रवि लामिछानेमाथि प्रतिशोध र अन्याय भएको कुरा जनताले बुझेका छन्
नेपालमा पछिल्लो समय नयाँ राजनीतिक दलहरु खुल्ने क्रम चलिरहेको छ। पूराना भनिएका दलहरु आन्तरिक निर्वाचनको तयारीमा छन् ।
तर सरकारले फागुन २१ लाई तोकेको प्रतिनिधिसभा निर्वाचनको वातावरण अझै बनिसकेको छैन। यसै सिलसिलामा राष्ट्रिय स्वतन्त्र पार्टीको आगामी योजना र समसामयिक राजनीतिका बारेमा नेपाल न्यूज बैंकले रास्वपा महासचिव कविद्र वुर्लाकोटीसँग कुराकानी गरेको छ।
जेनजी आन्दोलनपछिको नेपाली राजनीति कस्तो अवस्थामा छ जस्तो लाग्छ ?
जेनजी आन्दोलनपछि राजनीति असाध्यै तरल थियो। विशेषगरी भदौको २५, २६, २७, २८ गतेसम्म असाध्यै तरल थियो, जब नागरिक सरकार गठनको प्रक्रिया सुरु भयो, त्यसपछाडि अलिकति थेग्रिएको अवस्था छ।
चुनाव गर्नुपर्ने जुन एउटा अवस्था हो, त्यो अलिकति परिपक्व पुगेको जस्तो देखिन्छ । चुनाव समयमै भएको खण्डमा राजनीति एउटा ट्रयाकमा आउँछ, यदी भएन भने अवस्था थप बिग्रिन सक्छ।
अन्तरिम सरकार बनेपछि अवस्था सहज भएको भनिएपनि जनता त सन्तुष्ट देखिदैनन् नि ?
राजनीतिक दलहरूले चलाउने सरकारसँग त जनता सन्तुष्ट थिएनन् । यस्तो अवस्थामा नागरिक सरकारसँग पूरै सन्तुष्ट छन् भनिहाल्न सकिदैन् । मैंले सरकारको बचाउ गर्न खोजेको होइन, तर यो सरकारको अहिलेको दायित्व भनेको चाहीं चुनाव गराउने हो।
चुनाव गराउने सन्दर्भमा नागरिकका जिज्ञासाहरूको जवाफ दिन पनि सक्नुपर्छ । नागरिकका जिज्ञासाहरूलाई सन्तुष्ट पार्न सक्नुपर्छ। सरकारको एउटा मूलभूत उद्देश्य भनेको निर्वाचन गराउने हो। तर निर्वाचन गराउने अवधिसम्म त यो सरकार फेरि सत्तामा रहन्छ नि त।
त्यस अवधिसम्म सरकारले सुशासन, समृद्धि, सामान्य नागरिकका डेली लाइफमा पर्ने सुविधा डेलिभरी गर्ने कुराहरुमा काम गर्न सक्नुपर्छ। जवाफदेही हुनुपर्छ । हामीले सोचेजस्तो र अपेक्षा गरेजस्तो ठ्याक्कै सरकारले गर्न सक्ने अवस्था कम छ । तर सरकारको मूल दायित्व चाहीं निर्वाचन नै हो।
जेनजीहरुले निर्वाचन मात्र होइन, पूराना दलहरु आउनु हुँदैन भनिरहेका छन् । यसमा तपाईको धारणा के छ ?
यस बुझाइमा स्पष्टता हुन आवश्यक छ । हामीले दीर्घकालसम्म शासन गर्नको लागि यो नागरिक सरकार गठन गरेको होइन । जेनजी आन्दोलनको मक्सद सुशासन र समुन्नति नै हो । सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध आन्दोलनको एउटा कारक थियो। त्यो त फुकुवा भइ नै हाल्यो।
निर्वाचनपश्चात आउने जुन एउटा जननिर्वाचित सरकार छ, त्यसले मात्रै दीर्घकालिन निर्णयहरू गर्न सक्छ । जेनजी आन्दोलन गर्ने अगुवा साथीहरूले पनि एउटा बुझ्नुपर्ने र बुझिसकेको कुरा के हो भने नागरिक सरकारले सुशासन र समुन्नतिको कामहरू सँगसँगै लिएर जाने हो।
विशेषगरी जेनजी आन्दोलनमा दमन गर्नेहरूको छानबिन गर्नुपर्ने, उनीहरूलाई कारबाही गर्नुपर्ने, घुसपैठहरू भएको छ भने त्यो पनि छानबिन गर्नुपर्ने, कारबाही गर्नुपर्ने अल्पकालीन कार्यदेश हो। र दीर्घकालीन कार्यदेश भनेको निर्वाचन र त्यसपछाडि आउने सरकारले ल्याउनुपर्ने सुशासन हो।
जेनजी आन्दोलनपछि रास्वपा कसरी अगाडि बढिरहेको छ ?
राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलन अगाडि पनि देशमा परिवर्तन आवश्यक छ, आन्दोलन जरुरी भनेका थियौं । किनभने परम्परागत राजनीतिक अवस्थाबाट हामीले राजनीति बदल्न सकेनौँ र त्यो राजनीति नबदल्दासम्म आम नागरिकको जीवनस्तर उकासिने अथवा राजनीतिमा एउटा बदलाव आउने स्थिति भएन। हामीले भदौको २२ गते आन्दोलनलाई स्पष्ट सपोर्ट गर्नेगरी पार्टीको वैठक नै बसेर विज्ञप्ति जारी गरेका थियौं।
भदौको २० देखि ३० गतेसम्म १० दिनको अन्तरालमा आठवटा विज्ञप्ति जारी गरेका छौं । राजनीतिक दलले आफ्नो आवाजहरू प्रस्फुटन गर्ने भनेको विज्ञप्तिमार्फत हो । जेनजी आन्दोलनले खोजेको परिवर्तनलाई सम्बोधन गर्नेगरी विज्ञप्तिहरू जारी गरेका थियौं।
हामी स्पष्ट छौँ, परिवर्तनको पक्षधर दल हौं। जेनजी आन्दोलनपश्चात भएका उपलब्धिलाई रक्षा गर्ने र त्यसलाई अगाडि बढाउने बाटोमा राष्ट्रिय स्वतन्त्र पार्टी असाध्यै क्रियाशील छ। कतिपय जेनजी अगुवाहरुसँग पनि कुरा गर्ने, भेटघाट गर्ने, मुद्दाहरूमा छलफल, बहसहरु गर्ने, त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा अगाडि बढिरहेका छौं। चुनावबाट अब नयाँ सत्ता हस्तान्तरण हुनुपर्छ भन्नेमा हामी छौं ।
पूराना दलहरु अब संसद नै पुनःस्थापना गर्नुपर्यो भन्नेमा हुनुहुन्छ । जेनजी अगुवा साथीहरु पुनःस्थापनाको पक्षमा हुनुहुन्न । तर संक्रमणकालको निकास भनेकै चुनाव हो र चुनावबाट यो निकास दिनुपर्छ भन्नेमा हामी स्पष्ट भएर आएका छौं । हामीले बुझाउँदै पनि आएका छौं ।
फागुन २१ गतेको चुनाव केन्द्रीत भएर रास्वपाले के गरिरहेको छ ?
फागुन २१ को चुनावमा केन्द्रित भएर विशेषगरी प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारी आह्वान गरेका थियौं । कार्तिक २२ गतेदेखि मंसिरको २५ गतेसम्म आह्वान गरेका थियौं । मंसिरको २५ गते थप केही समय म्याद थप्नुपर्छ भनेर उम्मेदवारी आह्वानको समय थपेका छौं । छनोट प्रक्रियाहरु अगाडि बढिसकेको छ । समानुपातिक तर्फको उम्मेदवार टुंग्याउने काम गरिरहेका छौं ।
प्रत्यक्ष तर्फको उम्मेदवारको पनि आह्वान गरिसकेका छौं र त्यो उम्मेदवारी अहिले चलिराखेको छ । उम्मेदवारहरु टुंग्याउने सन्दर्भमा काम गरिरहेका छौं। पार्टीको बाचा पत्र तयार गर्ने काम पनि भइरहेको छ । राजनीतिक अध्ययन, निर्वाचन रणनीति कार्यदल गठन गरेर कामहरु गरिरहेका छौं । हामी निर्वाचन केन्द्रितै छौं ।
चुनावको लागि रास्वपाको मुख्य एजेण्डा के छ ?
जेनजी आन्दोलनले सुशासन, समुन्नतिको मुद्दा हो । सुशासन, समुन्नतिको सन्दर्भमा हामीले गर्नुपर्ने एकदमै मसिना कुराहरु राष्ट्रिय योजनाका रुपमा लिएका छौं । बाचा पत्र कार्यदलले त्यसमा काम गरिरहेको छ । नागरिक उन्मुख एजेन्डाहरुमा काम गरिरहेका छौं ।
जेनजी आन्दोलन पश्चात एउटा बृहत् राजनीतिक संवाद गरेका थियौं । त्यसपछाडि थुप्रै साथीहरु पार्टी प्रवेश गर्ने, पार्टीको मूलधारमै आउने, पार्टीको नीतिगत तहमै बसेर काम गर्नेगरी जिम्मेवारीहरु पनि दिएर अगाडि बढिरहेका छौं । अन्य विषयमा उच्च संवाद समितिबाट संवादहरु गरिरहेका छौं । जेनजीहरुलाई समेटेर एउटा राष्ट्र निर्माणको मूलधारमा लिएर आउने प्रक्रियामै अगाडि बढेका छौं ।
रास्वपाले अबको चुनावमा कुनै दलसँग गठवन्धन गरेर अगाडि बढ्छ ?
गठबन्धनसँग सम्बन्धित योजनाहरुमा काम गरिरहेका छैनौं । तर समान उद्देश्य भएका साथीहरु कसरी अगाडि बढ्न सकिन्छ भन्ने हिसाबमा संवाद समितिबाट विभिन्न तहको छलफलहरु भएको छ । पार्टी एकै भएर जानेदेखि लिएर विभिन्न मुद्दाहरुमा कुरा भएको छ । गठबन्धनमा त्यति धेरै विश्वास गर्दैनौं ।
परम्परागत राजनीति र पूराना दलबाट निराश भएका जनताहरुलाई रास्वपाले कसरी आकर्षित गर्छ ?
राष्ट्रिय स्वतन्त्र पार्टीको डीएनए नै सुशासन, समुन्नति, लोकतन्त्र र लोक कल्याणकारी राज्य हो । अहिले देशले चाहेको परिवर्तन हो । परिवर्तन भनेको आर्थिक, सामाजिक रुपान्तरण अहिलेको जीवनस्तर उकास्नुपर्ने, भ्रष्टाचार हटाउनुपर्ने हो ।
अहिलेको राजनीतिमा इमान्दारिताको एकदम ठूलो खडेरी छ । राष्ट्रिय स्वतन्त्र पार्टीले बोल्ने मात्रै होइन काम पनि गर्छ । इमान्दारिताको गहिरो छाप जनतामाझ छाडेका पनि छौं । सभापति रवि लामिछानेको जुन एउटा प्रतिबद्धता छ । त्यसमा आम नागरिक, आम देशप्रतिको प्रतिबद्धता छ ।
यतिबेला जनता रास्वपाप्रति कतिको आकर्षित छन् ?
सभापतिमाथि भएको प्रतिशोधमा ४० लाख जनताले हस्ताक्षर गर्नुभएको छ । विदेश र स्वदेशमा भएका नागरिकहरूले हस्ताक्षर गर्न पाएनौं भनेर गुनासोहरू गर्नुभएको छ । हामीले त्यसलाई अहिले भलै रोकेका छौं ।
अहिले परिस्थितिजन्य कुरामा यसलाई रोकेका छौं । त्यो कारणले गर्दा यो सन्दर्भमा, अहिले हाम्रो सर्वेक्षणबाट असाध्यै धेरै आकर्षणहरू छन् । हामीले यसलाई अगाडि बढाउन सकिराख्या छौं र अहिलेको हिसाबले हेर्ने हो भने, राष्ट्रिय स्वतन्त्र पार्टी एक मात्र आकर्षणको राजनीतिक दलको रूपमा आएको छ ।
जेनजी आन्दोलनपछि रवि लामिछाने एकदमै आलोचित पनि हुनु भएको छ । जेलबाट निस्किएको कुरालाई लिएर पनि धेरै आलोचित हुनुभयो । यसमा तपाईको धारणा के छ ?
त्यसबारेमा छानबिन आयोगले पनि उहाँसँग बयान लियो । आयोगले नै के भनिसक्यो–सुरक्षाका कारणले उहाँलाई जेलरले नै बाहिर पठाएको रहेछ भन्ने कुरो आयोगको प्रमुखले नै भनिसक्नुभयो । यसमा अब थप धारणा नै चाहिदैन् ।
त्यो घटनाले जनतामा अविश्वासको भावना विकसित भएजस्तो देखिन्छ नि ?
आम नागरिकमा त्यो विषयवस्तुमा भएको जुन एउटा शंका थियो, त्यो आयोगको अध्यक्षले नै यो विषयमा बोलिसकेपछि स्पष्ट भइसक्यो । विशेषगरी रवि लामिछानेलाई जेलभित्र राख्दाखेरि सुरक्षा थ्रेट बढी भयो र त्यो आन्दोलनको बेलामा त्यहाँ थप क्षति हुनसक्ने भनेर सुरक्षाको कारणले जेलरले नै बाहिर पठाएका हुन् भनेर जब आयोगकै प्रमुखले भनिसकेपछि अविश्वास गर्नुपर्दैन् । आम नागरिकमा रहेको शंका निवारण भएको छ ।
निर्वाचन सम्बन्धमा सभापतिसँगको कुराकानी के भइरहेको छ ?
पार्टीका विषयमा कुराकानीहरू भइरहेको हुन्छ । निर्वाचनमा जाने विषयमा हाम्रो दुई मत छैन् । यतिबेला देशभरमा आकर्षणको व्यक्ति रवि लामिछाने उहाँमाथि प्रतिशोध र अन्याय भयो भनिराखेका छौं ।
आम नागरिक तहमा पनि रवि लामिछानेलाई अन्याय भयो भन्ने छ । नागरिकको शंका निवारण गर्ने जिम्मेवारी सरकारको हो । शंका निवारण गरेर चुनावमा जाने वातावरण बनाउने सरकारले काम गर्नुपर्छ ।
जेनजी आन्दोलनपछि नयाँ दलहरुहरु खुल्ने क्रममा छन्, पुराना भनिएका दलहरुपनि एकता हुन थालेका छन् । यो चुनाव केन्द्रीत हो कि दिर्घकालिन होलाजस्तो लाग्छ ?
चुनावमा हारिन्छ कि भनेर गठबन्धनहरू गर्ने हो । ठुलो पार्टी हुनलाई प्रयासहरू गर्ने हो । यो संसारभर दलहरूमा चल्ने कुरा भयो । नेपालमा त अझ थप स्वार्थ प्रेरित पनि छ । चुनाव जित्नको लागि को–कोसँग गठबन्धन गर्ने भन्ने नेताहरूको इच्छाको कुरा हो । यो आम नागरिकको लागि खास राम्रो सन्देश होइन ।
किनभने दलको एउटा नीति, सिद्धान्त, विचारहरू हुन्छ र त्यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा चुनावी गठबन्धनभन्दा पनि चुनावमा आफ्नो हैसियतमा जानुपर्छ भन्ने हो । चुनाव नजिक आएपछि गठबन्धन गर्ने र चुनाव सकिएपछि फेरि झगडा गर्ने, जुन परिपाटी छ, त्यो हामीले विगतमा धेरै दलहरूको देखेका छौं । त्यो देशको लागि हितकर होइन ।
चुनाव हुन्छ नै भन्ने कुरामा तपाई विश्वस्त हुनुहुन्छ ?
फागुन २१ मा चुनाव गर्नुको विकल्प छैन । फागुन २१ मा चुनाव हुँदैन कि भन्ने जुन शंका गरिएको छ, त्यो शंकाको जवाफ सरकारले दिनुपर्छ । फागुन २१ मा चुनाव हुँदैन भन्ने राजनीतिक दल, शक्तिहरू या तत्वहरूलाई सरकारले जवाफ दिन नसकेको हो कि भन्ने मलाई लागेको छ ।
सरकारी तहबाट सुरक्षाको समस्या छैन्, चुनाव हुन्छ भनिएको छ । तपाई विश्वस्त हुनुहुन्छ ?
सुरक्षा भनेको एकदिन दुईदिन, एक महिनामा बनाउने चिज होइन । निर्वाचनको माहोल बन्दै जाँदाखेरि सुरक्षाको पनि माहोलहरू बन्दै जान्छ र त्यसमा सरकारले इन्टेलिजेन्सहरू पनि प्रयोग गर्नुपर्छ । सुरक्षा थ्रेट भएका ठाउँहरू छन् भने त्यसलाई अलिकति पहिचान गरेर कामहरू गर्नुपर्छ । यो एक–दुई हप्तामा बनाउने कुरा होइन, लामो समयदेखि बन्दै आएको एउटा सुरक्षा वातावरणमै निर्वाचन गर्ने हो ।
जेनजी आन्दोलनबाट देखिएको केही सुरक्षा चुनौतीहरू छ भने त्यो अहिले धेरै नै कम भयो जस्तो लाग्छ । सुरक्षा चुनौतीहरू निवारण भएको अवस्था छ । अब सरकारले अलिकति सुरक्षामा ध्यान दियो, इन्टेलिजेन्स अलिकति प्रयोग गर्यो भने निर्वाचनको लागि सुरक्षा थ्रेट देखिदैन् ।







डिसी नेपाल








Facebook Comment