सात तले भवनमा भीषण आगलागी, अहिलेसम्म २० शव भेटियो

डिसी नेपाल
२३ मंसिर २०८२ २२:०४
964
Shares

काठमाडौं । इन्डोनेसियाको राजधानी जकार्तामा रहेको सात तले टेरा ड्रोन कार्यालय भवनमा मंगलबार भएको भीषण आगलागीमा कम्तीमा २० जनाको मृत्यु भएको छ।

धेरै जना घाइते भएका छन् र उनीहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। अग्नि नियन्त्रकका एक अधिकारीले आगलागीको कारण अहिले थाहा नभएको बताएका छन्। यस विषयमा अनुसन्धान भइरहेको छ।

रिपोर्टका अनुसार धेरै मानिसहरू भवनको झ्यालबाट हाम फालेर ज्यान बचाउन खोजिरहेका थिए, जसका कारण केहीको घटनास्थलमै मृत्यु भएको छ भने धेरै जना गम्भीर घाइते भएका छन्। उद्धार टोलीले केही घण्टाको कडा परिश्रमपछि आगो नियन्त्रणमा ल्याएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार, जकार्ता अग्नि नियन्त्रक विभागका प्रवक्ताले अहिलेसम्म २० वटा शव निकालिएको बताएका छन् भने धेरै जना अझै बेपत्ता छन्। घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा लगिएको छ, जसमध्ये केहीको अवस्था गम्भीर छ।

सेन्ट्रल जकार्ताका प्रहरी प्रमुख सुसाट्यो पूर्णोमो कोन्ड्रोले आगो निभाइसकेको र भवन भित्र रहेका थप सम्भावित पीडितहरूलाई खोज्ने प्रयास भइरहेको सञ्चारमाध्यमलाई बताए।

कोन्ड्रोले भने – आगो दिउँसोतिर पहिलो तल्लाबाट सुरु भयो र त्यसपछि माथिल्लो तल्लाहरूमा फैलियो। उनले भने – केही कर्मचारीहरू त्यतिबेला भवनमा खाजा खाइरहेका थिए भने अरूहरू कार्यालयबाट बाहिर निस्केका थिए।

आगलागीको कारण अझै थाहा हुन सकेको छैन, तर स्थानीय अग्नि नियन्त्रण विभागका अनुसार आगो माथिल्लो तलाबाट सुरु भएको थियो र छिट्टै भवनभरि फैलियो। त्यस समयमा सयौं कर्मचारीहरू भित्र थिए र धेरैजना आगो र धुवाँले फसेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.