गर्ने प्रयासमा पोखरा एभेन्जर्सका खेलाडी । तस्बिरः प्रदीपराज वन्त/रासस
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आजको खेलमा काठमान्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य दिएको छ।
ओपनर बेन चार्ल्सवर्थ र भीम सार्कीको अर्धशतकको मद्दतमा काठमान्डुले पोखरालाई १६६ रनको लक्ष्य दिएको हो।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको पोखराले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको काठमान्डुले २० ओभरमा ८ विकेटको क्षतिमा १६५ रन जोड्न सफल भयो।
चार्ल्सवर्थले ५५ बलमा ५ चौका र २ छक्काको मद्दतमा ६४ रन बनाउँदा भीम सार्कीले १९ बलमै अर्धशतक पूरा गरे। अन्तिम ओभरमा आउट हुनुअघि उनले २२ बल खेलेर ५ चौका र ४ छक्काको मद्दतमा ५५ रन बनाए।
त्यसअघि ओपनर आकाश त्रिपाठी शून्यमा पोखराका धनञ्जय लक्षनबाट बोल्ड भए। रशिद खान ७ रनमा आउट भए भने मिलिन्द कुमारले १३ रन जोड्न सके। जोन सिमसन २ रन र आदिल अन्सारी ७ रनमा पेभिलियन फर्के।
बलिङमा पोखराका धनञ्जयले ४ विकेट लिए। उनले ४ ओभरमा १ मेडन राख्दा १६ रन मात्र दिए। कप्तान कुशल भुर्तेलले २ विकेट लिए भने विपिन खत्री र किरण ठगुन्नाले १-१ विकेट हात पारे।
काठमान्डु ८ अंकसहित प्लेअफ नजिक छ। आजको जितले काठमान्डु प्लेअफमा पुग्नेछ। यता ४ अंक जोडेको पोखराका लागि जितको विकल्प छैन।
काठमान्डु गोर्खाज
करण केसी (कप्तान), शहाब अलाम, भीम सार्की, रशिद खान, सन्तोष यादव, आकाश त्रिपाठी, आदिल अन्सारी, वेन चार्ल्सवेथ, मिलिन्द कुमार, सनी पटेल, जोन सिमसन।
पोखरा एभेन्जर्स
कुशल भुर्तेल (कप्तान), सन्दीप केसी, किरण ठगुन्ना, सागर ढकाल, तृतराज दास, आकाश चन्द, विपिन खत्री, ऋषि धवन, एडम रोसिङटन (विकेटकिपर), धनञ्जय लक्षन्, जासन रोय।







डिसी नेपाल








Facebook Comment