ईश्वर पोखरेलले पार्टीलाई बुझाएको अवधारणा-पत्रमा के छ? ( पूर्णपाठ)
काठमाडाैं। नेकपा एमालेको ११ औँ महाधिवेशनमा अध्यक्षको प्रत्यासी रहेको नेता ईश्वर पोखरेलले आउँदो महाधिवेशमा पेस गर्नुपर्ने अवधारणा-पत्र पार्टीलाई बुझाएका छन्।
आगामी मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गर्ने उद्देश्यसहित पोखरेलले तयार पारेको प्रस्तावमा पार्टीको आगामी दिशा-निर्देशन, संगठनको पुनर्संरचना, सामूहिक नेतृत्व प्रणाली, वैचारिक स्पष्टता र आन्तरिक लोकतन्त्र मजबुत गर्ने विषयहरू समेटिएको छ।
पार्टीभित्र नयाँ नेतृत्वका प्रमुख विकल्पका रूपमा अघि बढिरहेका पोखरेलको अवधारणा–पत्र महाधिवेशनको केन्द्रीय बहसको प्रमुख आधार बन्ने अनुमान गरिएको छ।
महाधिवेशनअघि नै नेतृत्व परिवर्तनका प्रश्नमा छलफल बढिरहेका बेला पोखरेलले सार्वजनिक गरेको यो प्रस्तावले पार्टीभित्र महत्वपूर्ण राजनीतिक बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ। पोखरेलले प्रस्तुत दस्तावेजमा विश्व राजनीति गम्भीर मोडमा रहेको उल्लेख गर्दै सन् १९९० पछिको उदारवादी विश्व व्यवस्थामाथि बहुआयामिक चुनौती देखिएको बताएका छन्।
उनका अनुसार नयाँ प्रविधि, एआई र डिजिटल पूँजीवादको विस्तारले ‘टेक्नो-फ्यूडलिज्म’ नामक पूँजीवादको नयाँ चरण जन्माइरहेको छ।
चीन, भारत र पूर्वी एशियामा आर्थिक शक्ति सर्ने क्रममा भू-राजनीतिक तनाव तीव्र भएको उल्लेख गर्दै उनले महासत्ता मुलुकबीचको प्रतिस्पर्धाले साना राष्ट्रहरू जोखिममा परेको चेतावनी दिएका छन्।
पार्टी कार्यालयमा अवधारणा पत्र बुझाएपछि बरिष्ठ उपाध्यक्ष पोखरेलले आफूले राखेका विषय पार्टीको महाधिवेशनमा छलफल हुने दस्तावेजमा समिटिने विश्वास व्यक्त गरे। विधिसम्मत रुपमा पार्टीको नेतृत्व चयन हुने कुरामा आफू विश्वस्त रहेको उनको भनाइ छ।
उनले महाधिवेशन प्रतिनिधि छनोटमा अस्वस्थ प्रतिष्पर्धा हुदा केहि स्थामा समस्या देखिएपछि अध्यक्षसँगको छलफलपछि समाधान भइसकेको बताए।
त्यसैगरि पोखरेलले आन्तरिक प्रतिस्पर्धालाई निषेध र प्रतिशोधबाट मुक्त गरिनुपर्ने, पार्टीका आन्तरिक कार्यविभाजन र संसदीय तथा राजकीय जिम्मेवारीमा न्यायोचित र पारदर्शी मापदण्ड लागू गरिनुपर्ने, संगठनमा स्वायत्तता को नीतिअनुरुप जनसंगठनलाई परिचालित गरिनुपर्ने लगाएतका विषय अवधारणापत्रमा उल्लेख गरेका छन्।
पार्टीलाई लोकतान्त्रिक बिधिद्वारा निर्देशित सामूहिक नेतृत्व, वैज्ञानिक विधि र पद्धतिबाट सञ्चालित भएको संगठित शक्तिको रुपमा विकास गर्नका लागि एकताबद्ध हुनसमेत उनले आह्वान गरेका छन्।







डिसी नेपाल








Facebook Comment