अन्तर पालिका स्तरीय खुल्ला क्रिकेट प्रतियोगिता–२०८२ को उपाधि देवदहलाई
गुल्मी। गुल्मीको इस्मा गाउँपालिकामा आयोजित अन्तर पालिका स्तरीय खुल्ला क्रिकेट प्रतियोगिता–२०८२ को उपाधि देवदह नगरपालिकाले हात पारेको छ। परिवर्तन युवा क्लबको आयोजनामा तथा इस्मा गाउँपालिकाको सहयोगमा सम्पन्न प्रतियोगिताको फाइनलमा देवदह नगरपालिकाले सिमिचौरलाई १०४ रनले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको हो।
मंगलबार सम्पन्न फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको देवदह नगरपालिकाले ६ विकेटको क्षतिमा १६३ रनको प्रतिस्पर्धात्मक स्कोर बनायो। देवदहका सचिन पाण्डेले ५९ रनको उत्कृष्ट पारी खेले भने प्रेम भुर्तेलले ३० रन, प्रकाश भण्डारी र विनोद क्षेत्रीले १३-१३ रनको योगदान दिए। सिमिचौरका तर्फबाट प्रदिप नेपालीले २ विकेट र पुर्शोतम पाण्डेले १ विकेट लिन सफल भए।
जवाफी ब्याटिङमा १६४ रनको लक्ष्य पछ्याएको सिमिचौर १६ ओभरको समाप्तिमा ९ विकेटको क्षतिमा ६० रनमै समेटिएको थियो। सिमिचौरका राजेश थापाले १४ रन र सुदिप परियारले ११ रन जोड्दा अन्य खेलाडी भने दोहोरो अंकमा पुग्न सकेनन्। देवदहका सन्दिप अर्यालले सानदार ४ विकेट लिए भने प्रकाश भण्डारीले ३ र रोशन पौडेलले २ विकेट हात पारे। उत्कृष्ट प्रदर्शनका आधारमा देवदहका सचिन पाण्डे ‘प्लेयर अफ दि म्याच’ घोषित भए।
उपाधि विजेता देवदह नगरपालिकाले नगद ५५ हजार, शिल्ड र मेडल प्राप्त गरेको थियो भने उपविजेता सिमिचौरले नगद २५ हजार, शिल्ड र मेडल प्राप्त गर्यो। पुरस्कार वितरण इस्मा गाउँपालिका अध्यक्ष भगवत शिङ खड्का, वडा नं. १ का वडा अध्यक्ष शेरबहादुर कुवर, वडा नं. १० का वडा अध्यक्ष रामबहादुर बस्नेत, कार्यपालिका सदस्य रेनुका विष्ट, धनबहादुर कुवर तथा कर्मचारीहरुको उपस्थितिमा सम्पन्न भएको थियो।
यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी (म्यान अफ दि सिरिज) देवदह नगरपालिकाका प्रकाश भण्डारी घोषित भए। उनले प्रतियोगिताका दुई खेलमा ‘म्यान अफ दि म्याच’ जित्नुका साथै सर्वाधिक रन बनाउने खेलाडीको उपाधि पनि हासिल गरे। त्यस्तै, सर्वाधिक विकेट लिने खेलाडीका रूपमा देवदहकै सन्दिप अर्याल उत्कृष्ट बलर बने।
इस्मा गाउँपालिकामा सम्पन्न यो प्रतियोगिताले स्थानीय प्रतिभा पहिचान र खेलकुद प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको आयोजक क्लबले जनाएको छ।







डिसी नेपाल








Facebook Comment