१५ औं महाधिवेशनमा देउवाको सहयोग कसलाई?
काठमाडौं। लामो रस्साकस्सीबीच नेपाली कांग्रेसले पुस अन्तिम साता १५ औं महाधिवेशन गर्ने निर्णय गरेको छ। विषेश महाधिवेश कि नियमति महाधिवेशन बन्ने विषयमा लामो छलफल र वहशपछि पुस अन्तिम साता नियमित महाधिवेशन गर्ने निर्णय गरेपछि यतिबेला भावी सभापति को हो भन्ने विषयमा चासो बढेको छ।
अहिलेसम्म नेता शेखर कोइराला र महामन्त्री गगन थापाले सभापतिमा लड्ने घोषणा गरिसकेका छन्। संस्थापन पक्षबाट सभापतिमा आकांक्षीहरु छन्। तर उनीहरुबीच के उठ्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन।
कांग्रेसको विधान अनुसार सभापति शेरबहादुर देउवा तेस्रो कार्यकालयका लागि उम्मेदवार बन्न पाउँदैनन्। विधानमा एक व्यक्ति दुई कार्यकालयमात्र सभापति बन्न पाउने प्रावधान छ। देउवा सभापति नबनेपनि उनको सहयोग कसलाई रहन्छ भन्ने विषयमा ठूलो अर्थ राख्छ।
सोही कारण पनि यतिबेला कांग्रेसमा सभापतिका आकांक्षी देउवाको मुख ताक्न थालेका छन्। देउवाको सहयोग प्राप्त गर्न सके सजिलै सभापतिमा जित निकाल्न सकिने उनीहरुको विश्वास छ।
संस्थापन पक्षबाट कार्यवहाक सभापति पूर्णबहादुर खड्का, पूर्व पदाधिकारीहरु डा. शशांक कोइराला, प्रकाशमान सिंह, कृष्ण सिटौला, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, प्रकाशशरण महतले इच्छा देखाएका छन्। तर उनीहरुलाई देउवाल सहयोग गर्ने वचन दिएका छैनन्।
कार्यवहाक सभापति खड्का देउवाको सहयोगमा संस्थापन पक्षबाट आफू सभापतिमा उठ्ने तयारीमा छन्। तर ‘सात भाइ’ को विश्वास जित्नु उनका लागि कम चुनौतीपूर्ण छैन।
उता इतर समूहबाट डा. शेखर कोइराला निर्बिल्पक उम्मेदवार हुन्। इतर समूहबाटै महामन्त्री गगन थापाले आफूलाई सभापतिको उम्मेदवारका रुपमा प्रस्तुत गरिसकेका छन्। यसरी हेर्दा कांग्रेसको भावी सभापतिमा को चयन हुन्छ भन्ने चासोको विषय बनेको छ।
देउवा आफू सभापति नबन्ने भएकाले उनको सहयोग पाउने व्यक्ति सभापति बन्न सहज हुने विषयलाई सभापतिका आकांक्षीले बुझेका छन्। त्यसैले पनि उनीहरु देउवाको विश्वास जित्ने दाउमा छन्।
कोइराला परिवार एकजुट हुँदै
विगतमा आफूहरु एक ठाउँमा नहुँदा त्यसको फाइदा अर्को समूहले उठाउँदा आफूहरु पार्टीका मुल नेतृत्वबाट विस्थापित हुनुपरेको विषय कोइराला परिवारमा ताजै छ। सभापतिमा प्रतिस्पर्धा गरेका डा. शेखर कोइरालालाई डा. शशांक कोइराला र सुजाता कोइरालाले सहयोग नगर्दा सभापतिमा शेखर पराजित भएका थिए।
त्यसबाट पाठ सिक्दै १५ औं महाधिवेशनमा भने कोइराला परिवार एकजुट हुने गरी सहमतिको प्रयास जारी छ। ‘अहिले पनि प्रत्यक्ष, अप्रत्यक्ष र विभिन्न माध्यमबाट कोइराला परिवार एकजुट हुनुपर्छ भन्ने विषयमा छलफल भइरहेको छ,’ डा. शेखर कोइरालाका स्वीकय सचिव दिनेश थपलियाले डिसी नेपालसँग भने, ‘सभापतिको उम्मेदवार जो भएपनि तीनै जनाको सहयोग र समर्थन हुनुपर्छ भन्नेमा उहाँहरु एकमत हुनुहुन्छ।’
केही दिन अगाडि डा. शशांक कोइरालाले पनि आगामी महाधिवेशनमा दाइ (शेखर) सँग सल्लाह गरेर को सभापतिमा उठ्ने भन्ने तय गर्ने बताएका थिए।
देउवाको रोजाइमा पनि कोइराला परिवार
सभापति शेरबहादुर देउवाले पनि १५ औं महाधिवेशनमा कोइराला परिवारलाई सहयोग गर्ने संकेत गरेका छन्। स्रोतका अनुसार महामन्त्री गगन थापालाई रोक्न पनि देउवाले कोइराला परिवारलाई मिलाउन लाग्ने संकेत गरेका छन्।
जेनजी आन्दोलनमा सभापति देउवा दम्पत्तीमाथि सांघातिक आक्रमण हुँदासमेत सहानुभूति देखाउनुको साटो सम्पूर्ण दोष आफ्नो ठाउकोमा हालेर राजीनामा मागेको भन्दै देउवा थापासँग असन्तुष्ट छन्। सोही कारण पनि १५ औं महाधिवेशनमा देउवा थापालाई रोक्ने योजनमा रहेको बताइएको छ।
तोकिएको समयमा महाधिवेशन गर्न समयभाव हुने कतिपय संस्थापन पक्षधर नेताहरुले जनाइरहेका छन्। तर इतर समूह भने तोकिएको समयमा माहधिवेशन गर्न सकिने तर्क गर्दै आएका छन्।







डिसी नेपाल








Facebook Comment