एनपीएलः काठमाडौं गोर्खाज प्लेअफमा सुरक्षित
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिता दोस्रो संस्करणको बिहीबार पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाजबीच भएको खेलमा ब्याटिङ गर्दै काठमाडौँ गोर्खाजका खेलाडी । तस्बिरः प्रदीपराज वन्त/रासस
काठमाडौं। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गोर्खाज प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ। यसअघि सुदूरपश्चिम रोयल्स प्लेअफमा पुगिसकेको छ। आजको खेलमा काठमाडौंले पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै प्लेअफमा स्थान सुरक्षित गरेको हो।
काठमाडौंले प्रस्तुत गरेको १६६ रनको लक्ष्य पछ्याएको पोखरा २० ओभरमा १५२ रनमा अलआउट भयो। पोखराका ऋषि धवनले सर्वाधिक ५४ रन हिर्काए पनि जितका लागि पर्याप्त हुन सकेन। बलिङमा काठमाडौंका शाहब आलमले ह्याट्रिकसहित छ विकेट लिए।
यसअघि त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १६५ रन बनाएको थियो। काठमाडौंका बेन चाल्र्सवर्थ र भीम सार्कीले अर्धशतकीय पारी खेले। बेन ६४ र भीम ५५ रनमा आउट भए।
पोखराका धनञ्जय लक्षनले चार, कप्तान कुशल भुर्तेलले दुई विकेट हात पारे। यो जितसँगै काठमाडौं १० अंकसहित प्लेअफमा पुग्दा पोखराले छ खेलबाट चार अंक जोडेको छ। पोखराले अब एक खेल खेल्न बाँकी छ।







डिसी नेपाल








Facebook Comment