पूराना पार्टीहरुले लोकतन्त्रलाई नै कलंकित बनाए : डा.तारा प्रसाद जोशी

पूराना दलहरूले सुशासनमाथि गरेको गम्भीर बेवास्ताका कारण संस्थागत संरचना अत्यन्तै कमजोर बन्न पुग्यो । ती पार्टीहरुले लोकतन्त्रलाई नै कलंकित बनाउनुनका साथै आर्थिक प्रणालीलाई समेत भाइब्रेन्ट बनाउन सकेनन् । यो नै लोकतन्त्रको कुरूप अनुहार हो । यस्तो व्यवस्थाबाट सुधारको अपेक्षा गर्न सकिन्न ।

डिसी नेपाल
२२ मंसिर २०८२ ९:१२
8
Shares

काठमाडौं । लामो समयसम्म एमालेको नेतृत्वदायी भूमिकामा सक्रिय रहेका र पछिल्ला वर्षहरूमा स्वतन्त्र हैसियतमा रहेर राजनीतिक यात्रामा अगाडि बढेका तारा प्रसाद जोशी अहिले ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रिय सदस्य छन् ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले नयाँ राजनीतिक दलहरूको आवश्यकतादेखि पूराना दलहरूको कमजोरी तथा संरचनात्मक विफलता, जेनजी आन्दोलनको प्रभाव र उज्यालो पार्टीको निर्माणसम्मका विषयहरुमा आफ्नो धारणा स्पष्ट पारे  ।

उनका अनुसार अब वैकल्पिक भनिएका दल नै मूलधारतर्फ उन्मुख भइरहेका छन्  र  पूराना संरचना तोडेर नयाँ राजनीतिक एजेन्डा बोकेर स्थापित हुँदैछन् ।

जोशी भन्छन्,‘एमालेबाट प्रदेश सभामा निर्वाचित भइसकेपछि डर र जिम्मेवारीका कारण करिब पाँच वर्षसम्म मैले केही बोलिनँ । तर कार्यकालको अन्त्यतिर नयाँ राजनीतिक दलहरू निर्माणको आवश्यकता देखेँ ।’  २०७९ सालको निर्वाचनमा भने  उनी डडेलधुराको प्रदेशसभा १ बाट स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचित भएका थिए ।

जेनजी आन्दोलनले पूरानो राजनीतिक संरचनाको कमजोरी खुलाएको र नयाँ राजनीतिक विकल्पलाई संस्थागत गर्ने वातावरण बनाइदिएको उनले बताए । उनका अनुसार जेनजी आन्दोलनले युवाहरूको नयाँ सोचलाई संस्थागत गर्नुपर्ने आवश्यकता स्वाभाविक रूपमा अघि बढाएको छ ।

यस्तै निष्कर्षले गर्दा नै ‘उज्यालो नेपाल पार्टी’ निर्माणतर्फ आफू र आफ्नो समूह अघि बढेको उनको दाबी छ । ‘अब वैकल्पिक राजनीति दलहरु वैकल्पिक रहनेवाला छैनन्,  किनभने यो मूलधारको शक्ति हुँदैछ,’ जोशीको ठहर छ ।

पूराना दलहरूको ३५ वर्षे शासनको समीक्षा गर्दै जोशीले भने,‘पुराना दलहरूले सुशासनमाथि गरेको गम्भीर बेवास्ताका कारण संस्थागत संरचना अत्यन्तै कमजोर बन्न पुग्यो । ती पार्टीहरुले लोकतन्त्रलाई नै कलंकित बनाउनुनका साथै आर्थिक प्रणालीलाई समेत भाइब्रेन्ट बनाउन सकेनन्, यो लोकतन्त्रको कुरूप अनुहार हो, यस्तो व्यवस्थाबाट सुधारको अपेक्षा गर्न सकिन्न ।’

उनका अनुसार २४ घण्टामै राज्यका प्रमुख संस्था धराशायी हुने अवस्थाले पूराना दलहरूको कमजोर शासनशैली उदांगो बनाइदियो । भ्रष्टाचार, कमजोर सुशासन, नातावाद–कर्मकाण्ड, कमजोर भौतिक पूर्वाधार र रोजगारी सिर्जनामा असफलता जस्ता कुराहरुले पूराना दलप्रतिको जनविश्वास लगभग समाप्त भइसकेको उनको ठम्याइ छ ।

जोशी भन्छन,‘जेनजी आन्दोलन अघिल्ला राजनीतिक क्रान्तिमा छुटेको सुशासनको पक्षलाई पुरा गर्ने पूरक आन्दोलन थियो । पुराना दलहरूको मनोविज्ञान परिवर्तन हुन नसक्ने भएकाले हामी नयाँ राजनीतिक शक्ति निर्माणतर्फ उन्मुख भएका हौँ ।’

पछिल्ला दशकमा सूचना प्रविधिको विस्तार, विश्वसँगको तीव्र अन्तरसम्पर्क र नयाँ पुस्ताको स्वतन्त्र सोचले राजनीतिक परिवर्तनको नयाँ लहर आएको अवस्थामा नयाँशक्ति निर्माणको आवश्यकता परेको  उनले बताए  । आन्दोलनले ल्याएका परिवर्तनहरूलाई दिगो बनाउने, संस्थागत गर्ने र नयाँ राजनीतिक मार्गचित्र तयार पार्ने अभिभारा उज्यालो नेपाल पार्टीले लिन खोजिरहेको उनको भनाइ छ ।

पूराना दलहरूले वर्षौंदेखि सिद्धान्तका नाममा धेरै कुरा बोले पनि व्यावहारिक रूपमा ५ प्रतिशत पनि कार्यान्वयन गर्न नसक्दा जनतामा तीव्र निराशा बढेको जोशीको ठम्याइ छ । ‘सुदूरपश्चिमदेखि कर्णालीसम्म विकासको ठूलो सम्भावना हुँदाहुँदै पनि मुलुकले एक भाइब्रेन्ट आर्थिक प्रणाली निर्माण गर्न नसक्दा रोजगारी सिर्जना हुन सकेन र श्रमशक्ति विदेशिन बाध्य भयो,’ उनले भने ।

भौतिक पूर्वाधारमा आवश्यक लगानी नपुगेको, रोजगारीका विशेष प्याकेज नबनेको र राष्ट्रिय–अन्तरराष्ट्रिय  अर्थतन्त्रसँग सन्तुलन कायम गर्न नसकिएको कारण आर्थिक गतिशीलता हराएको उनको भनाइ छ ।

आगामी चुनावबारे बोल्दै उनले कांग्रेस र एमाले दुवै अधिवेशनमा व्यस्त हुने भएकाले समयमै चुनावी तयारीमा पुग्न कठिनाइ हुने अनुमान गरे । उनले पूराना दलहरूबीच गठबन्धन अब असम्भव रहेको उल्लेख गर्दै कांग्रेस–एमालेबीच नैतिक, सामाजिक र राजनीतिक आधार कमजोर भइसकेकाले जनताले अप्राकृतिक एकतालाई स्वीकार नगर्ने दाबी गरे । नयाँ राजनीतिक शक्तिहरूबीच एकता सम्भव देखिन्छ भन्दै उनले त्यतातिर प्रयास भइरहेको बताए, तर नयाँ दल बन्दैमा मात्र सुशासनको ग्यारेन्टी नरहेको स्पष्ट पारे ।

उनका अनुसार नयाँ दलसँग पूराना जस्तै जकडिएका संरचना नभएकाले जनतालाई कसले वास्तविक डेलिभरी दिन सक्छ भन्ने आधारमा संगठन निर्माण भइरहेको छ, तर जनताको विखण्डित मनोविज्ञानलाई एउटै विकास–एजेन्डामा जोड्नु नयाँ शक्तिका लागि ठूलो चुनौती बनेको छ । उनले उचित योजना र स्पष्ट एजेन्डाका माध्यमबाट नयाँ शक्तिले जनताको ऊर्जा एक दिशामा मोड्न सक्ने विश्वास व्यक्त गरे ।

’वैकल्पिक राजनीति अब मेनस्ट्रीम हुँदैछ’

डा जोशीका अनुसार वैकल्पिक सोच हिजोका पुराना पार्टीले पटक पटक जनतालाई धोका दिएको उपज हो । आजको पुस्ताको राजनीतिक मानसिकता नै बदलिएपछि वैकल्पिक शक्तिको जन्म भएको हो । पुराना पार्टीहरू मेनस्ट्रीम रहेकै समयमा बनिएको सोच र आजको सोचबीच ठूलो दूरी रहेको उनले स्पष्ट पारे ।

‘यही कारण वैकल्पिक भनिएका पार्टीहरू अब वैकल्पिक रहनेवाला छैनन् उनीहरूको एजेन्डा र सोच नै ‘मेनस्ट्रीम’ हुँदैछ । हामीले पार्टी घोषणा गर्नेबित्तिकै जनता र मिडियाबाट आएको आकर्षणले देखायो कि नयाँ शक्ति अब, औपचारिक रूपमा मेनस्ट्रीममा प्रवेश गर्दैछ,’ उनले भने ।

जोशीका अनुसार १२७ भन्दा बढी नयाँ पार्टी दर्ता भएका बेला, कुन पार्टी मेनस्ट्रीम बन्ने हो भन्ने प्रश्न उसले बनाएको संरचना, उद्देश्य, नेतृत्व र कार्यक्रमले निर्धारण गर्नेछ  ।

धेरै नयाँ दल खोलिँदैमा सबैको भूमिका बराबर नहुने बताउँदै उनले अहिले खोलिएका र पुराना सबैदल मध्ये कुनै एकदल मात्र मेनस्ट्रीम हुने धारणा व्यक्त गरे । अहिले नयाँ पार्टीहरुप्रति जनता र मिडियाको आकर्षणले जुन संकेत गरिरहेको छ, त्यसले उनिहरु मेनस्ट्रीम हुने संकेत दिएको उनको दाबी छ ।

उज्यालो नेपाल पार्टी अरुभन्दा फरक रहेको दाबी गर्दै उनले यसको यात्रापनि मूलधारतर्फ अघि बढेको बताएका छन् । ‘हामी मेनस्ट्रिम हुने बाटोमा किनपनि छौं भने हामीले डेलिभरीमा केन्द्रित संगठन निर्माण गरिरहेका छौं । पूराना दलको संगठन जेल, संघर्ष वा परम्परागत विचारमा आधारित भएपनि उज्यालो नेपाल पार्टी ‘डेलिभरी दिन सक्ने व्यक्तित्व’ केन्द्रित संस्थागत संरचनामा आधारित रहनेछ,’ उनले थपे । ‘हाम्रो पार्टीमा नेतृत्वको स्पष्ट भूमिका विभाजन गरिएको छ । साथै कुलमान घिसिङ ‘मेन्टर’ को भूमिकामा रहनु हुनेछ  । उहाँ हाल सरकारमा रहेकाले पार्टीको जिम्मेवारी अनुप उपाध्यायले लिनुभएको हो । यो सांगठनिक जिम्मेवारी र आन्तरिक आचारसंहिता हो, नैतिक मानक हो ।’

यस्तै, नयाँ दलहरुले युवापुस्ताको सोच र डिजिटल जेनरेशनको मनोविज्ञानलाई प्राथमिकता दिएको भन्दै उनले सूचना प्रविधि र एआई युगमा जन्मिएको नयाँ नागरिक मानसिकता नेपालको पुरानो राजनीतिभित्र अटाउन नसकेकाले नयाँ दलको आवश्यकता परेको बताए  ।

कुलमान घिसिङलाई मन्त्री नियुक्त गरिएपछि उठेका विभिन्न प्रश्नबारे पनि टिप्पणी गर्दै उनले घिसिङले सम्पत्ति विवरण बुझाइसकेको बताउँदै राजनीतिमा नयाँ मान्छे आएका बेला अनावश्यक शंका उब्जिनु सामान्य भएपनि त्यसले सत्यता निर्धारण नगर्ने धारणा व्यक्त गरे ।

प्रदेश–प्रदेशमा दल विस्तार, रोजगारीलाई मुख्य एजेन्डा

जोशीले उज्यालो नेपाल पार्टी यतिबेला युद्धस्तरमा संगठन विस्तारमा लागेको बताए  । केही जिल्लामा नगर तहसम्म कमिटी गठन भइसकेको छ भने अन्य प्रदेश र जिल्लाहरुमा पनि संरचना बनाउन थालिएको छ ।

उनले सुदूरपश्चिम, कर्णाली जस्ता क्षेत्रहरूको आर्थिक सम्भावनाबारे विशेष जोड दिँदै रोजगारी सिर्जना गर्न सकिने ठाउँहरूमा समेत कुनै प्याकेज नबनेको भन्दै उज्यालो नेपाल पार्टी विकास, रोजगार, स्थानीय अर्थतन्त्र सुदृढीकरण र आधुनिक आर्थिक संरचना तयार पार्न केन्द्रित हुने दाबी गरे ।

जोशीको राजनीतिक यात्रा

जोशी लामो समय एमालेमा जिल्लास्तरको नेतृत्व सम्हाल्दै  सक्रिय रहेका थिए । एमाले विखण्डनपछि केही समय समाजवादीमा पनि रहेका उनी पछिल्ला बर्षहरु स्वतन्त्र राजनीतिक यात्रामा थिए । त्यसबेला नै उनका धेरै साथीहरूले पूराना पार्टीभित्र नवीनता र नयाँ सोचको परम्परा अन्त्य भइसकेको निष्कर्ष निकाले । जनता पनि नयाँ बाटो खोजिरहेकाले, उनीहरू पुराना संरचनाबाट बाहिर निस्केर नयाँ राजनीतिक आन्दोलन आवश्यक छ भन्ने मतमा पुगे ।

त्यसपछि जोशीले स्वतन्त्र रूपमा उम्मेदवारी दिए र तीन–चार वर्षसम्म स्वतन्त्र राजनीतिक अभ्यासमै आफूलाई समर्पित गरे । यही दीर्घ तयारी, अनुभव र जनमानसमा देखिएको परिवर्तनको आधारमा अन्ततः उनी नयाँ राजनीतिक शक्ति निर्माणतर्फ उन्मुख भए, जसको परिणामस्वरूप उज्यालो नेपाल पार्टीमा आबद्ध भएका हुन् । ‘यो दुई–चार दिनको निर्णय होइन, धेरै वर्षदेखि तयार गर्दै आएको बाटो हो,’ उनले भने ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.