एउटै पिताका कारण २०० बच्चाहरू क्यान्सरको खतरामा

डिसी नेपाल
२५ मंसिर २०८२ १३:४५
32
Shares

काठमाडौं । युरोपभर कम्तीमा १९७ बच्चा जन्माउनका लागि वीर्यदान गरेका एक व्यक्तिका कारण ती सबै बच्चाहरी क्यान्सरको जोखिममा परेका छन् । यी व्यक्तिको वीर्यमा क्यान्सरको जोखिम अत्यधिक बढाउने एक आनुवंशिक उत्परिवर्तन भएको जीन रहेको एक ठूलो अनुसन्धानले खुलासा गरेको छ। यसबारे ती व्यक्ति भने जानकार थिएनन् ।

उनले वीर्यदान गरेर जन्मिएकामध्ये केही बच्चाहरूको मृत्यु भइसकेको छ । यसबाहेक त्यो जीनका कारण आफ्नो शरीरमा उत्परिवर्तन प्राप्त गरेकामध्ये थोरै मात्र बच्चाहरू आफ्नो जीवनकालमा क्यान्सरबाट बच्नेछन्। बीबीसीका अनुसार यी दाताको वीर्यबाट जन्मिएका बच्चाका परिवारलाई यसबारे जानकारी दिइएको छ।

शुक्राणु बेच्ने डेनमार्कको युरोपियन स्पर्म बैंकले प्रभावित परिवारप्रति “गहिरो सहानुभूति” व्यक्त गरेको छ र केही देशहरूमा अत्यधिक संख्यामा बच्चा जन्माउन ती व्यक्तिको वीर्य प्रयोग भएको स्वीकार गरेको छ। यो अनुसन्धान बीबीसीसहित १४ वटा सार्वजनिक प्रसारण संस्थाहरूले युरोपियन ब्रोड्कास्टिङ युनियनको इनभेस्टिगेटिभ जर्नालिज्म नेटवर्क अन्तर्गत गरेका हुन्।

दाताले २००५ देखि पैसा लिएर शुक्राणु दान गर्न थालेका थिए। करिब १७ वर्षसम्म महिलाहरूले उनको शुक्राणु प्रयोग गरे। उनी स्वस्थ छन् र दाताले स्क्रिनिङ परीक्षण पनि पास गरेका थिए। तर उनको केही कोषिकामा जन्मपूर्व नै डीएनएमा उत्परिवर्तन भएको थियो। दातालाई यसबारे कुनै जानकारी थिएन ।

उनको डीएनएमा भएको उत्परिवर्तनले टीपी ५३ जीनलाई क्षति पुर्‍यायो । यो जीनको काम शरीरका कोषिकालाई क्यान्सर हुनबाट रोक्नु हो। उनको शरीरको अधिकांश भागमा खतरनाक टीपी ५३ छैन तर उनको करिब २०% शुक्राणुमा यो उत्परिवर्तन छ।

त्यसैले प्रभावित शुक्राणुबाट जन्मिएका बच्चाहरूको शरीरका सबै कोषिकामा उत्परिवर्तन हुन्छ। यसलाई ली फ्रमेनी सिन्ड्रोम भनिन्छ, जसले जीवनभरमा ९०% सम्म क्यान्सर हुने सम्भावना ल्याउँछ । विशेष गरी बाल्यकालमा क्यान्सर हुने र पछि स्तन क्यान्सर हुने खतरा बढी हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.