नाइटक्लव आगलागीमा २५ जनाको ज्यान गएपछि विदेश भागेका क्लवका संचालकहरू थाइल्याण्डमा पक्राउ

डिसी नेपाल
२५ मंसिर २०८२ ११:४४
36
Shares

काठमाडौं । गोवाको बिर्च नाइट क्लबमा भएको आगलागीको पाँचौँ दिन क्लबका मालिक तथा साख्खै दाजुभाइ, सौरभ र गौरव लुथरालाई थाइल्यान्डमा पक्राउ गरिएको छ। थाइल्यान्ड प्रहरीले दुवै दाजुभाइको तस्वीर सार्वजनिक गरेको छ, जसमा उनीहरूको हातमा हथकडी लागेको देखिन्छ। उनीहरूले आफ्ना पासपोर्ट समातेका छन्।

सूत्रका अनुसार, भारतीय अधिकारीहरूको एक टोली थाइल्यान्डतर्फ प्रस्थान गरिसकेको छ र २४ घण्टाभित्र लुथरा दाजुभाइहरूलाई फर्काउनेछ। भारत ल्याएपछि गोवा प्रहरीले उनीहरूलाई आफ्नो हिरासतमा लिने सम्भावना छ।

बिर्च नाइट क्लबमा ६ डिसेम्बरमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको थियो। घटनापछि दुवै दाजुभाइ भारत छोडी थाइल्यान्ड फरार भएका थिए। उनीहरूविरुद्ध गैरनियत हत्या र लापरवाहीको मुद्दा दर्ता गरिएको छ।

गोवा प्रहरीले विदेश मन्त्रालय र सीबीआइ मार्फत अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) सँग उनीहरूको गिरफ्तारीको अपील गरेको थियो। त्यसपछि इन्टरपोलले उनीहरूविरुद्ध ब्लू कर्नर नोटिस जारी गरेको थियो।

गोवा प्रहरीले लुथरा दाजुभाइको पासपोर्ट निलम्बन गरेको छ। विदेश मन्त्रालयका अनुसार, पासपोर्ट ऐन १९६७ को धारा १०ए अन्तर्गत केन्द्र सरकार वा उसको नियुक्त अधिकारीले पासपोर्ट निलम्बन गर्न सक्छ।

जाँच निकायका अनुसार, सौरभ र गौरव लुथराले गोवामा फायर ब्रिगेडले आगो नियन्त्रण गर्ने प्रयास गरिरहँदा र मानिसहरूलाई बचाउने क्रम जारी रहेकै बेला थाइल्यान्डको टिकट बुक गरेका थिए।

अधिकारीहरूले बताएअनुसार उनीहरूले ६–७ डिसेम्बरको रात १:१७ बजे अनलाइन ट्राभल कम्पनीको वेबसाइटमा लगइन गरेका थिए। दुवैजना बिहान ५:३० बजे इन्डिगो फ्लाइट ६ इ १०७३ बाट दिल्लीबाट फुकेटका लागि प्रस्थान गरेका थिए।

लुथरा दाजुभाइ, उनीहरूका व्यवसायिक साझेदार, म्यानेजर तथा केही कर्मचारी दिल्लीका निवासी हुन्। त्यसैले गोवा प्रहरीसँगै अब दिल्ली प्रहरीले पनि अग्निकाण्डको अनुसन्धान गरिरहेको छ। दिल्लीमा पनि एक मुद्दा दर्ता गरिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.