मुलुकलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्रका विरुद्ध एमाले अगाडि बढेको छ : महासचिव पोखरेल

डिसी नेपाल
२७ मंसिर २०८२ १५:०८
28
Shares

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले सरकारबाट बाहिरिए पनि नेपाली जनताको मनमा गहिरो गरि बसेको बताएका छन्।

शनिबार भक्तपुरमा सुरु भएको एमालेको ११ औं राष्ट्रिय महाधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले भदौ २३ र २४ गतेको घटनापछि नेकपा एमाले र त्यसको नेतृत्वविरुद्धमा सुनियोजित रुपमा प्रहार भएको भन्दै उक्त प्रहारले एमाले कमजोर नभएको बताए।

उनले भने, ‘भदौ २३ र २४ गतेको घटनापछि यो मुलुकमा नेकपा एमाले र त्यसको नेतृत्वका विरुद्धमा सुनियोजित रुपमा जुन प्रकारको प्रहार भइरहेको थियो कतिपयलाई लागेको थियो अब नेकपा एमालेको भविष्य समाप्त भयो भनेर। हामी सरकारबाट बाहिरिएका हौं तर नेपाली जनताको मनमा गहिरो गरि बसेका छौं। आजको सभाले पनि एमाले कमजोर भएको छैन् भन्ने कुरा पुष्टि गरेको छ।’

यस्तै, उनले एमालेले मुलुकलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्रका विरुद्ध र मुलुकलाई लोकतन्त्रको दिशामा अगाडि बढाउने उद्घोषका साथ महाधिवेशन अगाडि बढाएको पनि बताए।

उनले भने, ‘नेकपा एमालेले संकल्प गरेको छ मुलुकलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्रका विरुद्ध अगाडि बढ्ने छौ र मुलुकलाई लोकतन्त्रको दिशामा अगाडि बढाउने छौ भन्ने उद्घोषका साथ महाधिवेशन अगाडि बढाएका छौं।’

नेपाली जनताले निर्वाचित गरेको प्रतिनिधि सभा विघटन गरिएको र मुलुकमा एक प्रकारको अनिश्चितता, भय र त्रासको वातावरणमा मुलुकलाई पछाडि वा प्रतिगमनतर्फ धकेल्ने दुस्प्रयास भइरहेको बेला पार्टीको महाधिवेशन गरेको पनि उनको भनाई छ।

उनले भने, ‘हामी यस्तो चुनौतीको क्षणमा पार्टीको ११औं राष्ट्रिय महाधिवेशन आयोजना गरिरहेका छौ। जतिबेला देशमा जनताले लामो संघर्षबाट प्राप्त गरेको ऐतिहासिक संविधान सभाबाट निर्माण भएको ऐतिहासिक संविधान घायल भएको छ। नेपाली जनताले दशकौं लामो संघर्षबाट प्राप्त गरेको लोकतन्त्र कमजोर बनाइएको छ। नेपाली जनताले निर्वाचित गरेको प्रतिनिधि सभा विघटन गरिएको छ र एक प्रकारको अनिश्चितता, भय र त्रासको वातावरणमा मुलुकलाई पछाडि धकेल्ने, प्रतिगमनतर्फ लैजाने दुस्प्रयास भइरहेको बेला पार्टीको महाधिवेशन गर्दैछौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.