जाडो मौसममा दैनिक कति पानी पिउने?
काठमाडौं । जाडो मौसममा चिसोका कारण तिर्खा कम लाग्ने हुँदा धेरै मानिसले आवश्यक मात्रामा पानी नपिउने समस्या देखिने गरेको छ। स्वास्थ्य विज्ञहरूले भने जाडोमा पनि नियमित रूपमा तातो (न्यानो) पानी पिउन आग्रह गरेका छन्।
अमेरिकन इन्स्टिच्युट अफ मेडिसिनले शरीरको लागि पानीको पर्याप्त आवश्यकताबारे गरेको अध्ययन अनुसार पुरुषले एक दिनमा ३ लिटर र महिलाहरूले दिनमा २.२ लिटर पानी पिउनुपर्ने छ।
साधारणतया केही काम नगरी त्यतिकै बस्दा श्वास–प्रश्वास र छालाको माध्यमबाट ७०० मि.लि, दिसाबाट १०० मिलिलिटर पिसाबबाट १५०० मिलि गरी लगभग २–३ लिटर पानी शरीरबाट प्रतिदिन बाहिर निस्कासन हुन्छ तर मौसम र हाम्रो कामको प्रकृति अनुसार शरीरबाट बाहिर निस्कने पानीको मात्रा घटबढ हुन्छ।
कुनै काम नगरी बस्दापनि दुईतीन लिटर पानी पिउँनैपर्छ भने कामको प्रकृति अनुसार अतिरिक्त पानीको सेवन गर्नु पर्दछ।
शरीरमा १० प्रतिशत तरल पदार्थ कम भएमा कुनै पनि मौसममा ‘डिहाइड्रेसन’को खतरा बढ्छ। त्यसैले शरीरलाई स्वस्थ, उर्जामय राख्न तथा मिर्गौलाजस्ता अंगको कार्यसम्पादन ठिक राख्न पनि बारम्बार पानी पिउन आवश्यक छ।
जाडो महिनामा पिउने न्यानो पानीले पाचन प्रणाली सुधार गर्ने, कब्जियत कम गर्ने, चिसोका कारण हुने घाँटी दुखाइ र खोकीमा राहत दिने तथा शरीरलाई हाइड्रेट राख्न मद्दत गर्ने चिकित्सकहरूले बताएका छन्।
विशेषज्ञहरूका अनुसार बिहान उठ्नेबित्तिकै एक गिलास न्यानो पानी पिउनु लाभदायक हुन्छ। त्यस्तै खाना खानु अघि वा खानापछि ३० मिनेटको अन्तरालमा पानी पिउन सुझाव दिइएको छ। सुत्नुअघि धेरै पानी पिउनु भने उपयुक्त नहुने बताइएको छ।
मुटु, मिर्गौला तथा उच्च रक्तचापका बिरामीले भने पानीको मात्रा चिकित्सकको सल्लाहअनुसार मिलाउनुपर्ने स्वास्थ्यकर्मीहरूको सुझाव छ।
जाडोमा पानी कम पिउँदा स्वास्थ्यमा देखिन सक्छन् यस्ता समस्या
स्वास्थ्यकर्मीहरूका अनुसार पानीको कमीले टाउको दुख्ने, थकान महसुस हुने, कब्जियत तथा छाला सुक्खा हुने समस्या देखिन सक्छ।
जाडोमा न्यानो पानी पिउनु पाचन सुधारका लागि उपयोगी
जाडो महिनामा न्यानो पानी पिउनुले पाचन प्रणालीलाई सक्रिय बनाउँछ। न्यानो पानीले पेटको गतिविधि बढाउने, खाना सजिलै पचाउन मद्दत गर्ने तथा ग्यासको समस्या कम हुन्छ। बिहान खाली पेट न्यानो पानी पिउनु विशेष लाभदायक हुने स्वास्थ्य विज्ञहरू बताउँछन्।
अत्यधिक तातो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक
धेरै तातो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक हुन सक्ने स्वास्थ्यकर्मीहरूले चेतावनी दिएका छन्।
अत्यधिक तातो पानीले घाँटी, जिब्रो र पाचन नलीमा जलन गराउन सक्छ। स्वास्थ्य विज्ञहरूका अनुसार न्यानो पानी नै स्वास्थ्यका लागि उपयुक्त हुन्छ। मुटु, मिर्गौला तथा उच्च रक्तचापका बिरामीले तातो पानीको मात्रा र तापक्रम चिकित्सकको सल्लाह अनुसार मिलाउनुपर्ने सुझाव दिइएको छ।







डिसी नेपाल








Facebook Comment