‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी

डिसी नेपाल
२१ मंसिर २०८२ ६:३९
24
Shares

सुनसरी। याक्थुङ समुदायको भाषा, पहिचान तथा सामाजिक जीवनलाई आदिम र मौलिक शैलीमै प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण गरिएको पालामी कथानक चलचित्र ‘मिम्लेन फुङ’ देशव्यापी प्रदर्शनको तयारी छ।

याक्थुङ आर्ट फिल्म्सको ब्यानरमा तयार भएको चलचित्रले याक्थुङ जनजीवनको मौलिक सौन्दर्य, प्रेम, सामाजिक संरचना र आत्मसम्मानका संघर्षलाई केन्द्रमा राखेर कथा बुनेको निर्देशक रवि शेर्माले जानकारी दिए।

चलचित्रको छायांकन ताप्लेजुङका सिकैचा, कुन्जारी, पाङभे, हेन्छेबुङ र वरुक्पा क्षेत्रका प्राकृतिक परिवेशमा गरिएको हो। याक्थुङ सांस्कृतिक जीवनशैली प्रत्यक्ष प्रतिविम्बित हुने भौगोलिक आधारका कारण चलचित्रले ग्रामीण समुदायको वास्तविकता सजीव रूपमा उतारेको निर्देशक शेर्माको भनाइ छ।

यी स्थान केवल छायांकनका लागि चयन गरिएका भूभागमात्र नभई याक्थुङ समुदायको सांस्कृतिक स्मृति बोकेका जीवितस्थलसमेत रहेको निर्माण टोलीले जनाएको छ। गाउँका कच्ची भिरालो बाटो, पाखापखेराका खेत, यालाङ, केलाङजस्ता सांस्कृतिक अभ्यास हुने खुला चौर, स्थानीय घरपरिवारको पुरानो संरचनालगायतका दृश्यले चलचित्रको कलात्मकता र मौलिकता थप उजागर गरेको छ।

छायांकनका अधिकांश दृश्य स्थानीय बस्तीको दैनिकीसँग घनिष्ठ रूपमा जोडिएका छन्। बिहान, साँझका घरायसी गतिविधि, सामुदायिक भेटघाट, चरन पाखामा गुञ्जिने बाँसुरीका धुन, पालामका स्वर र गाउँको सामूहिक जीवनशैली। यी तत्वले चलचित्रलाई केवल कथा नभई सांस्कृतिक दस्तावेजका रूपमा महत्व बढाएको निर्देशक शेर्माको भनाइ छ।

याक्थुङ समुदायका ज्येष्ठ नागरिकदेखि युवापुस्तासम्म फिल्म निर्माणमा प्रत्यक्ष रूपमा संलग्न गरिएकाले स्थानीय बोली, पहिरन, संस्कार, संस्कृति र भावभंगीमा कुनै कृत्रिमता नरहेको निर्माण पक्षले बताएको छ।

प्राकृतिक प्रकाश, स्थानीय वातावरण र मौसमका उतारचढावलाई यथास्थान समावेश गरिएकाले चलचित्रले हिमाली–पहाडी जनजीवनको सौन्दर्यलाई थप प्रभावकारी ढंगले प्रस्तुत गरेको निर्देशक शेर्माले बताए।

त्यही कारण ‘मिम्लेन फुङ’ केवल मनोरञ्जनका लागि बनाइएको चलचित्रमात्र नभई याक्थुङ पहिचान, भूसंस्कृति र सामूहिक चेतनाको अभिलेखका रूपमा अर्थपूर्ण बनेको निर्माण टोलीले जनाएको छ। चलचित्रकी मूल पात्र हरिमाया (हरिमाया मादेन) आत्मसम्मानयुक्त दृढ युवती हुन्।

उनीसँगै तीनताले ठूले (जीवन केदेम्बा)को प्रेमयात्रा पनि कथाको मूल पृष्ठभूमिमा रहन्छ। बाल्यकालदेखि यालाङ र बाँसुरीका सांस्कृतिक धुनमा बाँधिएका यी दुई पात्रको सम्बन्ध उमेरसँगै प्रेममा विकसित भए पनि सामाजिक मान्यता, पारिवारिक दबाब र पुराना परम्परागत बन्धनका कारण विवाहमा परिणत हुन सक्दैन।

सामाजिक बन्धनबाट निस्कन खोज्दै हरिमायाले भारतीय सेनामा कार्यरत छेवाङ तामाङसँग विवाह गर्छिन्। तर विवाहपछि छेवाङ युद्धमा वीरगति प्राप्त गरेपछि हरिमाया फेरि सामाजिक पूर्वाग्रह, आरोप र अपमानका बीच मानसिक रूपमा कठोर जीवन बिताउन बाध्य हुन्छिन्। ‘पोइ टोकुवा’, ‘अलच्छिनी’जस्ता तल्लो दर्जाका आरोपले उनले भोगेको पीडा चलचित्रको मुख्य संवेदनशील पक्ष बनेको छ ।

यी चुनौतीबीच हरिमाया र तीनताले ठूलेको पुनः भेटघाटले दबिएको प्रेम फेरि जागृत भए पनि समाजले विधवा तथा ‘असामाजिक’ ठहरिने पात्रलाई कसरी हेर्छ भन्ने प्रश्नले हरिमायालाई अन्ततः आत्मसम्मानको बाटो रोज्न बाध्य बनाउँछ।

चलचित्रले याक्थुङ समुदायमा प्रचलित पालाम, यालाङ, हाक्पारेजस्ता सांस्कृतिक अंगलाई कथाको केन्द्रमा राखेको छ। प्रेमसँगै मानवीय सम्मान, स्वतन्त्रता र पहिचानको संरक्षणमा जोड दिएको यो चलचित्र याक्थुङ समाजको सांस्कृतिक अन्तरआत्मा उद्घाटन गर्ने प्रयासका रूपमा हेरिएको छ।

चलचित्रमा हरिमाया र तीनतले ठूले पात्रमार्फत युवापुस्ताको मनोविज्ञान, ग्रामीण समाजको सांस्कृतिक संरचना र परम्पराले थिचिएका जीवनका यथार्थ स्पष्ट रूपमा प्रस्तुत गरिएको छ। पात्रहरूको उत्कृष्ट अभिनय, स्थानीय पर्यटन सम्भावना झल्किने दृश्य र सांस्कृतिक परिवेशले चलचित्रलाई थप जीवन्त बनाएको छ।

मुख्य भूमिकामा हरिमाया मादेन र जीवन केदेम्बासहित रेसा आङ्खेवा, कृष्ण लिम्खिम, कुमार लक्सम्वा, कमिता तुम्बापो, सनबहादुर मादेन, आइतरानी मादेनलगायत कलाकारको अभिनयलाई प्रभावशाली मानिएको छ। सबै पात्र कथाअनुकूल देखिनुले स्थानीय कलाकारको क्षमता र सम्भावना उजागर भएको निर्माण पक्षको धारणा छ।

याक्थुङ भाषा र संस्कृतिमै केन्द्रित चलचित्र निर्माणको निरन्तरताअन्तर्गत ‘मिम्लेन फुङ (प्रेमको फूल)’ अर्को चर्चित परियोजनाका रूपमा अगाडि आएको छ। आशराज बोखिमको कथा पटकथा र रविन शेर्माको निर्देशनमा बनेको यस चलचित्रमा पालाम सम्राट सुवर्ण नेम्वाङका दर्जनौँ पालाम समावेश गरिएका छन्।

ना कन्ना निवा मेम्बेक्नाबा, मिम्जिरे तुक्खे मेन्धेक्नाबा। (वर-पर मन नजावस् है, मायाले दुःख छेक्दैन है) चुँजिक्केन एच्छा साआमेम्बी, तुम्मेन्दुम तुरुक्खे चाआमेम्बी (जीवनमै एक्लै विधवा भएँ, नपाएर दुःख धेरै पाएँ) सुमधुर पालामकार नेम्वाङ भन्छन्, “मैले सम्झनामा रहेका तथा आफ्नै आँखाले देखेका यथार्थ घटनालाई पालाममा उतार्ने गरेको छु।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.