ओलीको सर्वसम्मत अध्यक्ष बन्ने कसरत
काठमाडौं। नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन सुरु हुन अब चार दिन मात्र बाँकी छ। महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्यानल नै तयार गरेर नेतृत्वको लागि प्रतिस्पर्धा हुने अवस्था देखिएको छ।
महाधिवेशनको लागि जिल्लाहरूबाट प्रतिनिधि चयन भइसकेका छन्। राष्ट्रिय महाधिवेशनको संघारमा रहेको एमालेभित्र आगामी नेतृत्वको रस्साकस्सी पेचिलो बनिरहेकै बेला अध्यक्ष केपी शर्मा ओली सर्वसम्मतिको अध्यक्ष बन्ने प्रयासमा छन्। यसअघि पार्टीको १०औँ महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष बन्ने ओलीको चाहनामा भीम रावल बाधक बनेका थिए।
आसन्न ११औँ महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष बन्ने प्रयासका निम्ति ओलीले विभिन्न विकल्प अघि सारेका छन्। पदाधिकारी थप्ने, स्थायी कमिटी ब्युँताउने, केन्द्रीय कमिटीको आकार बढाउनेसहित चयन प्रक्रियाका निम्ति विभिन्न क्लष्टर थप्नेसम्मको तयारी भइरहेको ओली निकटका नेताहरूको भनाइ छ।
गत भदौ २०-२२ मा सम्पन्न विधान महाधिवेशनले एमालेको आगामी केन्द्रीय कमिटीमा १५ सदस्यीय पदाधिकारीसहित २५१ सदस्यीय कमिटीको व्यवस्था गरेको थियो। त्यसभित्र महिला, दलित, आदिवासी, जनजाती, मजदुरसहितको क्लष्टर थिए।
स्थायी कमिटी खारेज गरी केन्द्रीय कमिटीभन्दा सानो आकारको पोलिटब्युरोको व्यवस्था गरिएको थियो। तर, अहिले आसन्न महाधिवेशनलाई आफूअनुकूल बनाउनको लागि ओलीनिकटका नेता र सचिवालयमा पदाधिकारी १९, स्थायी कमिटी ब्युँताउने, केन्द्रीय सदस्य थपेर ३५१ सम्म पुर्याउने र केन्द्रीय कमिटीमा प्रवेश गर्नका निम्ति दुई क्लष्टर थप्ने तयारी भएको छ।
हालका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन्। तर, पोखरेललाई पुनः वरिष्ठ उपाध्यक्षकै जिम्मेवारी दिएर फकाउने प्रयास सुरु भएको छ।
उपाध्यक्ष, उपमहासचिव र सचिवको संख्या थप्दै पोखरेल पक्षका नेतालाई पनि त्यसभित्र समेट्ने ओलीले तयारी गरेका छन्। पदाधिकारीमा आकांक्षीको दबाब बढेसँगै १९ को संख्या कायम गरिने तयारी भएको छ। केही दिनअघि एक कार्यक्रममा अध्यक्ष ओलीले नै पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या थपिने विषयमा प्रष्ट संकेत गरेका थिए।
एमालेमा अहिले ३५५ सदस्यीय केन्द्रीय कमिटी छ। महाधिवेशनको मिति नजिकिँदै जाँदा पार्टीको विभिन्न जिम्मेवारीमा जान चाहनेले अहिले नेतृत्वलाई दबाब दिइरहेका छन्। तर, अध्यक्षको उम्मेदवारी घोषणा गरिसकेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले विधान महाधिवेशनले टुंगो लगाएको विषय नेतृत्व चयनका लागि भएको महाधिवेशनले फेरबदल गर्नु नहुने तर्क गरेको छ।
पोखरेल पक्षीय स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले विधान संशोधन प्रस्ताव महाधिवेशनको हलमा लगे प्रतिवाद गर्ने चेतावनी दिँदै भने, ‘पार्टी भनेको कसैको प्राइभेट कम्पनी होइन । आफूअनुकूल विधान परिवर्तन गरेर नेता व्यवस्थापन गर्ने भए प्राइभेट कम्पनी खोले हुन्छ ।
यदि विधान परिवर्तन हुनुपर्छ भने दुई कार्यकालबाट बढी अध्यक्ष नहुने बनाऊँ। ओलीले म बिदा भएँ भन्नुपर्छ, ७० वर्षे उमेरहद पनि लागू गरौँ।’ अध्यक्ष ओलीले यसअघि दुई कार्यकाल मात्रै पार्टी अध्यक्ष हुन पाउने विधान र ७० वर्षको उमेरहद आफू अध्यक्ष भएपछि हटाएका थिए।
नेकपा एमालेको भावी नेतृत्वको लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने लगभग निश्चित भएको छ। अहिलेसम्म दुई नेताहरूबीच प्रतिस्पर्धा हुने टुंगो लाग्दा अन्य पदाधिकारीबारे दुवै पक्षबाट कुनै निर्णय भएको छैन। टिम सार्वजनिक नभए पनि पोखरेल र ओली आन्तरिक रणनीतिमा व्यस्त छन्। दुवै पक्ष एकअर्काका असन्तुष्टिमा पनि खेलिरहेका छन् ।
अध्यक्ष ओली पक्षको प्यानल सार्वजनिक नभएसम्म वरिष्ठ उपाध्यक्ष ईश्वर पक्षले पनि आफ्नो टिम सार्वजनिक नगर्ने रणनीति अपनाएको छ । दुवै पक्षले आफ्नो टिमबारे संवाद र छलफल गरिरहेका छन्।
पोखरेल पक्ष ओलीको टिम सार्वजनिक नभएसम्म पर्ख र हेरको रणनीति रहेको निकट नेताहरूको भनाइ छ। गुण्डु मुकाम बनाउनुभएका ओली वरिष्ठ उपाध्यक्ष पोखरेल पक्षलाई मनाएर पदाधिकारी संख्या १९ नै कायम गर्ने दाउमा रहेका छन् ।
तर, वरिष्ठ उपाध्यक्ष पोखरेल कुनै हालतमा अध्यक्षको उम्मेदवारीबाट पछि नहट्ने अडानमा छ । अहिले दुवै पक्ष पदाधिकारीसहितको प्यानल तयारीमा लागेका छन् । केन्द्रीय सदस्यमा भन्दा पदाधिकारीमा कडा प्रतिस्पर्धा हुने देखिएको छ।







डिसी नेपाल








Facebook Comment