जनकपुरमाथि कर्णालीको रोमाञ्चक जित, अंकतालिकाको पुछारमा रह्यो जनकपुर

डिसी नेपाल
२१ मंसिर २०८२ १९:१६
52
Shares

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको लिग चरणअन्तर्गत अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई हराएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा आइतबार भएको खेलमा कर्णालीले जनकपुरलाई ३ रनले हराएको हो।

कर्णालीले दिएको १३० रनको लक्ष्य पछ्याएको जनकपुर पूरा ओभर खेल्दै ७ विकेट गुमाउँदै १२६ रनमा रोकियो।

२९ रन जोड्दा ४ विकेट गुमाएको जनकपुरलाई संजय कृष्णमूर्तिले अर्धशतक पारी खेले। उनले ३९ बलमा १ चौका र ४ छक्कासहित ५१ रन जोडे।

ओपनर माज सदाकतले १२ रन बनाउँदा अर्का ओपनर आसिफ शेख र अनिल साह डकआउट हुन पुगे। मयन यादवले ९ रन बनाउँदा जान निकोल लोफ्टीइटनले रन जोडे। तर, अन्तिम ओभरमा १४ रन बनाउन नसक्दा जनकपुरले जित हासिल गर्न सकेन।

कर्णालीका लागि विलियम बोसिस्टोले दुई विकेट लिँदा मार्क वाट, पवन सर्राफ र कप्तान सोमपाल कामीले एकएक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ थालेको कर्णालीले पूरै २० ओभर खेलेर ९ विकेटको क्षतिमा १२९ रन बनाएको थियो।

कर्णालीका लागि ओपनर इमरान शेखले ३३ रन बनाउँदा गुल्शन झाको नाममा १९ रन रह्यो।

अर्का ओपनर मार्क वाट ४ रनमै आउट हुँदा प्रियाङ्क पान्चालले १६ रन जोडे। विलियक बोसिस्टोले १५ रन बनाउँदा नजिबुल्लाह जद्रान १३ रनमा आउट भए। कप्तान सोमपाल कामीले १८ रन जोडे।

जनकपुरका लागि ललित राजवंशी र आदित्य महताले दुईदुई विकेट लिँदा अनिल साह, माज सदाकत र संगिथ कुरेले एकएक विकेट लिए।

यससँगै पहिलो सिजनको विजेता रहेको जनकपुरले अंक तालिकाको पुछारमा रहँदै सिजनको अन्त्य गरेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.