आन्तरिक प्रतिस्पर्धालाई निषेध र प्रतिशोधबाट मुक्त गरिनुपर्छ : ईश्वर पोखरेल

डिसी नेपाल
२२ मंसिर २०८२ १७:३२
12
Shares

काठमाडौं । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको आगामी महाधिवेशनमा छलफलका लागि छुट्टै अवधारणा पत्र पार्टी कार्यालयमा बुझाएका छन्।

सोमबार च्यासलस्थीत पार्टी कार्यालय पुगेर पोखरेलले ४० पृष्ठ लामो अवधारणा पत्र पार्टी महासचिव शंकर पोखरेललाई बुझाएका हुन्। पोखरेलको अवधारणापत्रमा फरक मत राखेकै कारण कसैले पार्टीमा अपमानित या उपेक्षित भएको अनुभूति गर्ने अवस्था सिर्जना हुन नदिने, उपयुक्त विधिद्वारा निर्णय भइसकेपछि निर्णय कार्यान्वयनको प्रत्याभूतिको सुनिश्चित गर्नुपर्ने उल्लेख छ।

नेतृत्वको अस्वस्थ प्रतिस्पर्धालाई रोक्न, सहज ढङ्गले नेतृत्व हस्तान्तरणको व्यवस्था मिलाउन र वैकल्पिक नेतृत्व स्थापित गर्न पार्टीको प्रमुख पदमा लगातार दुई कार्यकालको समयसीमा तोकिनुपर्नेमा उनले जोड दिए।

सीमित नेताहरू बसेर निर्णय गर्ने र त्यही निर्णयलाई औपचारिकता दिनका लागि कमिटीका बैठकबाट पारित गराउने गैरलोकतान्त्रिक अभ्यासले निर्णयको प्रभावकारी कार्यान्वयन र जिम्मेवारी बहन नहुने समस्या पार्टीमा देखिएको समेत अवधारणापत्रमा उल्लेख छ।

त्यस्तै उनले पार्टीका पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई पार्टी सदस्य हुनबाट बञ्चित गरिँदा पार्टीलाई वैचारिक रूपले थप सशक्त, सांगठनिक ढङ्गले अझ एकताबद्ध र सुदृढ बनाउने कुरामा असर पर्ने भएकाले पार्टी काममा फर्कने बातावरण निर्माण गरिनुपर्नेमा जोड दिएका छन्।

पार्टी कार्यालयमा अवधारणा पत्र बुझाएपछि बरिष्ठ उपाध्यक्ष पोखरेलले आफूले राखेका विषय पार्टीको महाधिवेशनमा छलफल हुने दस्तावेजमा समिटिने विश्वास व्यक्त गरे। विधिसम्मत रुपमा पार्टीको नेतृत्व चयन हुने कुरामा आफू विश्वस्त रहेको उनको भनाइ छ।

उनले महाधिवेशन प्रतिनिधि छनोटमा अस्वस्थ प्रतिष्पर्धा हुदा केहि स्थामा समस्या देखिएपछि अध्यक्षसँगको छलफलपछि समाधान भइसकेको बताए।

त्यसैगरि पोखरेलले आन्तरिक प्रतिस्पर्धालाई निषेध र प्रतिशोधबाट मुक्त गरिनुपर्ने, पार्टीका आन्तरिक कार्यविभाजन र संसदीय तथा राजकीय जिम्मेवारीमा न्यायोचित र पारदर्शी मापदण्ड लागू गरिनुपर्ने, संगठनमा स्वायत्तता को नीतिअनुरुप जनसंगठनलाई परिचालित गरिनुपर्ने लगाएतका विषय अवधारणापत्रमा उल्लेख गरेका छन्।

पार्टीलाई लोकतान्त्रिक बिधिद्वारा निर्देशित सामूहिक नेतृत्व, वैज्ञानिक विधि र पद्धतिबाट सञ्चालित भएको संगठित शक्तिको रुपमा विकास गर्नका लागि एकताबद्ध हुनसमेत उनले आह्वान गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.