ओली अध्यक्षमा निर्वाचित भएपछि पार्टीको लोकतान्त्रिक प्रक्रिया संकट पर्‍यो : उपाध्यक्ष पाण्डे

डिसी नेपाल
२२ मंसिर २०८२ १४:३३
36
Shares

काठमाडाैं। काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीलाई केहि व्यक्तिको निर्णयबाट चल्ने स्थितिमा पुर्‍याउँदा जनताको बीचमा साँघुरिने अवस्था देखापरेको बताएका छन्।

पार्टीको आसन्न महाधिवशेनका सन्दर्भमा सोमबार काठमाडौंमा आयोजित अन्तक्रियामा पाण्डेले लोकतान्त्रिक इतिहास बोकेको पार्टीलाई व्यक्तिवादी, केही व्यक्तिको निर्णयबाट चल्ने स्थितिको विकसित हुँदै गएकाका कारण एमाले जनताको बीचमा साँघुरिने, खुम्चिने, आइशोलेशनमा जाने अवस्था देखापरेको बताएका हुन्।

उनले पार्टीको वर्तमान परिस्थितिलाई बदल्न सक्नुपर्नेमा जोड दिए। उनले पार्टीमा एउटा व्यक्ति दुई पटकभन्दा बढी अध्यक्ष हुन नपाउने गरि कानूनी व्यवस्था नै गर्नुपर्ने धारणा राखे।

महाधिवेशनका क्रममा पार्टीभित्रको कमीकमजोरीमाथि समिक्षा गर्दै नेतृत्व फेर्न लोकतान्त्रिक विधिलाई प्रयोग गर्ने उनले बताए।

पाण्डेले एमालेको ईश्वर पोखरेल समूहभित्र कुनै वादविवाद नरहेकाले सहज ढंगले उपयुक्त समयमा पोखरेल समूहको पदाधिकारीको टुङ्गो लगाउने दावी गरे।

त्यस्तै एमालेका अर्का उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीलाई सामुहिकतामा अघि बढाउन ईश्वर पोखरेलको नेतृत्वमा अघि बढेको भन्दै पार्टीभित्रको अवस्थामा बारेमा बस्तुगत जानकारी रहेको बताए। उनले पार्टीको नेतृत्वका लागि अघि बढ्दा देखापर्ने सवै चुनौती सामना गर्न तयार रहेको उल्लेख गरे।

पार्टी अध्यक्ष केपी ओलीलाई बद्नाम गर्ने कोशिस भए प्रतिवाद गर्ने भन्दै उनले महाधिवेशनमा नेतृत्व चयन गर्ने आफूहरुको लोकतान्त्रीक अधिकार भएको जिकिर गरे। ज्ञवालीले महाविधेशनमा आफ्नो पक्षको जित सुनिश्चित भएको दावी गरे। उनले आफुहरु एमाले छाडेर कतै नजाने भन्दै अरु दलका नेताहरुलाई समेत एमालेमा आउन आह्वान गरे।

‘नेतृत्व र पार्टीविरुद्ध जथाभावी गर्नेहरूविरुद्ध हाम्रो सामना सधैं रहन्छ, उहाँले धेरै राम्रो काम पनि गर्नुभएको छ तर कमजोरी नि भएका छन्, सधैं एकैजनाले पार्टीको नेतृत्व गरेर हुँदैन, नेतृत्व विकासका लागि समय दिएर अघि बढ्नुपर्दछ भन्ने विषयमा हामी प्रतिबद्ध छौं’, पाण्डेले भने।

उनले ओली अध्यक्षमा निर्वाचित भएपछि पार्टीको लोकतान्त्रिक प्रक्रियामै गम्भीर संकट आएको आराेप लगाए। वर्तमान नेतृत्वले आन्तरिक निर्वाचन प्रणालीलाई सीमित व्यक्तिमुखी बनाउने प्रयास गरिरहेको दाबी गरे।

पाण्डेले केपी ओलीकै नेतृत्वमा ७० वर्षे उमेरहद र दुई पटकभन्दा पार्टीको नेतृत्व गर्न नपाउने व्यवस्था गरिएको स्मरण गरे। आठौँ महाधिवेशनमा सर्वसम्मत रूपमा पारित गरिएको लोकतान्त्रिक नेतृत्व विधि पछि ९ औंसम्म चलेको उनको भनाइ छ।

१० औं महाधिवेशनमा भने पहिला सूची पास गर्ने र सूचिमा रहेका मात्र उम्मेदवार बन्न पाउने भन्ने प्रावधान ल्याइएको र ११ औं महाधिवेशनमा पनि त्यही प्रक्रिया दोहोर्‍याउन खोजेको आरोप लगाए।

नेताले चिनेका व्यक्तिलाई मात्र उम्मेदवारी दिने सोचाइले पार्टीभित्रको आन्तरिक लोकतन्त्र समाप्त हुने उनले बताए। पार्टीभित्र आन्तरिक लोकतन्त्र बलियो नहुँदा नवपुस्ता र जनतामाझ एमाले खुम्चिँदै गएको उल्लेख गरे।

नेतृत्व चयनमा प्रतिस्पर्धा नहुने र माथिबाट तोकिएको लिष्टमा नेतृत्व चयन हुने प्रचलनमा आएपछि पार्टीप्रति आकर्षण घटिरहेको उनको दाबी छ। चुनाव नहुने, प्रतिष्पर्धा नहुने, माथिबाट लिष्ट बेचिने पार्टीमा किन आउने? भन्ने प्रश्न नवपुस्ताले उठाउन थालेको उनले बताए।

उनले कानूनमा नै राजनितिक दलमा एक पटकभन्दा बढी नेतृत्व गर्न नपाउनेगरी व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए। पुरानामा मात्रै नभएर नयाँ राजनितिक दलमा पनि नेतृत्व परिवर्तनमा समस्या देखिएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.