सञ्चालनमा आएन ‘सभागृह’

डिसी नेपाल
२९ मंसिर २०८२ २२:१३
56
Shares

महेन्द्रनगर । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा साढे ६ वर्षअघि निर्माण सम्पन्न भएको सभागृह (सिटीहल) अझै सञ्चालनमा आउन सकेको छैन।

वि.सं. २०७५ मा निर्माण सम्पन्न भएको तीनतले सुविधा सम्पन्न सभागृह प्रयोगविहीन हुँदा जीर्ण बन्न थालेको छ।

‘अन्डरग्राउण्ड पार्किङ’ सहितको तीनतले सुविधा सम्पन्न सभागृहमा तीन वटा हलको सुविधा पनि छ। भीमदत्त नगरपालिका४ स्थित पूर्वपश्चिम राजमार्गसँगै जोडिएको साँढे पाँच बिघा जमिन क्षेत्रफलमा सभागृह तयार छ। जिल्लामा हुने सभा, सम्मेलन तथा कार्यक्रमको सहजताका लागि निर्माण गरिएको थियो।

तत्कालीन महेन्द्रनगर नगर विकास समितिले रु आठ करोडको लगानीमा निर्माण गरेकोे सभागृह हाल भीमदत्त नगरपालिकाको मातहत छ। भीमदत्त नगरविकास समितिको अध्यक्षमा नगर प्रमुख रहने प्रावधान छ।

नगरपालिकाको नेतृत्वले चाँसो नदिँदा करोडौँ लगानीमा निर्माण भएको सभागृह जीर्ण बन्दै गएको स्थानीयबासीको गुनासो छ। भीमदत्त नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामी भने सभागृह सञ्चालनका लागि काम भइरहेको बताउँछन्। उनले भने, निर्माण कम्पनीले नगरविकास समितिलाई सभागृह हस्तान्तरण गरिसकेको छ। प्रतिवेदन तयार गरी सञ्चालन गर्ने उद्देश्यले प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन भएको छ। कार्यदलको सुझावअनुसार अघि बढ्ने गृहकार्यमा छौँ।

अपाङ्गमैत्री सभागृहमा एक हजार जना अटाउने क्षमता रहेको छ। वि.सं. २०६५ सालमा श्यामसुन्दर र गौरी पार्वती जेभी निर्माण कम्पनीसँग दुई वर्षभित्र काम सक्ने गरी सम्झौता भएकामा धेरै वर्षपछि सभागृह सम्पन्न भयो। सञ्चालनमा पनि थप समय लागेको भन्दै धेरैले असन्तुष्टि जनाइरहेका छन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.