एमालेको केन्द्रीय सदस्य बन्ने दौडमा कल्पना थापा
काठमाडौं। नेकपा एमालेको ११ औँ महाधिवेशनको मिति नजिकिँदै जाँदा नेताहरूले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन्। यही मंसिर २७ मा भक्तपुरको सल्लाघारीमा एमालेको महाधिवेशन उद्घाटन हुँदै छ ।
अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो कार्यकालका लागि मैदानमा उत्रिएका छन् भने उनलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिँदै छन् । अध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्यमा दोहोरिने नेताहरूको ताँतीका बीच पहिलोपटक केन्द्रीय सदस्य बन्न युवा नेताहरूको पनि दौडधूप चलिरहेको छ।
एमालेले योपटक केन्द्रीय कमिटीमा युवाहरूको पनि सहभागिता गराउने तयारी गरेसँगै युवा नेताहरू पनि पहिलोपटक केन्द्रीय सदस्य बन्न खोजिरहेका छन् र उम्मेदवारी दिने बताइरहेका छन् । यसरी केन्द्रीय सदस्य बन्ने दौडमा सबैभन्दा धेरै अनेरास्ववियुको राजनीति गरेका युवाहरूको संख्या धेरै छ ।
यसैमध्ये एक हुन् अनेरास्ववियुकी पूर्व स्थायी कमिटी सदस्य कल्पना थापा । थापा १९ वर्षको उमेर २०६७ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन् । जनकपुरमा भएको अनेरास्ववियुको राष्ट्रिय सम्मेलनबाट पहिलोपटक केन्द्रीय सदस्य बनेको ठीक १५ वर्षपछि उनी एमालेको केन्द्रीय सदस्य बन्ने दौडमा उभिएकी हुन् ।
हाल दैलेखको आठविस नगरपालिकाको उममेयर रहेकी थापा माधव ढुंगेल, किशोरविक्रम मल्ल, नविना लामा र ऐन महर अनेरास्ववियुको अध्यक्ष रहँदा केन्द्रीय कमिटीमा थिइन् । उनी लामाको कमिटीमा सचिवालय सदस्य र महरको कमिटीमा स्थायी कमिटी सदस्य थिइन् । त्यसपछि अनेरास्ववियुको राजनीतिबाट विदा लिएकी उनी नेकपा एमाले दैलेख जिल्ला कमिटी सदस्य भइन् । यसैबीचमा उनी २०७९ मा भएको स्थानीय तहको चुनावमा दैलेखको आठविस नगरपालिकामा उपमेयर निर्वाचित भएकी हुन् ।
हाल नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य रहेकी थापा जिल्लाबाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएकी छिन् । उनी महिला कोटामा महाधिवेशन प्रतिनिधि चयन भएकी हुन् ।
विद्यार्थी राजनीतिमा केन्द्रीय नेतृत्वमा रहेकी थापासँग पार्टीको राजनीतिमा स्थानीय तह, जिल्ला र प्रदेशमा काम गरेको अनुभव छ । ३५ वर्षीय थापा अब एमालेको केन्द्रीय कमिटीमै रहेर युवाहरूको आवाज बुलन्द गर्न चाहन्छिन् ।
उनले भनिन्, ‘एमालेजस्तो सशक्त र मजबुत पार्टीलाई अझ बलियो बनाउन युवाहरूको भूमिका महत्त्वपूर्ण छ । म केन्द्रीय कमिटीमा रहेर पार्टीका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्न चाहन्छु ।’ अहिले एमालेमाथि चौतर्फी प्रहार भइरहेका बेला युवाहरूले नै त्यसको जवाफ दिने उनको भनाइ छ ।







डिसी नेपाल








Facebook Comment