नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री

डिसी नेपाल
१ पुष २०८२ २१:४२
12
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान समयमा सम्पूर्ण विश्व विभिन्न प्रकारका रोग र तनावले आक्रान्त भएको उल्लेख गर्दै नेपालले विश्वमा आफ्नो आध्यात्मिक एवं प्राकृतिक चिकित्सकीय क्षमता तथा भूमिकालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरिन्।

विश्व ध्यान दिवसको अवसरमा आज शुभकामना दिँदै उनले भनिन्, वर्तमान समयमा सम्पूर्ण विश्व विभिन्न प्रकारका रोग र तनावले आक्रान्त भएको छ, यस परिवेशमा नेपालले विश्वमा आफ्नो आध्यात्मिक एवं प्राकृतिक चिकित्सकीय क्षमता एवं भूमिकालाई प्रदर्शन गरेर सम्पूर्ण विश्वलाई रोग, तनाव, कलह एवं अशान्तिबाट मुक्त गर्नेजस्तो महत्वपूर्ण र मानवहितको कार्यमा भूमिका निर्वाह गर्न सक्दछ

नेपालमा रहेको हिमालय पर्वत एवम् यहाँका अग्लाअग्ला टाकुरा, वनजङ्गल, नदीनाला, धार्मिक एवं सांस्कृतिक सम्पदा, विभिन्न तीर्थस्थलले नेपाललाई विश्वमै एउटा अद्वितीय आरोग्य भूमिको रुपमा परिचित तथा स्थापित गरेको उनले उल्लेख गरिन्। नेपाल परापूर्वकालदेखिनै योग, ध्यान, समाधिलगायतको आध्यात्मिक चेतनाआयुर्वेद, प्राकृतिक चिकित्सा एवं अन्य विकसित प्रकारका चिकित्सा प्रणालीको उद्गमस्थल रही आएको प्रधानमन्त्री कार्कीको भनाइ छ।

उनले भनिन्, ‘सयुक्त राष्ट्रसङ्घले गत वर्ष डिसेम्बर २१ तारिखलाई अन्तरराष्ट्रिय ध्यान दिवस घोषणा गरिसकेको छ, यस वर्ष दोस्रो ध्यान दिवसको अवसरमा संयुक्तराज्य अमेरिकाको न्यूयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालयमा जीवन विज्ञान प्रतिष्ठानका श्रद्धेय गुरुद्वारा विशाल एवं भव्य कार्यक्रम गरी नेपालको आध्यात्मिकचिकित्सकीय सम्पदाको बारेमा विश्वस्तरीय चिन्तन, बहस एवं प्रवद्र्धनात्मक कार्यक्रम गर्दै हुनुहुन्छ भन्ने थाहा पाउँदाअत्यन्त हर्षित भएकी छु

प्रधानमन्त्री कार्कीले जीवन विज्ञान प्रतिष्ठानले विगत डेढ दशकभन्दा बढी समयदेखि प्रत्येक नेपालीको घरघरमा र विश्वका सयभन्दा बढी देशमा आफ्नो सेवा पुर्‍याउँदै आएको अवगत गराउँदै संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा हुन गइरहेको कार्यक्रमले नेपाललाई विश्वको एक महत्वपूर्ण आरोग्य भूमिको रुपमा स्थापित गर्ने कुरामा विश्वस्त रहेको बताइन्।

जीवन विज्ञानका श्रद्धेय गुरूद्वय एलपी भानु शर्मा र रमेश नेपाललाई कार्यक्रम सफलताको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु र संयुक्त राष्ट्रसङ्घस्थित नेपालको स्थायी प्रतिनिधिलगायत आयोजकको भूमिका निर्वाह गरिरहनुभएका सम्पूर्ण महानुभावहरू सबैलाई धन्यवाद व्यक्त गर्दछु, उनको शुभकामना सन्देशमा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.