एमाले महाधिवेशन उत्सव र एक जिम्मेवारी वहन गर्ने महत्वपूर्ण अवसर हो : सुनिता वराल
काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य तथा आसन्न महाधिवेशनका लागि अतिथि सत्कार उपसमितिको जिम्मेवारी सम्हालिरहेकी सुनिता बरालले महाधिवेशनलाई केवल पार्टीको कार्यक्रम नभई उत्सव, जिम्मेवारी र संगठन सुदृढीकरणको महत्वपूर्ण क्षणका रूपमा व्याख्या गरेकी छन्। क्षेत्र–क्षेत्रबाट निर्वाचित प्रतिनिधिहरूको सहभागिता रहने महाधिवेशन पार्टी जीवनकै ठूलो उत्सवजस्तै भएको बरालको भनाइ छ ।
बरालका अनुसार महाधिवेशनले नेतृत्व परिवर्तन मात्र होइन, संगठनलाई समन्वय, सहकार्य र सामूहिक नेतृत्वतर्फ लैजाने बाटो खोल्छ । उनी भन्छिन्,,‘व्यक्ति–केन्द्रित बहस पार्टीको सिद्धान्तसँग मेल खाँदैन । सामूहिक नेतृत्वबाट मात्र थप बलियो बन्छ ।’ आगामी कार्यकालमा पनि केन्द्रीय कमिटीमा पुनः निर्वाचित हुने आकांक्षा व्यक्त गर्दै उनले नेतृत्वमा सबै पुस्ताको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिइन् ।
युवाको सहभागिताबारे बोल्दै बरालले प्रतिनिधि छनोटमा ४० वर्ष मुनिका युवाहरूको प्रतिनिधित्व बढेको बताइन् । प्रतिनिधित्व मात्र होइन, त्यसलाई कसरी अर्थपूर्ण बनाउने भन्ने अहिलेको मुख्य चुनौती भएको उनको भनाइ छ । ‘नेतृत्वमा पुस्तान्तरण भन्ने बहसलाई पेचिलो बनाउन जरुरी छैन्, नीतिगत रूपमा नै युवालाई अग्रभागमा ल्याइसकेको छ,’ उनले स्पष्ट पारिन् ।
बरालले महिला सहभागितामा अरू दलभन्दा एमाले अग्रस्थानमा रहेको बताउँदै केन्द्रीय कमिटीमै ३५–४० प्रतिशत महिला प्रतिनिधित्व देखिएको उल्लेख गरिन् । महिलालाई पदीय अवसर मात्र होइन, जिम्मेवारी बोकेर प्रभावकारी नेतृत्व दिन सक्षम बनाउनुपर्ने उनको मत छ । ‘नेतृत्व एक पद होइन, कर्तव्य हो । महिलाले त्यो कर्तव्य निर्वाह गर्ने क्षमता राख्छन्,’ उनले भनिन् ।
देशको समृद्धिका लागि शिक्षा क्षेत्र मुख्य आधार भएको उल्लेख गर्दै बरालले अहिलेको शिक्षा प्रणाली ‘रोजगार खोज्ने’ होइन ‘रोजगार सिर्जना गर्ने’ बनाउनुपर्ने बताइन्। विद्यालय तहबाटै सीप र आत्मविश्वास विकास गर्ने शिक्षा दिन सकेमा विदेश पलायनको दर घट्ने उनको तर्क छ । ‘युवाले यहाँ सम्भावना छैन भन्ने धारणा तोड्नु हाम्रो दायित्व हो,’ उनले भनिन् ।
हालका राजनीतिक घटनाक्रममा संवादको कमी ठूलो चुनौती बनेको भन्दै उनले २३ र २४ गतेका घटनालाई ‘अप्रभावकारी संवादको परिणाम’ भनेकी छन् । नीति र निर्णयका बारेमा पार्टी र सरकार दुवैले सफल संवाद गर्न नसक्दा जनस्तरमा भ्रम सिर्जना भएको उनको निष्कर्ष छ । ‘राजनीति कुनै वर्गको विषय होइन, प्रत्येक नागरिकको जीवनसँग गाँसिएको जिम्मेवारी हो,’ बरालको टिप्पणी छ ।
आगामी महाधिवेशनतर्फ अघि बढ्दै गर्दा बरालले थप अनुशासित, समावेशी र संगठनात्मक रूपमा बलियो बनाउने आफ्नो प्राथमिकता दोहोर्याइन्। पार्टीभन्दा माथि देश र देशभन्दा माथि नागरिकको आकांक्षा भएको उल्लेख गर्दै उनले अन्तर–पुस्ता समन्वय, नीति सुधार र संगठन सुदृढीकरणमार्फत आगामी कार्यकालमा पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।







डिसी नेपाल








Facebook Comment