चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

डिसी नेपाल
२९ मंसिर २०८२ ६:३२
216
Shares

काठमाडौं। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार बिहान १० बजेदेखि आइतबार बिहानसम्म देशभर कूल २५ वटा विपद्जन्य घटना घटेका छन् । ती घटनामध्ये सबैभन्दा बढी अर्थात् २२ वटा घटना आगलागीसँग जोडिएका छन्।

कतै डढेलो त कतै भान्सामा खाना पकाउने ग्याँस लिक हुँदा आगो लागेको छ। बिजुली सर्ट भएर, असावधानी एवम् जनचेतनाका अभावमा पनि आगो लागेको प्राधिकरणको विवरणमा उल्लेख छ। रौतहटमा तीन, पाँचथर, झापा, कास्की र स्याङजाका दुई-दुई स्थानमा आगलागीका घटना घटेका छन्।

मोरङ, भोजपुर, उदयपुर, सर्लाही, काठमाडौँ, स्याङजा, रुपन्देही, दाङ, अछाम र दार्चुलाका एक-एक स्थानमा आगलागीका घटना घटेका छन्। हिउँदको समयमा आगो ताप्दा, सलाइको काटी खेलाउँदा र धानको कुन्युमा केटाकेटी खेल्दासमेत आगलागी भएको पाइएको छ।

प्राधिकरणका अनुसार, काठमाडौँको दक्षिणकाली नगरपालिका-५ पूरानो दक्षिणकाली जंगलमा आगलागी भएको थियो। इलाका प्रहरी कार्यालय फर्पिङ टोली र स्थानीयको सहयोगमा डढेलो नियन्त्रण गरिएको थियो ।

पाल्पामा पहिरो, मोरङका दुई स्थानमा जंगली हात्तीले आक्रमण गरेको छ। त्यसमध्ये मोरङको सुन्दरहरैचा नगरपालिका १२ मा हात्तीको आक्रमणमा परेर एकको मृत्यु भएको छ। विपद्मा परेर एक जनाको निधन र चार जना घाइते भएका छन्। विपद्जन्य घटनाका कारण कूल ७२ लाख ९०० बराबरको क्षति भएको अनुमान गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.